दाङ– तुलसीपुर नगरपालिका-३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या २३ पुगेकाे छ। जुम्ला कन्कासुन्दरी गाउँपालिका ५का २० वर्षीय विरेन्द्र कन्डराको नेपालकञ्ज कर्सिङ हाेममा उपचारकाे क्रममा बिहान ८ बजे मृत्यु भएपछि मृतककाे संख्या २३ पुगेकाे हाे।
जसमा ४ महिला र १९ पुरुष रहेका छन्। १४ जना घाइते भएका छन्। घाइते सबैलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ। उनीहरुको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परि ज्यान गुमाउने मध्ये कन्डरासँगै अन्य ८ जनाको पहिचान खुलेको छ। जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी, शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका वडा नं १७ का २८ वर्षीय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय विजय जी, - जाजरकाेटका अतिस नेपाली, जुम्लाका हिकमत वाेहरा र कन्चनपुर खेमराज भट्ट रहेका छन्।
अन्यको केहि समयपछि सनाखत गरिने डिएसपी शाहीले जानकारी दिए। मृत्यु हुने र घाइते सवै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन।
तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो। प्रहरीका अनुसार सडकबाट करिब ७ सय मिटर तल खसेको थियाे।
बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।