काठमाडौं– सडक किनार र बिजुलीका पोलमा टाँसिएका तस्बिर सरकारले च्यातेपछि निर्मलाका निम्ति न्याय माग्दै संघर्ष गरिरहेका अभियानकर्ताहरुले नयाँ शैली अपनाएका छन्।
उनीहरुले तुलनात्मक साना आकारका पोस्टर बनाएर ल्यापटप, झोला, ज्याकेट तथा सवारी साधनमा टाँस्ने अभियान थालेका हुन्।
सोमबार एक समूहले काठमाडौंको नयाँ बसपार्कबाट बाहिरिने सवारी साधनमा निर्मलाको फोटो सहितको फोटो टाँसेर न्यायको माग गरेका हुन्। उनीहरुले नयाँ बसपार्कबाट देशका विभिन्न ठाउँमा पुग्ने बस तथा काठमाडौं उपत्यकाभित्र मात्रै चल्ने गाडीहरुमा पनि पोस्टर टाँसेका छन्।
सामाजिक सुरक्षा कार्यक्रम घोषणाअघि प्रधानमन्त्रीको फोटो अंकित पोस्टर काठमाडौंको सडक किनारामा टाँसिएका थिए। पोस्टरमा 'नयाँ युगको सुरुवात' लेखिएको थियो। कार्यक्रम घोषणा समारोहमा पनि प्रधानमन्त्रीले त्यही पोस्टरतिर संकेत गर्दै 'अझै सरकार देख्नुभएन' भन्दै प्रश्न गरेका थिए।
निर्मलाका निम्ति न्यायका अभियानकर्ताहरुले अर्को रात 'सरकार भेटियो, न्याय भेटिएन' उल्लेखित उस्तै ढाँचाको पोस्टर बनाएर सडक छेउछाउ टाँसेका थिए। त्यस्ता पोस्टर देशका अन्य सहरमा पनि टाँस्न थालिएको छ। तर, सरकार भने पोस्टरप्रति असहिष्णु देखिएको छ। उसले त्यस्ता पोस्टर टाँस्न थालेपछि पछिल्ला दिनमा नयाँ शैली अपनाउन थालिएको हो।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।