नेपालगञ्ज– बाढीबाट सिक्टाको नहर भत्किएपछि बाँकेका पश्चिम क्षेत्रका किसानको खेतबारीसम्म सिँचाइ सुविधा पुर्याउने योजना फेरि लम्बिएको छ।
आयोजना सुरु भएको एक दशकपछि नहरको पानीबाट खेती गर्ने आशा राखेका किसानहरु बाढीले नहरका विभिन्न ८ स्थानमा क्षति पुर्याएपछि निराश भएका छन्।
आयोजनाले यो वर्ष भदौको पहिलो साता करिब ६ सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याएको थियो। बाढीले संरचनाहरु भत्काएपछि सिँचाइ सुविधा पुर्याउने योजना कम्तिमा ६ महिनासम्म लम्बिने देखिएको छ।
अविरल वर्षापछि आएको बाढीको पानी जंगल हुँदै मूल नहरमा पसेर आयोजनाको हेडबक्सबाट करिब २ किलोमिटरको दूरीमा पर्ने सुखार खोला क्षेत्रसहित विभिन्न ८ स्थानमा क्षति पुर्याएको आयोजनाका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए।
बाढीबाट क्षति पुगेको संरचनाको पुनःनिर्माणका लागि करिब ८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। क्षति भएका संरचना पुनः निर्माणका लागि प्रयास भइरहेको कार्कीले बताए।
बाढीले २०७१ साउनमा पनि आयोजनाको करिब २० करोडको संरचना भत्काएको थियो। करिब एक वर्ष लगाएर ती संरचना मर्मत गरिएको थियो।
०७२ सालमा किसानको खेतमा सिँचाइ सुविधा पुर्याउन परीक्षण गर्ने क्रममा नहर भत्किएका कारण रोकिएको थियो। बाँकेको कुल खेतीयोग्य जमिनमध्ये करिब ७२ प्रतिशत क्षेत्रमा सिँचाइको भरपर्दाे सुविधा छैन। सिँचाइ सुविधा नहुँदा बाँकेका किसान वर्षेनी सुक्खा र खडेरीको चपेटामा पर्दै आएका छन्।
बाँकेको करिब ३४ हजार हेक्टर क्षेत्रमा वर्षभरि नै भरपर्दाे सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिए पनि नहरका संरचना पटक–पटक भत्किएर ढिलाइ भइरहेको सिक्टा सिँचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए।
०७२ सालमा सिक्टा सिँचाइ आयोजनाको हेडबक्सबाट करिब २६ किलोमिटरको दूरीमा रहेको झिझरी खोला छेउमा निर्माण गरिएको नहरको संरचना भत्किएको थियो।
परीक्षणका क्रममा नहर भत्किएपछि नहरको किनारका बासिन्दाले नहर निर्माणको गुणस्तर चेकजाँच गरेर पुनःनिर्माणको व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गर्दै आएका छन्।
नहर सञ्चालन नहुँदै ३ पटक संरचना भत्किएकाले यसको गुणस्तर छानबिन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालले बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा नेपालगञ्ज पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएकी छिन्।
बाँकेको करिब ३४ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ नेपाल सरकारले आफ्नै लगानीमा २०६३ माघबाट सिक्टा सिँचाइ आयोजनाको निर्माण सुरु गरेको हो।
राजनीतिक अस्थितरता, आयोजनामा हुने राजनीतिक हस्तक्षेप र निर्माण कम्पनीहरुको लापरबाहीले गर्दा निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि नहरको पानी किसानको खेतसम्म पुग्न सकेको छैन।
निर्माण सुरु गर्दा करिब १२ अर्ब ८० करोडको लागतमा २०७० माघसम्म नहरको मुख्य निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि २०७४ असार सम्म १३ अर्ब १३ करोड ५४ लाख खर्च भइसक्दा पनि नहर निर्माणको काम करिब ५३ प्रतिशत मात्रै पूरा भएको छ।
समयमै आयोजना नसकिने देखिएपछि आयोजनाको संशोधित गुरु योजना तयार पारिएको। आयोजनालाई आर्थिक वर्ष २०७६/०७७ सम्म पूरा गर्ने र कुल लागत २५ अर्ब २ करोड पुग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।