जनकपुर– धनुषाको एक निजी विद्यालयका शिक्षकले गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई सजायस्वरुप शौचालय सफा गर्न लगाएका छन्।
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–२ स्थित सनसाइन इंंग्लिस बोर्डिङ्ग स्कूलका एक शिक्षकले विद्यार्थीहरुले गृहकार्य नगरेपछि कक्षाबाट निकालेर शौचालय सफा गराएका हुन्।
अंग्रेजी विषयका शिक्षक फ्र्यांकी चेमजाेङले दिएको गृहकार्य गरेर नआएपछि कक्षा ५ मा अध्ययनरत ३ जना विद्यार्थीलाई शौचालय सफा गर्न लगाइएको पीडित विद्यार्थीमध्ये एक वसन्तकुमार सिंहले बताए।
सिंहले भने, ‘बुधबार सरले दिएको ५ वटा होमवर्कमध्ये एउटा गरेको थिइन। त्यसकै सजाय भन्दै शौचालय सफा गर्न लगाउनुभयो।’ उनले आफूसंगै कक्षा ५ मा अध्ययनरत शत्रुधन साह र सुदन शर्मालाई समेत कक्षा अवधिभर शौचालय सफा गर्न लगाएको गुनासो पोखे।
११ वर्षीय वसन्तले बुवा विन्देश्वरलाई विद्यालयबाट फर्किएपछि शिक्षकले एउटा गृहकार्य छुटेपछि शौचालय सफा गर्न लगाएको बताएका थिए। विन्देश्वर बटेश्वर गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।
छोराको कुरा सुनेपछि विन्देश्वरले विद्यालय पुगेर गुनासो पोख्दा उल्टै प्रध्यानाध्यापकले हप्काएको बताए। विन्देश्वरले प्रध्यानाध्यापक श्रवण कुमार महताेलाई ‘यसरी बच्चालाई सजाय किन दिएको?’ भनेर सोध्दा यादवले नपढ्ने, अटेरी विद्यार्थीहरुलाई यसरी नै कडा सजाय दिनुपर्ने भनेर हप्काएका थिए।
विन्देश्वरले आफ्ना छोरामाथि शिक्षकले अमानवीय व्यवहार गरेको भन्दै बटेश्वर गाउँपालिकाको न्यायिक समिति र गाउँपालिकास्थित प्रहरी कार्यालयमा बिहीबार निवेदन दिएपछि घटना बाहिर आएको हो। उनले राष्ट्रिय मानवअधिकार आयोग जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई, धनुषालगायत निकायमा समेत उजुरी दिने बताएका छन्।
यता स्कुलका प्रधानाध्यापकले भने आफूले दुर्व्यवहार नगरेको र विद्यार्थीलाई समान्य सजाय दिएको बताउँदै आफूमाथि लगाइएको आरोप गलत रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।