सिक्लेस, कास्की- गाउँको बीचमा एउटा अग्लो टावर। टावरमा उक्लेर हेरेपछि पूरै गाउँ आँखासामु आइपुग्छ। गाउँका बीचमा नयाँनयाँ घर बन्दै गरेको देखिन्छ। लाग्छ, बस्तीमा आवादी बढ्दै छ। तर आँखाले दृश्यभन्दा फरक छ वस्तुस्थिति।
टावरबाट ओर्लेर गाउँ घुमेपछि मात्र थाहा हुन्छ वास्तविकता। धेरै घरमा ठूल्ठूला ताल्चा लगाइएका छन्। करिब ७ सय घर भएको उक्त गाउँमा अहिले कमै घरमा मात्र मानिस बस्छन्। रोजगार तथा अध्ययनका नाममा गाउँ छोड्ने चलन सुरु भएपछि गाउँ पातलिन थालेको हो। 'गाउँ छोडेका मानिस प्राय फर्कंदैनन्', गाउँमा भेटिएका बुढापाका भन्छन्।
केही वर्षअघिसम्म सिक्लेसका प्रायः घर खरले छाएका हुन्थे। केही घर ढुंगा वा काठले छाएका पनि थिए। साविकको पार्चे गाविसमा पर्ने सिक्लेसका घर समयसँगै फेरिन थाले। खरका छानालाई रंगीन जस्तापाताले विस्थापित गर्न थाल्यो।
रंगीन जस्ताले छाएका घरले मात्रै पुगेन त्यहाँका बासिन्दालाई। विकासका साथै सुविधाको खोजीमा लाग्न थाले। पोखराभन्दा ४० किलोमिटर मात्रै टाढा रहेको सिक्लेसका युवा पुस्ता सहर (पोखरा) छिर्न थाल्यो। गाँउ फर्किने चाहना फेरि पलाएन उनीहरुलाई। अनि सुरु भयो गाउँ रित्तिने क्रम।
गाँउमा जस्ता टल्कन थालेको केही वर्ष भइसक्यो। छानामा टल्किने जस्ताको चमक अहिले मधुरिन थालेको छ। पुरानो भएर खिया टाँसिन थालिसकेको छ। जस्तापाताको रंग फेरिएजस्तै गाउँलेको इच्छा, चाहना र आवश्यकता पनि फेरिएका छन्। नजिकैको अन्नपूर्ण हिमशृंखला सेताम्य टल्किएजस्तै त्यहाँका घरका जस्ताको छानो खैरौ हुने क्रम जति बढ्छ, रैथाने बसाई सर्ने गति पनि उतिकै तीव्र छ। जस्ता जति पुरानो हुन्छ, बस्ति उति पातलिँदै जान्छ।
‘केही वर्षअघिसम्म स्कुलमा धेरै विद्यार्थी हुन्थे। तर अहिले त्यो क्रम घट्दै गइरहेको छ,’ मादी-१ सिक्लेसस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा विगत १६ वर्षदेखि शिक्षण गर्दै आएका गेहेन्द्र गुरुङ भन्छन्, ‘सबै बसाइँ सर्दै गाउँ छोड्न लागे।’
कक्षा १० सम्म पढाइ हुने त्यहाँको विद्यालमा उच्च शिक्षाका लागि सहर झर्नुपर्ने बाध्यता छ। ‘पढाइ पूरा गर्न पनि सहर छिर्नुपर्ने बाध्यता छ। विद्यार्थी संख्या पनि पहिलेभन्दा थोरै छन्,’ शिक्षक गुरुङ भन्छन्।

सधैं स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने सिक्लेसले पछिल्लो समय रैथानेलाई रोक्न भने सकेको छैन। स्थानीयबासीको संख्या कम हुँदै गएको गाउँमा प्रत्येक दिन दर्जनौं पर्यटक जान्छन् र केही आत्मीयताको आवाज भरेर फर्किन्छन्। यो सिक्लेसको यथार्थ हो।
गाउँका ७ सयमा घरधुरीमा अहिले मुस्किलले ५ सय घरमा मात्र मानिस बस्ने शिक्षक गेहेन्द्र बताउँछन्। ‘गाउँमा महिला र बुढाबुढीको संख्या धेरै छ। अलिअलि केटाकेटी छन्’ उनले भने, 'कुनै सामाजिक काम पर्दा मान्छे नै नपुग्ने गरी गाउँ रित्तिएको छ।'
गुरुङको बाहुल्यता भएको सिक्लेसमा त्यसपछिको दोस्रो स्थानमा दलितको संख्या छ। ‘६ टोलमै गुरुङको बाहुल्यता भए पनि सबै टोलमा ५/६ घर दलित बस्छन्। यहाँको विशेषता नै यही हो। गुजुमुजु परेर एकै ठाउँमा पनि प्रत्येक टोलमा दलित र गुरुङ मिलाएर राखेको छ सिक्लेसले,’ शिक्षक गुरुङ भन्छन्, ‘यो परम्परा पहिल्यैदेखि चलिआएको हो।’
हराउँदै कृषि पेसा
अन्य ठाउँजस्तै सिक्लेसीको पनि मुख्य पेसा कृषि नै हो। पहिला एक थुम्कोदेखि अर्को थुम्कोसम्म खेतीकिसानी हुने गाउँमा अहिले कृषि पेसा छाडिँदै गएको शिक्षक गुरुङ बताउँछन्। ‘पहिले टाढासम्मका खेतमा खेतीपाती गर्थे। तर अहिले गाउँमा मात्रै सीमित भएका छन्,’ उनले भने।
गाउँमा आलु, कोदो, मकै र धानलगायतका कृषिजन्य पदार्थ उब्जनी हुने गरेको छ।

एक्याप कार्यालयसँगै संग्रहालयले पनि पर्यटकलाई आकर्षित गरिरहको स्थानीय तथा पर्यटन व्यवसायी माइला गुरुङ बताउँछन्। शान्ति प्रक्रियामा आउनुअघि भूमिगत तथा सशस्त्र संघर्षबाट पहिलो पटक माओवादी सार्वजनिक भएको ठाउँ पनि हो सिक्लेस। त्यसैको सम्झना स्वरुप सोमबार शान्ति स्तम्भ अनावरण गरिएको छ। स्तम्भ बनेपछि पर्यटक अझै थपिने उनको दाबी छ।
चर्चामा सिक्लेसी होमस्टे
सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालय भएको ठाउँ पनि हो। त्यहाँबाट अन्नपूर्ण हिमशृंखला नजिकैको दूरीमा नियाल्न सकिन्छ। गाउँबाट देखिने दृश्य हेर्न बास बस्न र घुम्न बाहिरबाट मानिस आउने गरेको सिक्लेस होमस्टेकी अध्यक्ष टाइमाया गुरुङले जानकारी दिइन्।
‘बैशाखबाट मात्रै होमस्टे सुरु भएको हो। तर त्यसअघि पनि आन्तरिक र बाह्य पर्यटक आउने क्रम जारी नै थियो,’ उनले भनिन्।
एकरातमा एकैचोटी कम्तिमा ५ सय जना पर्यटकलाई राख्न सक्ने सिक्लेसका होटेल तथा होमस्टेको क्षमता छ। ‘तर कहिलेकाहीं त्योभन्दा पनि बढी पर्यटक आउँछन्। ठाउँ नपुगेर समाजघरमा राख्नुपर्ने हुन्छ,’ गुरुङ भन्छिन्, ‘असोजदेखि पुस-माघसम्म मौसम खुल्ने भएकाले धेरै पर्यटक आउँछन्।’ होमस्टे सञ्चालनमा आएपछि आन्तरिक पर्यटक बढेको उनले बताइन्।
दैनिक कम्तिमा ५०/५५ मा आन्तरिक पर्यटक आइरहने त्यहाँका बासिन्दा बताउँछन्। अन्य दिनभन्दा सिक्लेसमा शुक्रबार आन्तरिक पर्यटकको बढी भीड लाग्ने गर्छ। ‘शुक्रबार बास बसेर शनिबार बिदाको दिन घुम्छन्। त्यही भएर पनि ती दिन धेरै मान्छे आउँछन्,’ स्थानीय दिलसिंह गुरुङले भने। पर्यटकको घुइँचो लाग्ने भएकै कारण उनले त्यँही पसल खोलेको र कमाइ पनि राम्रो भइरहेको बताउँछन् उनी।

दिलसिंहका अनुसार पर्यटकको चाप बढेकै कारण गाउँमा नयाँ घर पनि थपिँदै गइरहेका छन्। तर त्यतिकै मात्रामा घर खाली हुने क्रम पनि जारी छ। 'नयाँ घर थपिने र सहर झर्ने बराबरी होलान्,’ उनले भने।
ताइमायाका अनुसार अहिले सिक्लेसमा जम्मा २२ घरमा मात्रै होमस्टे सञ्चालनमा आएको छ। अनुमति २५ घरलाई भएपनि बाँकी घरले सञ्चालनमा ल्याउन नसकेको उनले बताइन्। ‘पर्यटक बढेकाले फेरि १० घरमा होमस्टे चलाउने सहमति भएको छ। त्यसबाहेक पनि गाउँमा १२ होटेल सञ्चालनमा छन्,’ उनले भनिन्।
पोखरादेखि गाडी तथा पैदल दुवै माध्ययमबाट त्यहाँ पुग्न सकिन्छ। कास्कीका मात्रै नभएर अन्य ठाउँका पनि आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा रम्न तथा पदयात्राका लागि आउने गर्छन्। ‘गुरुङ जातिको बाहुल्यता भएकाले गुरुङ संस्कृति हेर्न धेरै हुन्छन्। त्यसबाहेक अन्नपूर्ण हिमशृंखला नजिक भएकाले त्यो हेर्न पनि आउँछन्,’ शिक्षक गेहेन्द्र भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।