काठमाडौं– यस वर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने भएको छ।
‘साताको साहित्य डटकम’मा प्रकाशित भएका कविता मध्येबाट वर्षकै उत्कृष्ट कविता ‘आशीर्वाद’ पर्न सफल भएको हो।
साताको साहित्यले अगस्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूबाट उत्कृष्ट तीन कविता छनोट गरेको थियो।
छनोटमा प्यासीसहित बाबु त्रिपाठी र जीवन खत्रीको कविता परेका थिए। महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिव पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजीको निर्णायक मण्डलले प्यासीको कवितालाई उत्कृष्ट ठहर गरेका हो।
पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र रहेको छ।
यस्तो छ पुरस्कृत कविता :
आशीर्वाद
आँसुले बाटो छेक्नुअगावै
गइहाल्नू, एकैछिन पनि नउभिनू
जाँदाजाँदै बाटाहरूमा
आदिवासी ढुंगाहरू भेटिन सक्छन्
जथाभावी नकुल्चनू
तीमध्ये कुनैकुनै देउराली हुन सक्छन्
जोसँग हिसाबकिताब हुनसक्छ
कसम खाएर पनि फर्की नआउनेहरूको,
पुरानो किल्लाबाट खसेका पर्खालका टुक्राहरू हुन सक्छन्
जो धेरै पहिले
दुश्मनका निधारमा बजारिएका थिए होलान्,
जोगाउँदै–जोगाउँदै जानू
जाँदाजाँदै बाटोहरूमा
खडेरीलाई छिचोलेर फुलेका फूलहरू हुन सक्छन्
नटिप्नू मन पर्यो भन्दैमा,
तीमध्ये कुनैकुनै भाइटीका कुरिरहेका सयपत्रीहरू हुन सक्छन्,
कठ्यांग्रिँरदो जाडो पार गरेर फुलेका
कसैको चुल्ठो कुरिरहेका गुराँसहरू हुन सक्छन्,
बरु मुस्कुराउँदै–मुस्कुराउँदै जानू
कुहिरो पठाएर मौसमले तिमीलाई छल गर्न सक्छ
नआत्तिनू रत्तिभर पनि,
अँध्यारो पठाएर समयले तिमीलाई छल गर्न सक्छ
नडराउनू रत्तिभर पनि,
बरु पर्खनू, भोलि बिहान उदाउने घामलाई
जसले तिमीलाई गन्तव्य देखाउने छ
जाँदाजाँदै बाटोहरूमा
तिमीले चढ्नै नसक्ने उकालीहरू आउन सक्छन्,
तिमीले तर्नै नसक्ने नदीहरू आउन सक्छन्,
हतास नहुनू, धैर्य गर्नू
उकालीहरूमा सिँढीहरू भेटिन सक्छन्,
नदीहरूमा डुंगाहरू भेटिन सक्छन्
जाँदाजाँदै धेरै टाढा पुगे पनि
आफूले छाडेर आएको बाटो नबिर्सनू
एक दिन
तिमी सपनाको सहर पुग्नेछौ
जहाँ मान्छेहरू मान्छेजस्ता हुने छैनन्,
स्वार्थको खरिदबिक्री बजारमा भेटिनेछन् आफ्नाहरू, आफन्तहरू
ईश्वरहरूको थुप्रै कंकालहरू भेट्नेछौ
जसले डरको व्यापार गरिरहन्छ निर्दाेष मस्तिष्कहरूमा
नवजात शिशुहरूलाई झाडीमा छाडेर हिँडेको
आमाहरू भेट्नेछौ,
नाबालिक छोरीका लागि ग्राहक खोज्दै हिँडेको
जँड्याहा बाहरू भेट्नेछौ
त्यति बेला हाम्रो याद आउन सक्छ तिमीलाई
यदि याद आयो भने
तिमीले क्यामेरामा बोकिलगेको हाम्रो हाँसो हेर्नू,
सहरमा त धर्मशालातिर मात्रै भेटिन्छन् रे बाआमा !
त्यता कतै धर्मशाला जानू, अलिकति मुस्कान बोकेर जानू
उनीहरूको आँखामा आँसु देखिन सक्छ,
देखियो भने यदि,
सम्झनू संवेदना अझै मरेको छैन
मानवता अझै मरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।