चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री संसद र प्रतिपक्षसँग भाग्दै हिँडेको आरोप लगाएका छन्।
चितवनको मंगलपुरस्थित विश्वप्रकाश माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन, सुरक्षा र विकास विथोलिएको बताए।
‘यो सामना गर्न नसकेर प्रधानमन्त्री संसद र प्रतिपक्षबाट भाग्नुभएको छ,’ उनले भने, ‘सरकारले तीनवटा मुख्य काममा ध्यान केन्द्रित गर्नुपर्नेमा तीनै काममा असफल भएको छ। सुरक्षा विकास र सुशासन सरकारले ध्यान दिनुपर्ने विषय हुन तर सरकार यी तीनै विषयमा असफल भइसक्यो।’
नेता पौडेलले वर्तमान कम्युनिष्ट पार्टीले काम गर्ने सुवर्ण अवसर पाएको बताउँदै भने, ‘यो सरकारले काम गर्ने सुवर्ण अवसर पाएको छ। कांग्रेस जस्तो भद्र र अनुसाशित प्रतिपक्ष पाएको छ। कम्युनिष्ट सरकारले काम गर्ने बेला हो। वातावरण पनि अनुकुल छ। झन अहिले हरेक क्षेत्रमा भ्रष्टचारका काण्डहरू बाहिर आएका छन्।’
लोकतन्त्रका कारण विकास हुन नसकेको प्रचण्डको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए। उनले भने ‘लोकतन्त्र नभएको भए ड्यामका ड्याम विकास हुन्थ्यो भन्नुहुन्छ। उहाँले १० वर्षे द्धन्दमा ठ्यामका ठ्याम गरेर मुलुकको विकासलाई अस्तव्यस्त बनाउनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।