प्लेनको सिटमा छुट्यो कि
बन्दाबन्दै भत्किएको पुलमुनि पुरियो
लुकाइयो कि स्विस बैंकको लकरमा
कि असारे झरीमा बाटोसँगै बग्यो
हराएको देशको चिना खोज्नुछ
कमसल पोलिमरमा छापिएको थिएन
कुनै गैरसरकारी संस्थाको डायरीमा
लेखिएको थिएन
लेखिएको थिएन आयातित मसीले
पाँचतारे होटेलको सभाकक्षमा
लेखिएको थिएन
लालीगुराँसको मसीले, खटियामा बसेर
नेपाली कागजमा लेखिएको मेरो देशको चिना
हेलिकोप्टरको ढोकाबाट खस्यो कि
बेमौसमी बाढीमा बग्यो
लग्यो कि चटपटे बेच्नेले
कि परदेशीको सुटकेसमा पर्यो
हराएको देशको चिना खोज्नुछ
हिजो के थियौँ? सम्झेलान् बा–आमाहरुले
चिना खोज्नुछ
भोलि के बन्नेछौँ? सोध्लान् सन्तानहरुले
चिना खोज्नुछ
आज के छौं? थाहा छैन आफैंलाई
चिना खोज्नुछ
उज्यालो निलेका पुजारीहरू
लेख्दैछन् रे अँध्यारोमै चिनाको नयाँ खाका
अब जिब्रो काटिनुअघि
अन्तिम पटक बोल्नुछ
कतै भेटिन्छ कि पुजारीकै खल्तीमा
हराएको देशको चिना खोज्नुछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।