समाचारकक्षमा अकस्मात् छिर्यो शासक
र, भन्यो–
भोलिको अखबारका सबै पृष्ठमा मेरो तजबिज हुनेछ
मिडिया मालिकले मनमनै
क्यालकुलेटरमा बिजुली वेगले चलायो औंला
हावामा सुस्तरी हल्लिने धान खेतजसरी
उसको ओठमा चलमलायो मुनाफाको मुस्कान
मालिकको प्रफुल्ल मुद्रामुताबिक
सालको पहिलो झरीमा हर्षित मयुरझैं
नृत्यमग्न भयो सम्पादक
एउटा खेमाका पत्रकारहरू हात मोलेर बसिरहे
अर्काे खेमाका पत्रकारहरू
आफूले भोकभोकै दौडेर खोजेका समाचार
‘डम्प’ हुने देखेर दुःखी भए
भोलिपल्ट निक्लियो अखबार
जस-जसका छापिएका थिए
‘लार्जर द्यान लाइफ’ तस्बिरहरू
जो-जोमाथि लेखिएका थिए
‘इन-डेफ्थ’ स्टोरीहरू
तिनलाई जनताले जिन्दगीभर
भर्त्सना गर्दै आएका थिए
सोह्रै पृष्ठमा खन्याइएका थिए
सौष्ठवका सारा कला
तर,
अखबार फिका-फिका थियो
थियो टर्राे-टर्राे
हातमा भाला बोकेर
भाषाको जलपमा लुकेको थियो
असत्य
जसको घनघोर दाबी थियो–
‘म सत्य हुँ
म नै सत्य हुँ
म मात्रै सत्य हुँ’
अखबारमा शासक थियो
शासकको भव्य फोटो थियो
उसको चरितचर्चा थियो
उसको विचार थियो
उसकै योजना थियो
उसकै सपना थियो
समाचारकक्षमा अकस्मात् छिर्यो शासक
त्यसपछि अखबार
अखबार रहेन
बन्यो एउटा रेसमी रुमाल
कसैले अखबारले नाक पुछिरहेको दृश्य
बिघ्नै दुःखदायक थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।