काठमाडौं- मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै दिवंगत पितृको सम्झना गर्दै शतबीज छरिएको छ। हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका हुन्।
बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ। हेमाद्री लगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनो लगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन्।
त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ।
पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट लगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भिड लागेको छ।
यस वर्ष बाला चतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए।
बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन्। शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।