कविता भोकले मर्दैन
न तीव्र गर्मीले मर्छ
न त तीव्र जाडोले मर्छ
तर शक्ति गुमायो भने
मर्छ कविता
धेरैजसो बास बस्न आउँथ्यो
एउटा सुन्दर कविता मेरो घरमा
उसको भाषामा
सेल्टर भन्थ्यो मेरो घरलाई
सपनाको गमलामय कुरा गर्थ्यो
बसन्तको हरियालीमय कुरा गर्थ्यो
क्रान्तिको मुस्कानमय कुरा गर्थ्यो
परिवर्तनको चमकदार कुरा गर्थ्यो
जति जति बोल्दै जान्थ्यो
उति उति सुगठित लाग्थ्यो उसको शरीर
अब उसलाई पर्दैन
कसैको घरमा बास बस्न
उसको भाषामा अब चाहिँदैन कुनै सेल्टर
अचेल
सत्तामा त होइन
सत्ताको नजिकै बस्छ कविता
अचेल
हिजोको आफ्नो शक्ति गुमाएर
हिजो जसरी बोल्थ्यो
त्यसरी बोल्न चाहँदैन कविता
अब उसलाई
परिवर्तन के हो?
त्यसरी बुझाउन सकिदैन
जसरी फुटेको ढोल बजाउन सकिँदैन
शक्ति गुमायो भने
मर्छ कविता।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।