विचार मरेको साँझ
मलाई रक्सी पिउन मन लाग्दैन
चुरोटको धुँवासँगै तान्न मन लाग्छ
सत्ताको काँचो रगत
सत्ताको ग्यामबुटको तलुवाले
च्यापेको म सुदूर कर्णाली
लेख्न सकेको छैन
महिलाको टाङ मुनिबाट
चुहिएको रगतको इतिहास
आज त्यही रगत चुहिएको
माटोको बीचबाट
उम्रिएको छ एक लम्बेतान विचार
जो सिंहदरबारको
पूर्वी गेटमा आगो चपाएर बसिरहेछ
‘तेन्जिङ शेर्पा’
जसले सगरमाथा चढेरै बनाए इतिहास
तर, अझै लेख्न सकेको छैन
हाम्रा दिदीबहिनीहरू
हरेक बिहान कान्जिरोवा चढेर
हरेक साँझ छाउगोठ फर्केको
इतिहास
यहाँ पानी नै नरहेको रानी तालको
इतिहास लेखिएको छ
तर, किन लेखिएन
हाम्रो आँसु बगेर बनेको रारा तालको
इतिहास?
थाहा छ?
कर्णालीमा केवल पानी बग्दैन
पसिनाको लामो जुलुस पनि बग्छ
कोदोको रोटी चोब्ने नुन खोज्न
भोट गएका मेरा बाजे
फर्किएको इतिहास छैन
हिउँ छ्ल्ने एक जोर टाला खोज्न
मधेस झरेका मेरा बा फर्किएका छैनन्
थाहा छैन
औलोले खायो कि सत्ताले?
सुन ओ! सत्ताका ठेकेदार हो
अझै पनि थिचिरह्यो भने
तिम्रा जुत्ताको तलुवाले
कलिला मुनाहरू
भाँचेर ती तानाशाही खुट्टा
म मेरै भूमिमा
एकपल्ट फेरि उभिने छु
र निस्फिक्री भन्ने छु
‘म खसिया हुँ र मेरो देश खसान हो’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।