नेपालगन्ज– २०७० चैत मा बाँकेको लक्ष्मणपुरमा भनेजति दाइजो नल्याएको भन्दै श्रीमान् र सासू मिलेर एक युवतीलाई जिउँदै जलाए। भाग्यबस उनी बाँच्न सफल भइन् । उक्त घटना सार्वजनिक भएपछि सञ्चार माध्यममा निकै चर्चा भयो । दोषीलाई कारबाही गर्नुपर्ने भन्दै चौतर्फी दबाब पर्यो । तर, जिउँदै जलाइएकी रिहानाले न्याय पाएकी छैनन् । रिहाना न्यायका लागि भौंतारिएको साढे ४ वर्ष बितिसक्यो।
जलाइएका कारण रिहाना राम्रोसँग हिँडडुल गर्न सक्दिनन् । उनलाई घरायसी काम तथा खेतीपाती गर्नसमेत निक्कै गाह्रो छ । एक धुर जग्गा पनि नभएका कारण वर्षभरि अर्काकोमा काम गरेर छाक टार्नुपर्ने अवस्थामा रहेका माइतीकोमा बस्दै आएकी छिन् उनी । माइतीको अवस्था नाजुक भए पनि अन्य विकल्प नभएपछि रिहाना माइतीकै शरणमा बस्न विवस छिन्।
रिहानाले आफूलाई जलाउने श्रीमान् र सासूलाई पक्राउ गरी कानुनी कारबाही गर्न निरन्तर माग गर्दै आएकी छिन् । तर, प्रहरी प्रशासनले उनको गुनासोमा खासै चासो दिन सकेको छैन । विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न सरकारी निकायमा पुगेर अभियुक्तहरुलाई पक्राउ गरी कारबाहीका लागि उनले अनुनयविनय गर्न भने छोडेकी छैनन्।
जिल्ला प्रहरी कार्यालय २५ पटकभन्दा बढी पुगिसकेकी उनलाई अहिले भने दोषी पक्राउ पर्लान् र कारबाही होला भन्ने विश्वास लाग्न छोडेको छ । बाँके प्रहरी कार्यालयमा भेटिएकी रिहानाले गुनासो गर्दै भनिन्, ‘अभियुक्तहरु पक्राउ परेका छैनन् । कहिले पक्राउ पर्ने हुन् भन्ने पनि कुनै यकिन छैन।’
रिहानालाई जिउँदै जलाउनेहरुलाई पक्राउ गर्न सुरुका दिनमा नेपाल प्रहरीलाई चर्कै दबाव परे पनि घटना पुरानो हुँदै गएपछि रिहाना घटना प्रकरणका अभियुक्तलाई पक्राउ गर्ने कार्य प्रहरीको सूचीमै पर्न छाडेको छ । रिहाना घटनाबारे चासो राख्ने र अभियुक्तहरु पक्राउ गर्नका लागि प्रहरीलाई ताकेता गर्नेहरु पनि घट्दै गएका छन्।
रिहानालाई प्रहरी कार्यालयसम्म पुग्न पनि गाह्रो छ । माइतीघरदेखि रिक्सा चल्ने बाटोसम्म आउनै उनलाई एक घन्टा हिँड्नुपर्छ । रिक्सा चल्ने बाटोदेखि प्रहरी कार्यालयसम्म पुग्न र फर्कन ४०–४० रुपैयाँ गरी ८० रुपैयाँ भाडा सकिन्छ । आफ्नो एक रुपैयाँ कमाइ नभएकी रिहानाका लागि त्यो रकम जुटाउन पनि हम्मेहम्मे पर्छ।
‘जनतेन पैसा जुटाएर प्रहरी कार्यालय पुग्यो, पीडा सुनिदिने र अभियुक्तलाई पक्राउ गर्न पहल गरिदिने प्रहरी अधिकृतलाई भेट्नै मुस्किल छ,’ रिहानाले भनिन्, ‘भेटिहाले पनि हामीले प्रयास गरिरहेका छौं भन्ने रेडिमेड जवाफमै चित्त बझाउनुपर्छ।’
गत साता बिहान १० बजे प्रहरी कार्यालय पुगेकी रिहानाले बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङलाई भेट्न ६ घन्टा कुर्नुपर्यो। उनले प्रहरी उपरीक्षक तामाङलाई आफ्नो व्यथा सुनाइन्।
हालसालै सरुवा भएर आएका नयाँ एसपी तामाङले पनि पहिलेका अन्य तीन एसपीले जस्तै रेडिमेड आश्वासन दिँदै भने, ‘हामीले प्रयास गरिरहेका छौं।’
किन दोषीलाई पक्राउ गर्न नसकिएको त भन्ने प्रश्नमा एसपी तामाङले भने, 'भारतीय प्रहरीसँग समन्वय गरेर फरार अभियुक्तलाई पक्राउ गर्ने कोसिस गरिरहेका छौं ।' तर, चार वर्ष कोसिस गर्दा पनि प्रहरी अभियुक्त सम्म पुग्न सकेको छैन।
रिहानालाई जिउँदै जलाउने उनका श्रीमान् र सासू सीमावर्ती भारतीय क्षेत्रमा बस्दै आएका छन् । रिहानाका अनुसार उनका श्रीमान्ले त अर्की बिहे गरेर उतै घरजम गरिसकेका छन् । उनीहरु बसेको स्थानबारे जानकारी दिँदा समेत प्रहरीले पक्राउ गर्न चासो नदिएको रिहानाले गुनासो गरिन्।
प्रहरी कार्यालय परिसरमै भेटिएकी रिहानले प्रश्न गरिन्, ‘मलाई जलाउनेहरु किन पक्राउ पर्दैनन् ? प्रहरीले किन उनीहरुलाई पक्राउ गर्दैन?’
के हो रिहाना घटना

२०७० चैत ३ गते बाँकेको लक्ष्मणपुरमा श्रीमान् र सासुले रिहानालाई जिउँदै जलाएका थिए।
सात महिनाकी गर्भवती रिहानाको आधा शरीर जले पनि घटनालाई लुकाउन खोज्दा उनको समयमै उपचार हुन सकेन। ५० दिनपछि उनलाई नेपालगन्जको भेरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारमा ढिलाइ भएका कारण उनको गर्भमा रहेको बच्चाको मृत्यु भए पनि उनी भने बाँचेकी थिइन् । भेरी अञ्चल अस्पतालमा २ हप्ता र काठमाडौंको वीर अस्पतालमा २ महिनाको उपचारपछि उनले नयाँ जीवन पाएकी थिइन्।
मागे जति दाइजो ल्याउन नसकेको भन्दै रिहानालाई बिहे गरेको एक वर्ष पुगेकै दिन श्रीमान् र सासुले जिउँदै आगो लगाएर हत्या गर्न खोजेका थिए।
रिहानालाई दाइजो बापत माइतीबाट भैंसी र मोटरसाइकल ल्याउन श्रीमान् र सासुले दबाब दिँदै आएका थिए । मागे अनुसारको दाइजो माइतीले दिन नसक्दा रिहानाले जिउँदै जल्नुपर्ने अवस्था आएको थियो।
माइती पक्षको उजुरीपछि बाँके प्रहरीले रिहानाका श्रीमान् फरिद विरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । तर, गर्भमा रहेको आफ्नै सन्तानको मृत्यु हुने गरी जघन्य अपराध गर्ने रिहानाका श्रीमान् र सासू फरार छन्।
रिहाना त एक प्रतिनिधि पात्र मात्रै हुन् । मधेसमा मागेजति दाइजो ल्याउन नसक्ने कैयौं महिला आफ्नै परिवारका सदस्यबाट शारीरिक र मानसिक यातनाको शिकार हुने गरेका छन्।
रिहानाले आफ्नो गुनासो यसरी पोखिन्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।