चाउचाउ खुब मन पर्थ्याे। उमेरले बच्चै थिएँ। तर, थाहा थिएन, जिब्रोले भने वर्गीय स्वाद खुट्याउन सक्ने भइसकेकाे रहेछ। र त दाल-भातभन्दा चाउचाउकाे स्वाद जिब्राेमा गढेकाे थियाे। चाउचाउमा यतिसम्म लिप्त भएकाे थिएँ कि प्रत्येककाे दाम याद थियाे।
टू पिएम चाउचाउ– १० रुपैयाँ
मामा चाउचाउ– १ रुपैयाँ
खुशी चाउचाउ– ५ रुपैयाँ
रुची चाउचाउ– तीन वटाकाे २१ रुपैयाँ
बिग मिमी चाउचाउ– ९ रुपैयाँ
वाइवाई चाउचाउ– १० रुपैयाँ
त्यतिबेला बजारमा चलेका सम्भवत: सबै चाउचाउ खुब मन पर्थ्याे। प्याकेटमा नाम फरक भएपनि भित्रकाे चाउचाउ भने सबै एकै स्वादकाे लाग्थ्याे। चाउचाउमा हुने मसाला यति प्रिय थियाे कि अर्काे दिन खाउँला भन्दै धेरै दिनसम्म लुकाएर राख्थेँ। तर, जिब्राेकाे माग र चाउचाउकाे मूल्यमा असामान्य अन्तर थियाे। लाग्थ्याे आफ्नाे हालतलाई खल्तीले गिज्याइरहेकाे छ।
'आकासको फल आँखा तरी मर'- त्यतिबेला मेराे लागि चाउचाउ जे थियाे, धेरैपछि मात्र थाहा पाएकाे यही उखानले पुष्टि गर्थ्याे भन्ने लाग्छ।
०००
म लाल्टिनको मधुरो उज्यालोमा किताब पढ्दै थिएँ। हिउँदको एक साँझ भुना उदास मुहार लिएर मेरो कोठामा आइपुग्यो।
'के भयो भुना?' - मैले सोधेँ।
'केइ नाइ' भन्दै उ चुप लाग्यो।
तर, बिरामले थलिएकाे मान्छेझैं उसकाे हालत थियो। घरी भित्तामा अडेस लाग्थो, घरी मेरै आडमा आएर सिधा उभिन्थ्याे, घरी जुरुक्क उठ्थ्याे त घरी थचक्क बस्थ्याे।
उसमा देखिएकाे वेचैनीले मलाई पनि शान्त बस्न दिएन। सोधेँ - भन् न के भो?
उसले मुख खोल्यो - टू पिएम चाउचाउमा एक लाख पर्छ रे, अनि एक लाख दिन राज समाल आउँछ रे।
(त्यो बेला राजेश हमाल हाम्रातिर राज समाल थिए।)
उसले बहुत ठूलो कुरा सुनायो। मैले पत्ताउनै सकिन।
'हैन होला यार, मा'कसम भन्त' - विश्वस्त हुन सायद त्याे बेला मसँग याे प्रश्नभन्दा अर्काे कुनै विकल्प थिएन।
'मा'कसम टिभी भनेको, बस्नेतीका टिभीले भनेको हो' - उसले फेरि पिरो मुख लगायो।
एकाएक मलाई भने भुनादेखि रिस उठ्न थाल्याे। कारण-उ एक्लै टिभी हेर्न गएछ। मैले एक लाख बिर्सिएँ, राज समाल बिर्सिएँ। मात्र बस्नेतीको टिभी सम्झिएँ। कस्तो खराब साथी रहेछ, टिभी एक्लै हेरो।
मथिंगल तीव्र गतिमा नाच्न थाल्याे। मैले भुनाको लागि के पो गरेको थिइन र? हरेक राति गणित सिकाइदिन्थेँ, मिलाएर उसका प्रेम-पत्र लेखी दिन्थेँ। आफैंसँग सुताउँथेँ। तर, ठिक त्यतिबेला खुब चित्त दुख्यो। मानौँ उ एक्लै स्वर्ग गयो।
एक्कासी आवाज फुट्याे - एक्लै टिभी हेर्न गइस् है?
'धेरै हेर्नै पाएन नि, भर्खर हेर्न गएको थिएँ, त्यो प्रचार आयो, अनि त्याे प्रचार हेरेर आइहालेँ। त सँग १० रुपैयाँ छ भने ल्यान चाउचाउ किनुँ। यदि एक लाख पर्यो भने पचास/पचास हजार बाँडौला क्या।'
भुनाकाे एक लाखले मलाई त्यतिबेला कुनै प्रभाव छाेडेन, बरु उसले थोरै टिभी हेरेकोमा म खुशी भएँ। उसले फेरि भन्यो - तँ सँग १० रुपैयाँ छ?
-छैन यार
(प्रिय पाठक, यहाँ तपाईंले भुनालाइ चिन्न जरुरी छ। भुना मेरो बच्चैदेखिको साथी हो। उसले र मैले सँगै आची गरेका छौँ। सँगै भकुण्डो खेलेका छौँ, सँगै चिसापानी गएका छौँ, लम्की गएका छौ। उसकाे र मेरो घरको दूरी सिँहदरबार र भद्रकाली मन्दिर जत्तिकै थियाे। तर, हामीबीचकाे पढाइको दूरी काठमाडौं र धनगढी जत्तिकै थियो। म कक्षामा प्रथम हुन्थे भने उ विषय लागेर पास हुन्थ्यो। उसकाे र मेरो पढाइको दूरी घटाउनकै लागि उसका बुवा-आमाले मसँग पढ्न पठाउनु हुन्थ्यो। पछि उ बुझकी भयो र आफैं मसँग संगत बढाउन थाल्यो। प्रिय पाठक यो उसकाे र मेरो संगतका सुरुका दिनको किस्सा हो)
पैसा हुनु पनि कहाँबाट। बिहान घरमा भात पाक्छ, खाएर स्कुल जाउ, दिउँसो हाफ छुट्टीमा घर आएर फेरि भात खाउ, अन्तत: बेलुका पनि घरमा भात नै त पाकिहाल्थ्याे। तराईमा घर, दिनमा तिन पटक भात, अनि पैसा केका लागि चाहियो? किताबकापीकाे जिम्मा पनि बुवालाई थियाे। श्राद्धको सिजन पनि छैन, बाहुनको छोराले दक्षिणा पाउनलाई? (डियर भुना, यदि त्यो दिन म सँग दश रुपैयाँ हुन्थ्याे भने कस्सम दिन्थेँ)
उस्ले भन्यो - यार एक लाख भए त म पढ्ने पनि थिएन, बेक्कारको दु:ख। बिहा गर्थें, आनन्दले बस्थें।
उसका यी ताैलविहीन (हल्का नै त थिए जाे पुरा हुने सम्भावना अवचेतनमा पनि सायदै विश्वास थियाे) कुराले मलाई पनि रहर जगायाे, लोभ लाग्याे, मेरो मन पनि पापी बन्याे। उसका कुरा सुनेपछि मलाई पनि पढ्न मन लागेन। किताब हेर्दा राज समाल र दिमागमा एक लाख घुमिरह्याे।
लाल्टिन बन्द गरेर, सुस्केरा हाल्दै दुबैजना बेडमा पल्टियौं।
०००
भुनाले असल समाचार ल्याएको थियो। अब योजना बनाउने जिम्मा मेरो पनि थियो।
गाउँमा कार्की बाजेको पसल थियो, बाराले पुसाइँको पसल थियो, अनि घैलान बड्काको पनि पसल थियो। तर, कार्की बाजे र बाराले पुसाइँको पसलबाट बिना पैसा केही मिल्नेवाला चाहिं थिएन।
- भुना घैलानकोमा टू पिएम चाउचाउ पाइन्छ कि नाइ?
- पाइन्छ होला नि यार, त सँग पैसा छ र?
- छैन
- अनि किन सोध्या त?
- उसाेभए त्योसँग उधारो मागौ न त। यदि एक लाख परे त्यसलाई बरु सय रुपैयाँ दिउँला?
- खुब दिन्छ त्यो थारुले उधारो, दिनेभए भए त म दुई सय नै दिइदिन्थे नि। एक सय तेरोबाट एक सय मेरोबाट।
- गएर उधारो मागौं, दिएन भने चौरौँला, चोरेको थाहा पायो भने पनि दुई सय दिइदिउँला। एक सय तेरोबाट एक सय मेरोबाट।
- ल भोलि जाउँला है त?
- हुन्छ
पहिलाे दिनकाे प्रयास हाम्राे सफल भएन। भाेलिपल्ट पनि प्रयास खेर गयाे। शनिबारको दिन बिहानदेखि हामी घैलानको दोकान वरिपरि घुमिरह्याैं। उपयुक्त समय पर्खिरह्याैं। अँह परिस्थितिले भने सजिलो हुने कुनै छाँटकाँट देखाएन। अब समयलाई सजिलो आफैंले बनाउनु पर्ने भयाे।
हामी दुबै उसकाे खोकामा गयौ।
'घैलान, खाना खाइलो?', भुनाले सोध्यो।
- हा, खाई सेक्लु।
- व्यापार कैसन बा?
- कैसन बा, कैसन बा
..........................
भुनाले घैलानलाई यस्तै-यस्तै कुरामा लठ्यायो। मैले पसलकाे मधुस निजिकै रहेकाे चाबीकाे छल्लाबाट एउटा चाबी निकालेर अन्डर वयरको गोजीमा राखें। (प्रिय पाठक, त्यतिबेला हामीले लगाउने अन्डर वेयरमा सानाे गाेजी हुन्थ्याे।)
चाबी निकाली सकेपछि मैले भुनालाइ भने - भुना घर जाउँ
'नाइ आज त काम गरेरै घर जाने हो', भुनाले भन्यो।
'काम भइसक्यो', मैले भने।
भुनाको अनुहारमा बिजुलीकाे जस्ताे चमक दौडियो। तृप्त देखियो। तर, हाम्रो कुरा पसले साहु घैलानले बुझेन।
भुना जुरुक्क उठेर अघि-अघि लाग्यो। म चाबी नखसोस् भनेर बिस्तारै उसकाे पछि-पछि लागें। उ जङ्गल तिर लाग्यो। म पनि जङ्गलतर्फै माेडिएँ।
जङ्गलको केहीभित्र पुगेपछि उ रोकियो। उसकाे छेउमा गएर म उभिए।
- खाेइ ल्या'त चाउचाउ?
- चाउचाउ त ल्याएन मैले
- अनि काम भइसक्यो भनेर किन भन्या त?
- मैले भित्री कट्टुभित्र हात छिराएर चाबी निकालें।
उस्ले झर्किदै भन्यो - यो चाबीले के गर्नु त?
- त्यसकाे दोकानको चाबी हो?
- खुलै त छ दोकान, चाबी किन चाहियो?
- राति चोरौला नि?
उसकाे अनुहारमा आशाका रेखा दौडिए। भन्यो - तँ त्यसै फस्ट आउन्नस् यार, बुद्धि छ तसँग।
'ला चाबी', उ भएतिर हात बढाउँदै भनें।
- छि कँहा राख्या थिइस्, म समात्दैन तैँ राख्।
- मेरो अन्डर वयरमा चोर गोजी छ, त्यहीं राख्या थें।
उसले पत्ताएन र भन्यो, 'खै देखा त।'
मैले बाहिर लगाएको ठूलो कट्टु अलिकति तल सारेर उसलाई चोर गोजी देखाइदिएँ। उ दङ्ग पर्याे। मानौं कि उसले एक लाख हात पार्यो। उसले आफ्नो अन्डर वयरमा पनि हेर्याे। उसकाे हनुमान अन्डर वयर रहेछ। तर, त्यसमा गोजी रहेनछ। मनलाई शान्तवना दिने काेशिष गरेजस्ताे लाग्याे।
- अब म पनि तेरो जस्तै चोर गोजी भएको अन्डर वयर किन्छु।
केहिबेर मुस्कुरायाे अनि भन्याे - अब परीक्षामा चिट त्यहीं लुकाउँछु।
(डियर भुना अहिले पनि के चिट त्यहीं लुकाउँछस्?)
०००
त्यो दिनको आयु अप्ठेराे ठाउँमा आएकाे पिलाेकाे आयु जत्तिकै लामाे थियो। बस्दा, उठ्दा हामीले बारम्बार आकासतिर मात्र हेरिरह्यौं, कहाँ पुग्यो घाम भनेर।
मैले चाबी ऐजन-ऐजन ठाउँमा राखेको हुनाले मेरो र सूर्यको गति उस्तै-उस्तै थियो- धिमा-धिमा।
त्यो दिन पनि रात आयो, तर जुन ल्याएर। खाली आकासमुनिका मान्छेको अनुहार त चिनिन्थेन, तर आकार चिनिथ्यो। मैले हिम्मत हारें, मलाई समाजको डर लाग्यो। इज्जतको अगाडि एक लाख केही पनि रै'नछ मेरो लागि। ठिक विपरीत भुनाले भने पाइला उचाल्यो।
(डियर भुना, चन्द्रमादेखि डराउने म कति कायर है?)
भुना हातमा चाबी समाएर निस्कियो छापामार शैलिमा। म उसकाे बाटो हेरेर पर्खिरहें, प्रेमीको पारामा।
भुना गएपछि मनमा अर्को लोभले चिमाेट्याे। यदि भुनाले ल्याएकोमा एक लाख पर्याे भने मलाई ५० हजार देला कि नदेला?
भुना फर्केर यहीं आउला कि नआउला?
चाबी मैले ल्याएको हुँ, यदि एक लाख परिगए पनि २५ हजार त देला नि। कस्सम यही सोचेर पर्खिरहें भुना आउने बाटो।
(डियर भुना, अचेल पनि तेरो बाटो पर्खिरहेको हुन्छु)
भुना आयो। तर, खाली हात आयो।
उ मेरो अघि खाली हात नै उभिएको थियो। तर, आखा खुशीले भरिएका थिए। अनुहार मन्द मुस्कानले भरिएको थियो।
सोधें - ल्याइस् त चाउचाउ?
उसले केही बोलेन। कट्टुले च्यापेको भेस्ट माथि सार्याे। लगत्तै ४ वटा चाउचाउ भूइँमा खसे।
मेरा आँखा भूइँतिर माेडिए। केहीबेर माैनता साँधेकाे उसले लाामाे श्वास फेर्दै भन्याे - अब दु:खका दिन गए।
(डियर भुना दु:खका दिन जाँदा रैछन् त?)
हामिले पहिलो चाउचाउको प्याकेट फुकाल्यौं र कुपन मात्र निकाल्यौं।
नङले कुपन माथिको लेपन बिस्तारै कोट्यायाैं, मानौकी हामी पाकेको आन्नो फुटाउन गइरहेका छौं।
पहिलो चाउचाउको कुपनमा पहिलो अक्षर एक देखियो।
आधाजति स्क्रयाच गरिसक्दा रु.१ देखियो। एक देख्ने बित्तिकै भुनाले कुपन कोट्टाउन छोडेर भन्यो - भन्या थिएकी नाइँ मैले, दु:खका दिन गए भनेर।
कुपनमा एक लाख नै छ मलाई पनि लाग्यो। अनि मैले भने - मलाई कति दिन्छस् नि?
उसले कुनैबेर नलगाई भन्यो - पचास/पचास हजार बाडौँला।
लाग्याे उसले पर्खाइकाे मूल्य बुझेको रै'छ।
अनि बिस्तारै कोट्याउँदै जाँदा थोप्लाे देखियाे। अनि शून्य, शून्य, शून्य आयाे र छ्ड्के धर्को नजरमा पर्याे।
अन्ततः निश्चित भयाे कि कुपनमा मात्र एक रुपैयाँ परेकाे थियाे।
भुनाको अनुहारमा कालो बादल मडारियो। एकाएक उसले केही नबोली दोस्रो चाउचाउ फुटाल्यो र कुपन निकाल्याे।
दोस्रो चाउचाउको कुपन भने उसले पछाडिबाट कोट्यायाे। त्यसमा पनि एक र शून्य नै देखियाे तर त्यसकाे 'भ्यालू' फरक थियाे।
'ओए हेर् त १० रुपैयाँ पर्याे', भुनाले आफ्नाे माैनता भंग गर्याे।
तर, उसकाे अनुहार त्यतिबेला भने निभ्याे, जतिबेला बाँकी दुबै कुपनमा लेखिएकाे थियाे - ट्राई अगेन।
११ रुपैयाँले भुनाको बिहे सम्भब थिएन। उ हार्ने मान्छे होइन। उसले कुपनले भने अनुसार नै 'ट्राई अगेन' (पुन: प्रयास) गर्नु नै थियो।
निराशाले भरिएकाे त्याे रात घर पुग्याैं र बेडमा पल्टियौं। सुत्नुअघि उ अन्तिम पटक संवादमा जाेडियाे - भोलि दिउँसो यहि दश रुपैयाँले एक प्याकेट चाउचाउ किन्छु, त्यसमा त पर्छ-पर्छ। आज त चोरेको पाप लाग्यो कि क्या हो।'
साँच्चै त्यो रात हामी दुबैले अलिकति पनि चाउचाउ खाएनौ। प्याकेट फुटालेका दुई-दुई पोका चाउचाउ उसकाे र मेराे झोलामा राख्यौ।
अर्को दिन उसले चाउचाउ किन्यो। फेरि 'ट्राई अगेन' गर्ने अनुरोध नै पायो।
अब हामीलाई अर्काे रात कुरेर बस्नुकाे विकल्प थिएन। मान्छे जति टुक्रिन्छ, उतिउति जिद्दी र कठोर बन्दै जान्छ। उ अघिल्लो रातझैं त्यो रात पनि मभन्दा अघि नै निस्कियो। त्यो रात उसले ५ वटा चाउचाउ ल्याएछ। तर, नतिजा अघिल्लो रात जस्तै आयो - थाेरै पैसा पर्यो तर एक लाख परेन।
हामी घैलानको बाट चोरेका चाउचाउमा परेका पैसा अरु दोकानमा गएर माग्थाैं। चोरेको शंका नहोस् भन्नेमा हामी सचेत थियौं।
केही रातसम्म पनि त्यही सिलसिला देहाेरियाे। एक दिन भुना 'सिता हरण भैसकेपछिको रामको जस्तै अनुहार' लिएर आयो- उदास, रिसाहा।
- के भयो फेरि
- यार आज दुईटा ताला लगाको रै'छ थारुले।
(डियर भुना, तँ अमेरिका हिँडेको छस्। तैँले अब आश गरेको ठाउँमा दुईटा ताला लागेको नभेटियोस्। शुभयात्रा भुना।)
यस कथाको भुनालाई दलालले अमेरिका पुर्याइदिन्छु भनी दुई महिनाअघि त्यसतर्फ पठाएको थियाे। भुना अझै अमेरिका पुगेको छैन वा भनौं अमेरिकामा दुईटा ताला लागेका छन्। उसकाे कुनै खबर आइपुगेको छैन हामीमाझ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।