विराटनगर– इलाममा अनसनरत डा. गोविन्द केसीको पक्षमा समाचार लेखेको भन्दै बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारहरूलाई गाली गलौज गरेकोप्रति नेपाल पत्रकार महासंघ प्रदेश–१ले आपत्ति जनाएको छ।
प्रदेश समितिका महासचिव विवेक गौतमले बुधबार प्रेस विज्ञप्ति जारी गरी पत्रकारलाई गाली गलौज गरेको विषयमा महासंघले गम्भीर आपत्ति जनाएको बताए।
पत्रकारलाई अपशब्द प्रयोग गरी गाली गलौज गर्ने र धम्क्याउने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेकाले यस्ता कार्य बन्द गर्न र दोषीलाई कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ।
प्रसाईंले समाचार प्रकाशन गरेको भन्दै इलामका पत्रकार विनोद भट्टराई लगायतलाई गाली गलौज गरेपछि महासंघलाई उनीहरूले जानकारी दिएका थिए।
महासंघले स्वतन्त्रतापूर्वक र भयरहित वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।
यसैगरी, कुनै पनि अभियान वा आन्दोलनको पक्ष वा विपक्षबाट अलग रही पत्रकार आचारसंहिता र पेसागत मर्यादाभित्र रहेर आफनो जिम्मेवारी पूरा गर्न महासंघले पत्रकारलाई आग्रह गरेको छ।
घटनाको विषयमा नेपाल पत्रकार महासंघ इलाम शाखाले मंगलबार नै विज्ञप्ति निकालेर विरोध जनाएको हो।
साउन १० गते सरमारसँग भएको सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन माग गर्दै डा. केसी पुष २५ गतेदेखि इलाममा १६औँ पटक अनसन बसेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।