पोहोर दसैंको बेला। डा भावना तामाङकी आमालाई भेट्न काठमाडौंको बौद्ध पुगेँ। कडा संघर्ष र साह्रै कठिन परिस्थितिका बाबजुद दन्त चिकित्सक बन्न सफल डा भावनाको कथा मिडियामा आइरहेकै थिए। मलाई उनकी आमा सीता तामाङको कथा सुन्न मन लागेको थियो। आफ्नो उद्देश्य मैले डा भावनालाई सुनाएँ। उनी तयार भइन्।
यसरी उनकी आमा सीता तामाङसँगको भेट जुर्यो।
OOO
‘शिक्षाले मानिसलाई दह्रोसँग आफ्नो खुट्टामा उभिन सक्ने बनाउँछ।’
झट्ट सुन्दा उक्तिजस्तो लाग्ने यो भनाइ पढाइलेखाइको नाममा नेपाली अक्षर अलिअलि चिन्न सक्ने ५६ वर्षीया सीता तामाङको हो। कोही शिक्षक वा अरु कसैबाट सुनेर होइन, आफ्नो जीवनमा भोगेको अपार दु:खकष्टबाट उनलाई यस्तो बोध भएको हो।
६ वर्ष हुँदा आमाको निधन भएपछि सीतालाई उनकी फुपूले सिन्धुपाल्चोकबाट काठमाडौं ल्याइन्। त्यति सानै उमेरमा उनी अरुको घरमा काम गर्न थालिन्। १९/२० वर्षको उमेरमा बिहे भयो। श्रीमान् ज्याला मजदुरी गर्थे। तीनटी छोरी जन्मिए।
ʻधेरै पिउने, छोरो नजन्माएका कारण गाली कुटपिट गर्ने अनि छोरीहरुको पढाइप्रति वास्ता नगरेपछि लोग्नेसँग मन मर्न थाल्यो,ʼ उनले सुनाइन्। श्रीमान्को साथ सहयोग नपाउँदा छोरीहरुको लालनपालन गर्ने सबै जिम्मेवारी उनीमाथि आयो।
बौद्ध जोरपाटी क्षेत्रमा अरुका घरमा भाँडा माझ्न ,लुगा धुन उनी बिहान ८/९ बजे निस्कन्थिन्। घर फर्कंदा साँजको ६ बज्थ्यो। चकचके उमेरका साना छोरीहरुलाई समातेर कोठामै बस्नु कि, काममा जानु। खान दिनु कि, लाउन दिनु। पैसा तिरेन भने घरबेटीले घरबाट निकालिहाल्ने। कम्ता चिन्ता थिएन उनलाई।
काम गर्ने ठाउँमा कसैले चियाखाजा खान दिए त्यसैबाट उनको भोक टर्थ्यो। नभए भोकै। आफूले भोक खप्न सके पनि साना केटाकेटीले खप्न सक्दैनन् भन्ने उनलाई थाहा थियो।
ʻएक किलो चामलले झन्डै एक हप्तासम्म खोले बनाएर छोरीहरुलाई खुवाउँथे। म त छिप्पिएको मान्छे, भोक खप्न सक्थेँ नि,ʼ यसो भनिरहँदा उनका आँखा रसाएका थिए। उनी आफू कैयौंपटक भोकै बसिन् तर छोरीहरुलाई खाली पेट राखिनन्। कहिले पसलबाट उधारो ल्याउँथिन्। ʻकाम गरेको ठाउँबाट पैसा आएपछि तिर्थें। बेइमानी गर्दिनथेँ। त्यही भएर त उधारो पत्याउँथे,ʼ उनले सुनाइन्। कहिले भने डेरामा सँगै बस्ने साथीहरुसँग मागेर खुवाउँथिन्।
घर-माइती कतैतिरबाट पनि उनले सहयोग पाइनन्। घर चलाउन गाह्रो हुन थाल्यो। दु:ख गरेअनुसार कमाइ भएन भन्ने उनलाई महसुस हुन थाल्यो।
जेठी छोरी भावनालाई सकी नसकी मध्यम स्तरको एक बोर्डिङ स्कुल पढाउँदै गरेकोमा कक्षा ३ बाटै निकाल्नुपर्ने अवस्था आयो।
१६/१७ वर्षअघिको कुरा। सामुदायिक विद्यालयमा कम पैसा वा नि:शुल्क पढ्न पाइन्छ भन्ने पनि उनलाई थाहा रहेनछ। छोरीहरुले पढ्न पाऊन् भनी उनी भगवान्लाई पुकार्थिन्।
उनले काम गर्ने एक घरधनी निकै सम्पन्न थिए। गरिबका छोराछोरीलाई बिनापैसा पढाइदिने ठाउँ कतै छ कि भनेर एकदिन सीताले उनीसँग सोधिन्। मनमा कताकता केही सहयोग होला कि भन्ने आस थियो उनलाई। यस्ता पढाउन नसक्ने कंगालले किन सन्तान जन्माएको त भन्ने जवाफ पो पाइन्।
गरिब भएपछि मान्छेले साह्रै हेप्दा रहेछन् भन्ने उनलाई लाग्यो। ʻमन दुख्नेगरी त्यस्तो जवाफ दिनुपर्थ्यो र। मन सफा भए, गरिबको दु:ख बुझे पो धनी त। जति धनी भए पनि सबैलाई दाउराले नै पोल्ने हो।ʼ ती धनी घरबेटीको दरिद्र व्यवहारले साँच्चै नै उनलाई साह्रै बिझाएको रहेछ।
उनले त्यस्ता व्यक्तिहरु पनि भेटिन्, जसले उनलाई सहयोग गर्न सक्ने संस्थाहरुको बारेमा जानकारी दिए। तर त्यहाँ कसरी जाने, कसलाई भेट्ने ,कसरी कुरा गर्ने, उनले केही मेसो पाइनन्। आफू बस्ने क्षेत्रबाहेक अरु ठाउँ जाने बाटोसमेत उनलाई थाहा थिएन। आफूले नपढेको कारण यस्तो भएको हो भन्ने उनलाई लाग्थ्यो।
यस्तैयस्तै भोगाइले उनलाई शिक्षाको महत्व बुझायो। र, उनले आफ्ना तीन छोरीलाई जसरी भए पनि पढाएर गरी खान सक्ने बनाउने अठोट गरिन्।
जतिसुकै दु:खकष्ट भए पनि हिम्मत हार्न हुँदैन, बढी मेहनत गर्नुपर्छ, भगवान्ले साथ दिन्छन् भन्ने विश्वास जाग्न थाल्यो उनमा। यस्तैमा एक दिन उनको भेट समता स्कुलका संस्थापकसँग भयो। भावना त्यहीँ नि:शुल्क पढ्न थालिन्। उनकी दुई बहिनी पनि त्यहीँ पढ्न थाले।
भावना १२/१३ वर्षको भएपछि शनिबारका दिन आफ्नी आमालाई सघाउन आमासँगै अरुको घर काम गर्न जान्थिन्। उनले आमाको दु:ख अझ नजिकबाट महसुस गर्न थालिन्। घरमा अभाव त छँदैथियो। त्यसैमाथि जहिल्यै कलह हुन्थ्यो। शान्त वातावरण कहिल्यै भएन। उनका आमाबुबा अलग भए। जति नै गाह्रो भए पनि आफूलाई सघाउन हिँड् भनेर सीताले भावनाको पढाइ छुटाइनन्। बिदा र बिरामी हुँदाबाहेक सधैं विद्यालय पठाइन्। ʻश्रीमान्सँग छुट्टिएर छोरीहरुलाई बिगारी भन्न कसैले नपाओस् भन्ने मेरो मनमा थियो,ʼ सीता सुनाउँछिन्।
कति केटाकेटीले फोहरमा फालेको खानेकुरा र अरुसँग मागेर खाएको देख्दा आमाबाबुले छोराछोरीलाई खुट्टामा उभिन सक्ने गरी राम्रो बाटो देखाउनुपर्छ जस्तो लाग्दो रहेछ उनलाई। उनी भन्छिन्, ʻयति सोचेन भने त बिग्रिहाल्छन् नि। पढायो भने गरी खान सक्छन्। संसार देख्छन्। जन्माइसकेपछि भाँडा माझेर भए पनि पढाउनुपर्छ।ʼ
आफ्ना छोरीहरुले कसैलाई ठगेर खान नपरोस् भन्नेमा उनी साह्रै सचेत र गम्भीर थिइन्। चरम गरिबी झेले पनि छोरीहरुमाथि निराशाको विष पोखिनन्। काम गर्न जाने ठाउँहरुमा लुगा मागेर उनीहरुलाई लगाइदिन्थिन्।
ʻमसँग पैसा हुँदैन भनेर सम्झाउँथे। बुझाउँथे। यो चाहियो त्यो चाहियो भनेनन्। किन जन्माएको त भनेर कहिल्यै झगडा गरेनन्,ʼ यसो भनिरहँदा उनको अनुहारमा सन्तोष झल्कन्थ्यो।
जेठी छोरी भावनाले २०६६ सालको एसएलसी परीक्षामा ८९ प्रतिशत प्राप्तांकसहित विशिष्ट श्रेणी ल्याइन्। १२ कक्षासम्म पढ्न काठमाडौंको एक कलेजमा छात्रवृत्ति पाइन्।
त्यसपछि चिकित्साशास्त्र (बिडिएस) अध्ययन गर्न नाम निकालिन्। एक मनकारी विदेशीको सहयोगमा उनले पढाइ सकिन् र दन्त चिकित्सक बनिन्।
उनकी माइली बहिनी स्नातक र कान्छी बहिनी माध्यमिक तहमा पढ्दैछन्। आफ्नो बाल्यकाल साह्रै अभाव र पीडामा बिते पनि आफ्नी आमाले शिक्षा ठूलो कुरो हो भन्ने बुझाएको उनी बताउँछिन्। ʻधेरै दु:ख गरेर, आधा पेट भए पनि खुवाउनुभयो। मिठो नमिठो जे जस्तो भए पनि भोकै राख्नुभएन।ʼ
जीन्दगीसँग हार नमानेकी आफ्नी आमाको हिम्मतप्रति गर्व गर्दै भावना भन्छिन्, ʻनयाँ लुगा किनेर दिन नसकेर के भयो त, पुरानै भए पनि उहाँकै कारण लाउन पाइयो।ʼ
आमाको साहस देखेर मेहनत गरे सुखका दिन आउँछन् भन्ने सकारात्मक सोच आउँथ्यो उनको मनमा। यसैले पढाइप्रति रुचि जागेको हुन सक्ने उनको बुझाइ छ। कमजोर वर्गका लागि केही गर्न पाए हुन्थ्यो भन्ने चाहना छ। आफ्नो बुबासँग उनलाई गुनासो छैन। ʻबुबा जहाँ रहे पनि उहाँको राम्रो होस्,ʼ उनको कामना यत्ति हो।
डाक्टर भइसकेपछि आज पनि विभिन्न सार्वजनिक कार्यक्रममा उनी आफ्नो संघर्षपूर्ण अतीत सुनाउन धक मान्दिनन् उनी। उनमा हीनताबोध होइन, आत्मविश्वास छ। अरुलाई पनि प्रेरित गर्न सकिन्छ कि भन्ने विश्वास छ।
ʻमेरी आमाले जिन्दगीदेखि निराश भएर हरेश खाएको भए यतिखेर मेरो बिहे भएर २/३ जना छोराछोरी भइसकेका हुन्थे होला। आफ्नो जिन्दगी जसरी चल्यो, सन्तानको पनि त्यसरी नै चलिहाल्छ नि भनेर सोच्थेँ होला,ʼ डा भावना भन्छिन्, ʻतर उहाँले हार मान्नुभएन र म यहाँम्म आइपुगेँ। मसँग अहिले जस्तोसुकै चुनौती आए पनि सामना गर्न सक्ने आँट छ। उहाँले पढ्नुभएको छैन तर उहाँ मलाई जिन्दगीको अर्थ सिकाउने रोल मोडल हो। मोटिभेटर हो।ʼ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।