बेत्रावती– चोरीमा संलग्न रहेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेको समयमा गत पुस ४ गते त्रिशूली नदीमा बेपत्ता भएका मैते तामाङ आज मृतावस्थामा भेट्टिएका छन्।
रसुवाको उत्तरगया गाउँपालिका–३ का १९ वर्षीय तामाङ आज वडा नं ५ सोलेस्थित त्रिशूली नदी किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
तामाङको शव जिल्ला अस्पताल त्रिशूलीमा परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको छ। उनलाई गत पुस ३ गते राति माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरी गरेको अभियोगमा मैलुङ प्रहरीले नियन्त्रणमा लिएको थियो।
उक्त अभियोगमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटतर्फ ल्याउने क्रममा उनी पैरेबेसीमा आएपछि शौच गर्ने बाहनामा त्रिशूली नदीमा हामफालेर बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।