एकैछिनको ट्राफिक जाम होस् वा केही समयको विद्युत कटौती। हामी ढिला नगरी सरकार वा प्रशासनलाई सत्तोसराप गर्छौं र आफ्नो भूमिका सर्लक्कै बिर्सन्छौँ।
आफू बसेको समाज सुधार्न के गर्न सकिन्छ, चर्चा गर्दैछु।
हामी जब अधिकारका कुरा गर्छौँ, त्यससँग जोडिएर आउने एक महत्वपूर्ण पक्ष भनेको कर्तव्य पनि हो। संविधानले समेत नागरिकका ४ वटा कर्तव्यको उल्लेख गरेको छ। तर, यहाँ संविधानका ती कुराभन्दा पनि तपाईं-हामीले दैनिक जीवनमा देखे भोगेको झिनामसिना कुरातर्फ केन्द्रित हौँ।
हामी दैनिक यात्रा गर्छौँ, सार्वजनिक होस् वा निजी सवारीमा। लाइसेन्स लिँदा सिकेका कुरासम्म त पालना गर्न सक्छौँ।
सडक पैदलयात्रीको पहिलो अधिकार मानिन्छ, कमसेकम म जेब्रा क्रसबाट कोही बाटो काट्दै छ भने रोकेर खुरुक्क उसलाई जान दिन सक्छु।
हामी कसरी गलत भयौँ भन्ने जान्नका लागि बानेश्वर चोकको एउटा उदाहरण, जहाँ स्वचालित ट्राफिक बत्ती छ। तर, त्यही स्वचालित बत्ती लागू गराउन ट्राफिक प्रहरी बस्नुपरेको छ। बस, माइक्रो वा टेम्पो चढ्न हामी तँछाडमछाड गर्छौँ। के हामी लाइन बसेर गाडी चढ्न सक्दैनौँ? गाडीको सिटमा बसेका छौँ भने अशक्त, वृद्ध वा गर्भवती महिलालाई सिट छाडेर उभिन सक्दैनौँ?
तर, हामी यस कुरामा पछाडि छौँ। अधिकारका नारा लगाउँछौँ। ‘देशमा सिस्टम छैन’ भन्दै कुर्लन्छौँ।
आफ्नो बाइक वा मोटर छ र सिट खाली छ भने, गाडी पर्खेर बसेका दर्जनौं मानिसछेउ आफ्नो साधन रोकेर ‘म फलानो ठाउँ जाने हो, कोही हुनुहुन्छ?' भनेर सोध्न सकिन्न र। केही व्यक्तिलाई सँगै लैजाँदा गाडीमा पेट्रोल, डिजेल खर्च बढी लाग्ला र?
सहरमा मेरो घर छ, जसको मूल्य ठाउँ हेरी करोडौं वा लाखौं पर्छ। तर, मूल सडकबाट मेरै घर छिर्ने केही मिटर बाटो वर्षायाममा हिलो र अरुबेला धुलैधुलो हुन्छ। बरु म सडकमै रोपाइँ गरेर भिडियो खिचेर ‘खै यो देशमा सरकार कहाँ छ’ भनेर भाइरल बनाएर बस्छु। तर, घरमा चाहेजति खर्च गर्न सक्ने मैले छिमेकसँग मिलेर केही हजार खर्च गरेर सडक मर्मत गर्न सक्दिनँ। बरु, घर कम्पाउन्ड सबैतिर बढार्दै गएर सडकमा लगेर फोहरको थुप्रो लगाउँछु वा प्लास्टिक जम्मा गरेर घर नजिकै जलाउँछु।
बैंक, एटिएम, अस्पताल वा अन्य सेवा प्रदायककोमा लाइन लाग्नु स्वाभाविक भइसक्यो, तर मैले पाएसम्म ढिलो पुगेर छिटो काम सक्नु आफ्नो बहादुरी ठान्छु।
सके आफ्नो पहुँच प्रयोग गर्छु नत्र बलमिच्याँइ गर्छु वा कुनै बहानाबाजी गर्छु। अनि आफैं हरप्रसंगमा उही डाइलग दोहोर्याउने गर्छु, ‘सिस्टम नभएको देश।’
मेरो गुनासो गर्ने स्वभाव फिटिक्कै छैन। ‘होस् बोलेर के नराम्रो देखिनु वा मैलै बोलेर के नै हुन्छ र’? भन्ने बानी छ।
यसरी म नबोल्दै गएँ भने आखिर को बोल्छ र? सुधार कहिले हुन्छ? सुधार होला नहोला म बोल्नुपर्छ, गुनासो गर्नुपर्छ, चाहे त्यो सरकारी सेवामा होस् वा निजी।
जहाँ समस्या पर्छ सोही ठाउँमा बोल्नु राम्रो हो। यदि पसलमा सामान खरिदपश्चात् व्यापारीले बिल दिएन भने अनुरोध गर्ने। जबकि सय-पचासको लोभमा व्यापारीलाई कर छल्ने काममा सहयोग नगर्ने।
बसमा चढ्दा सहचालकले एक रुपैयाँ दिएन भने त्यति पनि के मागिराख्नु भन्ने सोच त्यागिदिने। किनभने सवाल त्यो एक रुपैयाँको हैन, सुधारको हो। हामीले देखेकै छौँ ‘हेलो सरकार’को सञ्चालनपछि सरकारी सेवामा धेरै सुधार भएका छन्।
गुनासोसँगै मैलै गर्न नसकेको कृतज्ञता पनि हो। ठेलमठेल बसमा मलाई बिरामी देखेर कसैले सिट छाडिदिन्छ, म ढसमस्स परेर बस्छु तर सानै स्वरले किन नहोस् एउटा धन्यवाद पनि भन्न सक्दिनँ। उभिँदा गाह्रो होला भनेर बसेको एक जनाले मेरो झोला समाइदिन्छ, म झर्ने बेला आफ्नो झोला तानेर यसै हिँड्छु। मानौँ ऊ मेरो झोला समाइदिनकै लागि त्यहाँ बसेको हो।
आागलागी, दुर्घटना भयो भने मेरो पहिलो कर्तव्य उद्धार र सहयोग हुनुपर्ने हो तर आजकाल म सबभन्दा पहिले मोबाइल निकालेर, फोटो, भिडियो वा ताल परे सेल्फी वा फेसबुक लाइभतिर लाग्छु। मैलै प्रविधिको दुरुपयोग त गरेको छैन? यस्तो बेला म सहयोगी बन्ने कि रमिते?
मेरो कार्यालयमा सहयोगी दाइले चिया ल्याएर राखिदिनुहुन्छ, तर मेरो मुखबाट धन्यवाद आउदैन। मलाई लाग्दो हो ती दाइले त्यही कामकै लागि त जागिर खाएका हुन् नि!
माफी माग्ने कुरामा पनि उस्तै कमजोर छु। फेरि बसकै कुरा, म ठेलमठेल गर्दै अन्तिम सिटबाट अरुलाई कुल्चँदै र धक्का मार्दै ओर्लिन्छु। तर, अहँ सरी भन्न मलाई निकै गाह्रो लाग्छ?
म अहिले जहाँ छु, यहाँसम्म पुग्नुमा बाह्रखरी स्कुलको ठूलो हात छ।
मैलै फर्केर कहिल्यै त्यो स्कुललाई हेरेको छु? आफूले सक्ने केही गरेको छु? त्यो स्कुललाई मैले त्यो स्कुलको लागि योगदान पनि त गर्न सक्छु नि!
म नेपाली समय त हो नि भन्दै आफ्नै समयसँग खेलबाड गर्दै छु। त्यो हटाउने जिम्मेवारी पनि मेरै हो। अमेरिकी दूतावासमा १० बजेको अपोइन्टमेन्ट छ भने ९ बजे नै पुगेर कुरेर बस्नुपर्ने म, आफ्नो अरु काममा भने १० बजेको कार्यक्रममा साढे १० तिर हाई काढ्दै पुग्छु।
कहीँकतै आागलागी, दुर्घटना भयो भने मेरो पहिलो कर्तव्य उद्धार र सहयोग हुनुपर्नै हो तर आजकल म सबभन्दा पहिले मोबाइल निकालेर, फोटो, भिडियो वा ताल परे सेल्फी वा फेसबुक लाइभतिर लाग्छु। मैलै प्रविधिको दुरुपयोग त गरेको छैन? यस्तो बेला म सहयोगी बन्ने कि रमिते?
मैले आफ्नो पेसा वा व्यसायबाट प्रतिफल आशा नगर्ने थप केही काम गर्न सक्छु कि, जसले सानोतिनो भए पनि योगदान वा परिवर्तन ल्याओस्। यदि म विश्वविद्यालयमा अंग्रेजीको शिक्षक हुँ भने नजिकको सामुदायिक विद्यालय वा कलेजमा हप्ता वा महिनाको एकदिन बिहान वा बेलुकाको समय अंग्रेजीको व्याकरण वा अन्य केही सिकाउन सक्छु कि? यसमा आफ्नो पेसा, व्यवसाय, दक्षता वा रुचिअनुसार केह्री योगदान गर्न सकिन्छ। यसमा हामीले चर्चित चिकित्सक गोविन्द केसीको उदाहरण लिन सक्छौँ। उनी वर्षको कैयौँ पटक औषधि बोकेर निजी खर्चमा नै दुर्गम जिल्लामा दौडन्छन्।
अन्त्यमा, व्यावसायिक जीवनवाट मैले आफ्नो समय निकालेर घरपरिवार, आफन्त वा साथीभाइलाई कतिको समय वा महत्व दिएको छु? व्यवसाय र प्रविधितर्फ मात्र ध्यान दिँदा कतै म एकोहोरो, एक्लो वा भित्रभित्रै खोक्रो त भएको छैन? आफ्नै स्वास्थ्यको पनि समय समयमा ख्याल गरेको छु वा छैन!
स्वस्थ जीवन, पारिवारिक सुख भए मात्र मैले मेरो समाज र देशको लागि केही गर्न सक्छु। यसतर्फ म कति सचेत छु?
मैले आफूले गर्न सक्ने र मिल्ने काम कुरा गरे पो अरुतिर प्रश्न गर्ने नैतिकता मसँग बाँकी रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।