इटहरी- हिउँदको चिसो बिहानी। खुल्ला आकाशमुनि। भुइमा लहरै बसेका विद्यार्थी। कक्षा १ देखि १० सम्मका विद्यार्थी। शिक्षक हुन् चन्द्र भण्डारी। झट्ट हेर्दा गुरुकुल शिक्षा आर्जन गर्ने ठाउँजस्तै देखिन्छ।
इटहरीको मूल बजारकै बीचमा। बीच बजार भएर बग्छ टेङ्ग्रा खोला। त्यही खोलाको किनारमा छ पिपलको बोट। त्यही बोटका फेद वरिपरि हरेक बिहानी एउटा विद्यालय खुल्छ। नाम हो, पिपलबोटे खुल्ला विद्यालय।
जाडोयामको बिहानीमा पनि स-साना विद्यार्थी पनि कुनै कष्ट मान्दैनन्, शिक्षक भण्डारीको सामीप्यता पाउन। विद्यार्थी भेला हुन थाले पिपलका फेदमा। पिपलबोटे खुल्ला विद्यालय लेखिएको स्वेटर लगाएका ४२ जना विद्यार्थी लामबद्ध भए। कुनै संस्थाले उपलब्ध गराएको स्पिकरमा नेपाली राष्ट्रिय गान बज्यो। एकैछिन सबै विद्यार्थी नतमस्तक भए। राष्ट्रभक्तिको गीत गुञ्जियो।
-000-
उमेरले ६० कटेका भण्डारीको दैनिकी नै बालबालिकाको सामिप्यताबाट नै सुरु हुन्छ। उनको यो दैनिकी केही दिन अघिदेखि मात्र सुरु भएको होइन। केही वर्षअघि देखि मात्र पनि सुरु भएको हैन। विगत २५ वर्षदेखि अर्थात् एकै प्रकृतिको यही दैनिकीसँग रमाइरहेका छन् भण्डारी।
यो समयका बीचमा सिंगै एउटा पुस्ता पार लगाइसकेका छन् उनले। बुबाआमा पुस्ता भइसकेको छ, उनले कखरा सिकाएको पहिलो ब्याच। त्यही पुस्ताका छोराछोरीलाई पनि पनि कखरा सिक्ने भइसके। तर शिक्षक भण्डारीको दैनिकी पुरानै छ।
समय फेरियो। समाज फेरियो। पूरै इटहरी फेरियो। देशै पनि फेरियो। राजनीतिक प्रणाली फेरिए। सूचना प्रविधिको फड्को कहाँ पुग्यो जाँच्ने फुर्सद छैन उनलाई। तर उनको काम पुरानै छ। साना उमेरका विद्यार्थीको वरीपरी बस्यो। क, ख, ग, घ.......। ए, बी, सी, डी.......। जोड, घटाउ, गुणन, भागा.....। यी र यस्तै कुरा दोहोर्याइरहेका छन्।
-000-
राष्ट्रिय गान बजिसकेपछि शिक्षक भण्डारी अघिल्लो दिनकै दैनिकी दोहोर्याउन थाले। सबैलाई 'होमवर्क' निकाल्न आग्रह गरे। होमवर्क मिलाएका विद्यार्थीलाई पढाइमा अझ उत्प्रेरणा जागोस् र होमवर्कमा कमजोरी भएका विद्यार्थीका लागि पनि पुरस्कार प्राप्त गर्ने चाहना बढोस् भनेर नै होला, होमवर्क मिलाएका विद्यार्थीलाई एकएक वटा चकलेट दिए। होमवर्क गरेर पनि नमिलाएका विद्यार्थीलाई सुझाव दिए। नगर्नेहरूले कारबाही स्वरुप भोलि थप होमवर्क गर्नुपर्ने भयो।
-000-
पिपलबोटे खुल्ला विद्यालयको ५० मिटरको दुरीमा पर्छ पुर्वपश्चिम राजमार्ग। गाडीको हर्नले बेलाबेला माहोल अशान्त बनाइदिन्छ। सडकपेटीमै पढाउनुपर्ने भएकोले ठुला गाडी आवतजावत गर्दा अप्ठ्यारो हुने गरेको भण्डारी सुनाउँछन्। इटहरीको ट्याङ्ग्रा खोला किनारमा पिपलको रुखमुनि विगत २५ वर्षदखिको अनवरत दैनीकी हो यो उनको।
दाह्रीजुँगा आधाआधी फुलिसकेका उनको साना बालबालिकासंग खेल्ने/बोल्न अभिलाषा भने अझै पाको भएको छैन। सबैसँग हाँसेर मात्र बोल्छन् उनी। कोही आए भने घरछिमेकमा पढ्न नपाएका बालबालिका भए पठाइदिन आग्रह गर्न छुटाउँदैनन्।
-000-
वर्षाका समयमा पानीझरी र हिउँदमा शीतलहरले समस्या निम्त्याउने गरेको उनी सुनाउँछन्। 'पहिला एउटा सानो छाप्रो थियो त्यो पनि नगरपालिकाले भत्काइ दियो,' शिक्षक भण्डारीले भने 'त्यही कुराले मन अमिलो बनाउँछ बेलाबेला।'
जनप्रतिनिधीहरु संग पनि आफूले बारम्बार भेट गरिसकेको तर सुनुवाइ नभएको उनले गुनासो गरे।
हिजो कुटीबाट सुरु भएको शिक्षा हाल आधुनिक विश्वविद्यालयमा रूपान्तरण भइसकेको छ। गाउँका विद्यार्थी सहरमा, सहरका विद्यार्थी महंगा बोर्डिङ्ग स्कुलमा छन्। प्रविधिले शैक्षिक क्षेत्रमा छलाङ मारिसकेको छ। तर पिपलबोट खुल्ला विद्यालय भने परम्परागत शिक्षामै केन्द्रित छ।
-000-
‘गरिबका छोराछोरी पैसा तिरेर ट्युसन/कोचिङ्ग पढ्न सक्दैनन्,’ उनी भन्छन्, ‘यो काम पनि कसैले गर्नै पर्थ्यो। त्यसैले मैले गरेको हुँ। कम्तीमा गरिब जनताका छोराछोरीले सित्तैमा पढ्न त पाए।’
‘गाउँका बालबालिकालाई सरकारले विभिन्न कोटा दिन्छ। सहरमा बस्ने सबैलाई सम्पन्न नै भनेर सरकारले एउटै आखाँले हेरिरहेको छ,’ उनी भन्छन्, ‘तर सहरमा भाडामा र खोला किनारमा बस्ने गरिब जनताका छोराछोरी गुणस्तरीय शिक्षाबाट बञ्चित भइरहेका छन्।’
साना बालबालिका धूलोमा खेलिरहेको देखेपछि उनलाई केही गर्नुपर्छ भन्ने लाग्यो। मनमनै असहज महसूस भयो। यसैले आफ्नो सहजता र आनन्दका लागि विद्यार्थी भेला पारेर पढाउन सुरु गरे। 'यो काम सुरु गरेको पनि २५ वर्ष बितेछ,' केही क्षण रोकिएर उनले भने।
-000-
पहिला जो आएपनि पढाइदिने गरेका उनले आजकल अभिभावक विना विद्यार्थी भर्ना लिँदैनन्। त्यसैले अहिले अभिभावक आफैं पढाइदिनु पर्यो भन्दै आउने गरेका छन्।
भण्डारी आफैंले औपचारिक रुपमा उच्च शिक्षा लिएका छैनन्। तर आफ्नो दक्षता र क्षमताले भ्याएसम्म निशुल्क पढाइरहेका छन् बालबालिकालाई। पैसा अभावले बीचमै पढाइ छाड्नुपर्ने बाध्यतामा परेका उनले अभावलाई राम्ररी नियालेका छन्।
आफ्नो 'हेडमास्टर' बन्ने सपना पूरा नभएपछि उनी सडकमै बालबालिका पढाउन थालेका हुन्। अहिले पिपलबोटे खुल्ला विद्यालयको फाउन्डरदेखि हेडमास्टरसम्म उनी आफैं हुन्।
गरिबका छोराछोरीलाई वास्ता नगरिए समाजमा नकारात्मक असर पर्ने उनको बुझाइ छ। ‘खाली समयमा नकारात्मक सोच्न सक्छन्। पछि त्यहिँ बाटो समाउँछन्। कम्तीमा मैले दिनको दुई घन्टा समय दिएँ भने त्यो समस्या टर्छ,’ उनी भन्छन्, 'मलाई नदेखी अन्धो हुनेसँगभन्दा देखेर अन्धो हुनेहरुले समाज बिगारेको जस्तो लाग्छ।'
-000-
उनले पढाएका धेरै विद्यार्थी अहिले अमेरिका, अष्ट्रेलियालगायतका विकसित देश पुगेका छन्। उनी पनि त्यसैमा दंग छन्।
कहिलेकाहीँ विभिन्न संघसंस्थाले गरेको सम्मानले उनलाई पुलकित बनाउँछ। विद्यार्थीका लागि पनि कापीकलम लिएर आउँछन् तिनै संस्था। जसले आफूमा थप ऊर्जा प्राप्त हुने उनको अनुभव छ।
'जीवन जसरी चलायो, त्यसरी नै चल्छ,' उनको अनुभव छ, 'जिवनको खास आकार छैन। जसरी खुसी र आनन्द प्राप्त हुन्छ, त्यहीँ गर्नुपर्छ। सो कामले समाजमा पनि योगदान पुग्यो भने त खुशी झन् थपिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।