आफूलाई लोकतन्त्रको जननी मान्ने नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै हिजोआज धरापमा परेको धेरैले अनुमान गर्न थालेका छन्। मुख्यतः भातृसंस्था भित्रको किचलो र आन्तरिक गुटबन्दीले यस तथ्यलाई सत्य सावित गरेको छ। कांग्रेस भित्रको आन्तरिक किचलोका कारण, समाधानका उपाय तथा नेपाल विद्यार्थी संघमा लगाइएको उमेरहदको प्रावधानको प्रभावकारिताका सम्बन्धमा कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघ पूर्व सभापति गोविन्द भट्टराईसँग नेपाल लाइभका विनय बाह्रकोटीले गरेको कुराकानी।
वर्तमान सरकारको गतिविधि र कांग्रेसको भूमिकाप्रति तपाईंको मूल्याङ्कन कस्तो छ?
हालको सरकार विपि कोइराला नेतृत्वको सरकारपछिको सबैभन्दा शक्तिशाली सरकार हो। यो सरकारलाई असफल हुने छुट छैन। त्यो बेला १८ महिनाको अवधिमा कोइरालाले जुन आधुनिक नेपालको जग निर्माण गर्नु भएको थियो, त्यसको जस उहाँलाई दिनैपर्छ। सामाजिक तथा आर्थिक विकासका पूर्वाधार निर्माण गर्ने काम नेपाली कांग्रेसकै नेतृत्वमा भयो।
तर, यो सरकारले त्यस्तो खालको गतिविधि गरेको देखिँदैन। जहाँसम्म तपाईंले भनेजस्तो कांग्रेस र सरकारको तुलना गर्ने कुरा छ, त्यसमा सरकारमै धेरै अकर्मण्यता जस्तो देखिन्छ। हिजो कांग्रेसले नेतृत्व गरेको बखत सरकार यति धेरै लाचार बन्नुपरेको थिएन। प्रतिपक्षको भुमिकामा कांग्रेस धेरै स्थानमा बलियोगरी उभिएको प्रष्ट छ।
अहिले कांग्रेसको जुन हैसियत छ, यसले कांग्रेसलाई पुनर्जागरणको मौका दिएको छ। त्यो मौकाको सदुपयोग गर्नुपर्छ। जुन साहस हालको नेतृत्वले गर्नसक्ने नदेखिएको सत्य हो।
कांग्रेस पनि हिजो शक्तिशाली र आज लाचार भएको जस्तो देखिन्छ नि?
एक हिसाबमा त्यो पनि सही नै हो। हिजो नेपाली कांग्रेस आफैं प्रतिपक्षी भएको अवस्थामा द्वन्द्वरत पार्टी तत्कालीन नेकपा (माओवादी)लाई वार्तामा ल्याउने काम गरेकै हो। त्यतीमात्र हैन, कम्युनिस्टको बहुमत भएको अवस्थामा संविधान जारी हुन सकेन, तर कांग्रेस ठूलो दल भएको बखत कांग्रेसकै नेतृत्वमा संविधान पनि जारी भयो। संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो तिनै तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भयो।
यसरी हेर्दा देशका हरेक महत्वपूर्ण उपलब्धिमा कांग्रेसको अग्रणी भूमिका देख्न सकिन्छ। तथापि, अहिले कांग्रेसको जुन हैसियत छ, यसले कांग्रेसलाई पुनर्जागरणको मौका दिएको छ। त्यो मौकाको सदुपयोग गर्नुपर्छ। जुन साहस हालको नेतृत्वले गर्नसक्ने नदेखिएको सत्य हो।
कांग्रेसले विपिको ब्रान्ड बेचेर सधैँ पुग्ला र? कि अरू पनि केही गर्नुपर्छ?
विपि कोइराला बिनाको कांग्रेस कसरी सम्भव छ? कांग्रेसले विपि कोइरालालाई बिर्सियो भने जनताले पनि कांग्रेस बिर्सिन्छन्। त्यसैले लोकतन्त्रको जननी कांग्रेस र विपि कोइरालाबिच कस्तो सम्बन्ध छ त्यो आफै बुझ्नुस्। हिजो पूँजीवादी भनेर सत्तोसराप गर्नेहरू आज त्यही बाटोमा लागीरहेका छन्। संसारभर फेल भएको सिद्धान्त बोकेर हिँडेका कम्युनिस्ट भन्दा कांग्रेस धेरै परिपक्व छ। विपिले त्यो बेला नै भनेका हरेक सैद्धान्तिक कुराहरू अहिले आएर सबैले स्विकार गरिसकेका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा पहिला गुटको बैठक बस्ने। नेताको आफ्नो बोलीभन्दा गुटको निर्णय हाबी हुने परिपाटीले मुलतः पार्टीलाई नै हानी गरिरहेको छ।
त्यसो भए, अहिले देखिएको आन्तरिक किचलोले कांग्रेस परिपक्व हुनसक्छ?
पार्टीभित्र अहिले अलिक गुटबन्दी ज्यादा भा‘छ। आफ्नो नीति र कार्यदिशाअनुसार पार्टी अगाडि बढ्न सकेको छैन। यहाँ समस्या त के छ भने, जितेकाले भन्दा हारेकाले पार्टी चलाउन खोज्दैछन्। हारेकाहरू भागवन्डा खोजेर पार्टी पद्धतिलाई बेवास्ता गर्न तिर लागीरहेका छन्। पार्टी त जित्नेले चलाउने हो नि! तर, हारेकाले सेयर खोज्ने पद्धति विकास भयो। र जितेकाहरूले पनि त्यसैलाई स्वीकार गरिरहेका छन्। यो बन्द हुनुपर्छ। तबमात्र कांग्रेस पुरानै लयमा फर्किनसक्छ।
तपाईंको मतलब कांग्रेसभित्र लोकतान्त्रिक अराजकता मौलायो भन्ने हो?
अहिले नीति, कार्यदिशा र विधानको विरुद्धमा काम भइरहेको छ। अब त्यसलाई अराजकता भन्ने कि के भन्ने? यो अराजकता जस्तै नै हो। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा पहिला गुटको बैठक बस्ने। नेताको आफ्नो बोलीभन्दा गुटको निर्णय हाबी हुने परिपाटीले मुलतः पार्टीलाई नै हानी गरिरहेको छ। तर, अब यो अवस्थाबाट पार्टीलाई मुक्त गर्नुपर्छ। आ–आफ्नो जिम्मेवारी अनुसारको काम गर्यो भने यो अराजकताको अन्त्य हुन्छ।
कांग्रेस महासमितिको बैठक बस्दैछ। त्यसबाट केही आशा गर्न सकिएला?
कांग्रेस महासमितिको बैठकले केही सकारात्मक काम गर्ला। विधानलगायत पार्टीलाई नै चलायमान बनाउन आगामी महासमितिको भेलाले केही आशा भने अवश्य जगाउने छ।
नेविसंघले आफ्नो काम आफै गर्ने हो। पार्टीसँग गुहार माग्नुपर्ने जरुरी नै छैन।
तपाईं नेविसंघको पूर्व सभापति, खासमा नेविसंघ भित्र देखिएको विवादको चुरो के हो?
म आफैं नेविसंघको केन्द्रीय सभापति भएर पार्टी राजनीतिमा आएको हुँ। नेविसंघले आफ्नो काम आफै गर्ने हो। पार्टीसँग गुहार माग्नुपर्ने जरुरी नै छैन। हाम्रो पालामा हामीले गुहार मागेनौं। त्यो बेला सबैभन्दा शक्तिशाली विद्यार्थी संगठन नै नेविसंघ थियो। तर, अहिले आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि पार्टीलाई दोष दिएर केही हुँदैन। नेविसंघमा एकपटक अधिवेसन हुँदा दुई पटक विधान संशोधन हुने लाचारी प्रवृत्ति देखियो।
नेतृत्व छैन यो कमिटीमा? एउटै कलेजमा ३/४ वटा कमिटी बनाउने अधिकार कसले दियो? आफू पढेको वा आफ्नो जिल्लाको अधिवेसन गराउन नसक्ने अनि गल्लीमा अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री हुँ भन्दै हिँडेर केही हुँदैन।
उमेर हदका कारण नेविसंघ समस्यामा परेकै हो?
यो उमेर हद बेकारको कुरा हो। उमेर हैन एजेन्डा चाहिन्छ नेतृत्वमा। अहिलेको नेविसंघ उमेरले हैन एजेन्डाले समस्यामा परिरहेको छ। समयमा नै अधिवेसन गर्ने हो भने उमेरहदको कुरै उठ्दैन। जसलाई जे मन लाग्यो त्यही गर्न यो कुरा उठेको हो।
माउ पार्टीको गुटबन्दीले पनि नेविसंघ चलायमान हुन नसकेको भन्नेमा तपाईंको बुझाइ के हो?
त्यसो हैन। काम गर्नलाई गुटले कहाँ रोक्या छ र? नेविसंघको आफ्नै विधान छ, त्यसै अनुसार काम गरे भैगो नि! नेतृत्व छैन यो कमिटीमा? चिठ्ठी पढ्न मात्र समिति बन्या होर भन्या। एउटै कलेजमा ३/४ वटा कमिटी बनाउने अधिकार कसले दियो? आफू पढेको वा आफ्नो जिल्लाको अधिवेसन गराउन नसक्ने अनि गल्लीमा अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री हुँ भन्दै हिँडेर केही हुँदैन। खाली पदको लागि नेताको चाकरी गर्ने अनि पद पाएपछि केही काम नगर्ने लाचार मान्छेको हातमा नेविसंघ छ। अहिलेको समस्या यहि हो।
यसपटकको किचलोले उर्जाशील युवाहरूको पार्टीप्रतिको आकर्षणमा कमी आएको हो?
यो कांग्रेसको मात्र समस्या हैन। सबै पार्टीको साझा समस्या हो। जहाँसम्म युवा केन्द्रित भिजन बनाउन नसक्नु र पार्टी पद्धति पुरानै ढाँचामा अगाडि बढाउन खोज्नु कांग्रेसको समस्या हो। अबको कांग्रेसको ऐजेन्डा भनेकै युवा र विकास केन्द्रित हुन जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।