काठमाडौं– ‘राहु, शनि र संकटाको नाश, भविष्य बनाउने आस।’
भारतीय मूलका एक ज्योतिषी काठमाडौंको रत्नपार्कअगाडि चर्को स्वरमा कराउँदै थिए।
त्यतिकैमा आइपुगे एक युवा।
ज्योतिषीले उनलाई प्रश्न गर्न थाले, ‘नाम के परो हजुर?’
‘दीपक राई।’
‘कहाँ बस्नुहुन्छ?’
‘घर त ताप्लेजुङ हो। विदेश जान भनेर हिँडेको।’
‘ए... कुन देश?’
‘दुबई। त्यही त कस्तो हुन्छ भनेर नि! दशाग्रह हेर्नुहुन्छ हो?’
‘भैहाल्छ नि। बरु हात देखाउनु त,’ ज्योतिषी हतारिँदै बोल्छन्, भारतीय लबजमा नेपाली भाषा मिसाएर।
हातसँगै उनले ती युवाको अनुहार राम्ररी नियाल्छन्। ज्योतिषीले उनको दुवै हात पालैपालो हेर्छन्।
‘के रहेछ गुरु,’ कौतूहलका साथ दीपक सोध्छन्।
टाउको हल्लाउँदै ज्योतिषीले भने, ‘बहुत अच्छा छ। तर राहुका दिन सुरु भएका छन्। त्यसको लागि एउटा सिक्री लगाउनुपर्छ। सब कुछ ठिक भइजान्छ।’
त्यसपछि उत्सुक हुँदै दीपकले आफ्ना विगत खोल्छन्, ‘पहिला पनि विदेश जान खोजेको थिएँ। तर,भएन। यसपालि भिसा लागेको छ। यो के कारण रैछ गुरु?’
‘पहिला तपार्इंको शनिसंकटा थियो। अहिले शनि सकियो अब राहु सुरु भयो,’ कुनै तपस्वीझैं उनी भविष्य बताउन थाल्छन्, ‘ बरु जल्दी बुटी बाँधिहाल्नुस्। सब कुछ ठिक भैजान्छ।’
ज्योतिषी हरेक कुरालाई बुटीमा लगेर टुंग्याउन खोज्छन्। सिधासादा दीपक आफू ज्योतिषीको चंगुलमा फसेको पत्तो पाउँदैनन्।
दीपकलाई पनि राहु खेदाउनुछ। उनी आफ्नो गलामा बुटी बाँधिदिन ज्योतिषीलाई आग्रह गर्छन्। ज्योतीषीले मन्त्र जपेझैं गर्छन्। र, दीपकलाई दुवै आँखा बन्द गर्न अह्राउँछन्।
दीपक आँखा बन्द गर्छन्। अनुहारको भाव पढ्दै ज्योतिषीले गलामा कालो सिक्री लागाइदिन्छन्।
त्यसपछि हर्षित हुँदै दीपकले ज्योतिषीलाई सोध्छन्, ‘कति रुपैयाँ दिऊँ गुरु?’
ज्योतिषी पुलकित हुँदै भन्छन्, ‘तिमी मेरो बेटा जस्तै छौ। अरु केही पर्दैन। त्यो बुटीको ५ सय मात्र दिनु। अरुलाई भए १ हजार लिन्थेँ। तिमीलाई भनेर ५ सय।’
ज्योतिषीको वाक्य पूरा हुन नपाउँदै ५ सयको नोट हातमा थमाइदिन्छन्।
‘जय सम्भो! भगवान् सधैं तिम्रै साथमा हुनेछन्।’
ज्योतिषीलाई धन्यवाद दिँदै गलामा सिक्री छामेर दीपक त्यहाँबाट बिदा हुन्छन्। लगत्तै नजिकैका अर्का भारतीय ज्योतिषीले उनलाई इसारा गरेर सोध्छन्, ‘कित्ना?’ उनले पनि इसारामै हातको पन्जा देखाउँछन्।
OOO
यो काठमाडौं रत्नपार्क अगाडिको दृश्य हो। जोगीको भेषमा लहरै बसेका नक्कली ज्योतीषीहरू यसरी नै हजारौं कमाउन अभ्यस्त छन्।
पशुपति लगायत हरेक मन्दिरको असापास वा सडकका विभिन्न ठाउँमा नक्कली ज्योतिषीको व्यापार राम्रै चलेको छ। उनीहरू आफ्नो परिचय दिन डराउँछन्। कसैले फोटो खिच्यो भने अनुहार लुकाउँछन्। आफ्नो बारेमा खुलेर बोल्दैनन्। बरु अरुको भविष्यवाणी गर्ने भन्दै १ सय देखि २ हजारसम्म पैसा असुल्छन्।
हचुवाको भरमा भविष्य बताउने नक्कली ज्योतिषीले युवालाई हतोत्साही गराउँछन्। बुटी बाँधेन भने वा आैंठी लगाएन भने विभिन्न ग्रहले दु:ख दिने भन्दै नरम शैलीमा धम्की दिन्छन्।

भारतको हैदराबादबाट ३ वर्षअगाडि आएको बताउने एक ज्योतीषीले आफूजस्तै ५० जना ज्योतिषी काठमाडाैंमा रहेको बताए।
फलामका सिक्री र आैंठी बेचेर काठमाडाैंबाट दैनिक लाखौं रुपैया भारतीय नक्कली ज्योतिषीले लैजाने गरेका छन्।
विभिन्न सहर बजारमा अड्डा जमाएका ज्योतिषीले युवाको मानसिकतामा गलत धारणा विकास गराएका हुन्छन्। यसकारण बेरोजगार भएर डिप्रेसनमा परेका युवा झनै बढी हतोत्साहित हुन पुग्छन्।

आफूले पहिला यस्तै ज्योतिषीलाई हात देखाउँदा सबै झुट भएको बताउँछन्, उमेश अधिकारी। ज्योतिषीको कारण आफू झन्डै गलत बाटोमा हिँडेको उनको अनुभव छ।
यसरी युवाको भविष्य हेर्ने बहानामा नक्कली ज्योतिषीले नपालकै भविष्य बिगारिरहेका छन्। यिनीहरुमाथि निगरानी र नियन्त्रण गर्ने प्रयास कतैबाट भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।