कविता : बा! तपाईंलाई पशुपति कस्तो लाग्यो?

सुदर्शन अधिकारी | २०७५ माघ २६ शनिबार | Saturday, February 09, 2019 ०७:३०:०० मा प्रकाशित

मलाई
कहिल्यै केही नभन्ने बाले
एकदिन भन्नुभयो-
'बाबू ! मलाई पशुपति लग्दे न है
पशुपतिमा ढुङ्गाहरु भेटिन्छन्
ती ढुङ्गाहरु भगवान हुन्'

बालाई
ढुङ्गाहरुको सहरमा लैजान
पाँच हजार खोज्न नसकेको
पाँच दिनपछि
मैले
आफैंलाई बालुवाको देशमा लैजान
पाँच लाख खोजेँ

तपाईं ढुङ्गाको कुरा गर्ने मान्छे,
थाहा छ बा?
बालुवामा सुन भेटिन्छ

हरेक दिन
बालुवा चाल्छु र
त्यसबाट
स-साऽऽऽना ढुङ्गा छुट्याउँछु
लाग्छ
यी ढुङ्गाहरु पनि
पशुपतिका ढुङ्गाजस्तै भगवान हुन्

जब
खाना खाँदै गर्दा ढुङ्गो टोकिन्छ
लाग्छ
यो ढुङ्गो पनि
पशुपतिको ढुङ्गोजस्तै भगवान हो
जुन ढुङ्गाहरुमा
मलाई ठेस लाग्छ
जुन ढुङ्गाहरुमा
म हिँड्दा-हिँड्दै लरखराउँछु
लाग्छ
ती ढुङ्गाहरु पनि
पशुपतिका ढुङ्गाजस्तै भगवान हुन्

बा!
यो बालुवाको देशमा
ढुङ्गोभित्र भगवान खोज्दा-खोज्दा
म आफैं ढुङ्गो भइसकेँ
तपाईंलाई पशुपति लैजान
आफ्नै खेतमा बगाउन नसकेको पसिना
म बालुवाको देशका समुद्रहरुमा पखालिरहेछु
आज बल्ल थाहा हुँदैछ
समुद्रको पानी
किन
यति नुनिऽऽऽलो हुन्छ?

तर बा
आज तपाईंले
आकाशबाट
ढुङ्गै-ढुङ्गा बर्सिएर
शिरमा बजारिए जसरी
ढुङ्गैको हृदय बनाउँदा पनि
सहन नसक्ने खबर पाउनुहुनेछ
कि परदेशमा
ढुङ्गालाई
ढुङ्गाभन्दा बलियो
घनले हिर्काउँदा-हिर्काउँदा तपाईंको छोरो
ढुङ्गाजस्तै निष्प्राण भएको छ

तपाईंले
पशुपति लग्दे भनेको
पाँच वर्षपछि
पाँच लाखको
पाँचै लाख ब्याज थपिएको कागजसहित
ढुङ्गाको मुटु भएको साहु आउनेछ
र तपाईंलाई
तपाईंकै घरबाट
आँगनबाट ढुङ्गा फालेजसरी फालिदिनेछ

आज उप्रान्त
तपाईं भन्नुहुनेछ-
'ढुङ्गो भगवान होइन,
भगवान ढुङ्गो हो'


पशुपति आउँदै छु
तपाईंको पनि
पशुपति आउने पुरानो रहर
पुरा हुँदैछ
तर
अफसोच यही रहनेछ
म उठेर यत्ति पनि सोध्न सक्ने छैन
'बा! तपाईंलाई पशुपति कस्तो लाग्यो?'