...त्यतिबेला जन्मिएँ म।
जतिबेला मेरा बा/आमा आफ्नै आवाजदेखि डराउँथे।
वरिपरिका शून्यताहरू स्वयं आक्रान्त थिए।
पहाडहरू यस्ता देखिन्थे, जो निरन्तको भूकम्पले ढल्न तम्तयार छन्।
(थुप्रै कुराहरू मैले बुझ्ने भएपछि थाहा पाएँ।)
म जन्मिँदा मेरा बा जति खुसी थिए उति नै त्रसित पनि। म जन्मिँदा मेरो घरमा बाजा बज्नु पहिले डाँडामा बन्दुक पड्केको थियो।
म हुर्किँदै जाँदा देशमा द्वन्द चुलिँदै थियो। बोल्न पछ्याउँदै गरेको मेरो तोते बोलीको पहिलो शब्द 'बा, आमा , कम्रेड र जनयुद्द' थिए। त्यतिबेला बालसखासँग खेल्ने खेलको पहिलो रोजाइ चोर/पुलिस हुथ्यो।
देश पनि त यही खेलमा रुमल्लिरहेको थियो।
(थुप्रै कुराहरू मैले बुझ्ने भएपछि थाहा पाएँ।)
मेरा बा लुकाउन चाहन्थे मलाई, त्यो त्रासदीपूर्ण परिवेशबाट। लैजान चाहन्थे कतै टाढा, जहाँ युद्वको निसाना थिएन। तर, गरिबीले बाको चाहनामाथि धावा बोल्थ्यो।
अनि, विद्यालय!
जसका कुरा गर्दा अझै अतालिन्छ मन।
स्कुलका भित्ताहरू थिए, बमको कम्पनसँगै जिर्ण भएका। केही बचेका भित्तामा भने पोतिएको थियो कालो र रातो रङले– जनयुद्व जिन्दावाद…!
०००
नौ-दश वर्षको हुँदो हुँ!
गाउँमा एउटा हल्ला फैलियो।
त्यो हल्लासँगै पखालियो सीता दिदीको सिउँदो। फोरिए हातका चुरा, चुँडिए लाली चडेको उमेरका 'लाली' सपना, गाउँको तल्लो खोलामा चुँडिएको तुइनजस्तै।
दुई दिनपछि गाउँमा अर्को हल्ला फैलियो, 'काइँला भिनाजु क्रान्ति विरोधी थिए रे, त्यसैले उनलाई सजाय दिएको रे। हातमा हतकडी बाँधी कन्चटमा गोली हानी मारेछन्।'
त्यो घटनाले गाउँमा झन् त्रास थपिदियो। घाउका टाटा ठीक हुन नपाउँदै आर्मीका बुटका 'टक् टक् टक्' आवाजले गाउँको सपना बिथोलिदियो।
०००
समय बित्दै गयो।
म एघार वर्ष हुन नपाउँदै घाँस काट्न जङ्गल पसेकी नरे दाइ कि सानी बहिनी रुँदै रुँदै आई।
राक्षसका जस्ता हातले फक्रँदै गरेको कलिलो स्तन लुछ्यो। ऊ गाउँलेहरुको नजरमा कलङ्क ठहरिई।
बहिनीको अवस्था सहन नसकी नरे दाइ काँधमा बन्धुक बोकी क्रान्तिमा होमियो।
आफ्नो गरिबीसँग हार खाएर सुबोध दाइले बन्धुकको नाल समात्यो।
यी सबै अवस्थासँग जुधिरहेको थियो मेरो परिवार। मेरा आमा/बा दिनहुँ मन्दिर जान्थे, ता कि मलाई क्रान्तिले नचुँडोस् भनेर।
तर, उहाँहरूलाई थाहा थिएन कि मन्दिरका गाथ गाथमा समेत याम्बुस बिछ्याइका हुन्छन् भनेर। जुन समाजमा मान्छे बस्दैनन् त्यहाँ भगवान कसरी बसुन्।
बिस्तारै त्यो संक्रमण मेरो घरमा पनि पस्यो।
सुरुमा संक्रमण माओवादी भेषमा बास माग्न आयो। दिउँसो आर्मीको भेषमा ढाडमा बजारिन आयो।
(प्रत्येक साँझ क्रान्तिलाई सहयोग गर्न भनी क्रान्तिकारी बास माग्थे। र अर्को दिन मेरा बाका ढाडमा आर्मीका बुट बजारिन्थे।)
दरबारका भूत र तरबार बोक्ने नायक यी दुवै हाम्रा दुश्मन बनेका थिए।
०००
देशमा परिवर्तन त आयो। क्रान्तिको जित भयो। दरबारियाहरू परिवर्तन भए। द्वन्दमा होमिएका सब फर्कन लागे।
तर, सुबोध दाइ फर्केनन्।
न सास भेटियो न लास!
उनकी आमाको सपनाको त्यान्द्रो चुँडियो।
यता द्वन्दमा योग्य बनेका नरे दाइलाई सेनाले अयोग्य ठहर्यायो।
एक वर्षको अन्तरमा नै आर्मीका बुटका लातले थिचिएका मेरा बाका हड्डी दुख्न थाले। तर, मह्लम लगाउन न दरबारिया आए न त तरबारिया नै।
सीता दिदिको खल्लो जिन्दगीमा न कसैले रङ भर्न सक्यो। न नरे दाइ कि सानी बहिनीले न्याय पाई।
बरु बन्धुक र राइफलका नाल बद्लिए। सरकार बद्लिए तर आम जनताको घरबार बद्लिएन।
(थुप्रै कुराहरू मैले बुझ्ने भएपछि थाहा पाएँ।)
त्यसैले द्वन्द अझै बाँकी छ...!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।