• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

ती हाम्रा दिन गै गए!

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  ०७:०२
1140x725

—लक्ष्मी जयन्ती विशेष—

 

देवकोटा कस्ता? मानिसहरु मसँग सोध्छन्।

 

उनी नेपालीका प्रिय कवि, आफ्नो प्रिय व्यक्तित्वको सानै झाँकीले पनि आत्मतृप्ति दिन्छ- श्रद्धाको फल नै तृप्ति हो। कविको व्यक्तिको सानै सूचनाले पनि उसको कृतिको अर्थ सधार्छ, प्रभातको एकै किरणले फूलको रङ उघारे जस्तै। जसले देवकोटालाई देख्न पाएनन्, तिनी उनका समकालीन हामीहरुलाई छोएर उनलाई छुन चाहन्छन्। अमर कवि हाम्रा जनमानसमा छाएका छन्।

 

देवकोटाजी कस्ता होलान्?

 

Ncell 2
Ncell 2
nimb
nimb

१९९५ सालतिर मलाई पनि कौतूहल लाग्यो। तिनताका मुनामदन भर्खरै निस्किएको थियो। म पनि वार्णिक छन्दमा कविता लेख्ने गर्थें। मुनामदन पढ्दा मेरो मनमा एक विम्ब बन्यो- अग्लो, गोरो, उत्साही र उदार एक युवाको विम्ब। त्यो मदन पनि थियो र लक्ष्मीप्रसाद पनि थियो। मैले देवकोटाजीलाई देखेको थिइनँ।

 

एकदिन बिहान मैले देवकोटाजीलाई देखेँ- यत्तिको निम्ति म उनको डिल्लीबजारस्थित घरमा पुगेको थिएँ। तीनतले घरको छिँडीको दलानको पूर्वपट्टिको अँध्यारो कोठामा उनी थिए। हृष्टपुष्ट शरीर, फराकिलो निधार, केही घुम्रेको कालो कपाल, प्रशस्त खातापाता, सेता दन्त पंक्ति, रौं उभ्रिएको विशाल छाती- जो ओढेको ऊनी मण्डी आधा खुलेर देखिइरहेको थियो, तामा तडी, संगीतमय आँखा- जसबाट स्नेह बर्सिरहेको थियो। उनी अदम्य वीर र शान्त तपस्वी जस्तो लागे। रथमा इन्द्रको साथमा बसेर ऋचा गाउने वैदिक ऋषि जस्ता लागे। कल्छ्याउँदो वर्ण र जिउको मोटाइ हटाइदिने हो भने मैले कल्पना गरेको मदन जस्तै।

 

Xtrem

Xtrem

उनको बोलाइमा पुरुषोचित गम्भीर स्वर रहेछ। उनी ट्युसन पढ्न आएका दुई छात्रसँग हँसीठट्टा गर्दै थिए। तिनमा एक छात्र गोरो र मोटो बाबुसाहेब रहेछन्। 'कुनै त भरेङमुनि बाबुसाहेब हुन्छन् नि' भनेर उनी खिसिक्क हाँसे। कतै क्यै चुक भयो कि को भावमा फेरि सम्हालिए। बाबुसाहेबले घडीको निबन्ध कसरी लेख्ने भनेर सोधे। देवकोटाका आँखामा गेडी गेडी केही घुमे- कतै संगीत सुने जस्तै र क्यै सोचे जस्तै। उनले दुई औंला बाबुसाहेबतिर तेर्स्याए- त्यो चुरोट समात्ने मुद्रा रहेछ।

 

एक सर्को चुरोट तानिसकेपछि दायाँतिर आधा ओठ खोलेर अर्को शीतल सर्कोले हावा ताने। अनि एकै छिन आँखा चिमचिम गरेपछि उनी मुस्कुराएर र 'लौ त' को भावमा शिर केही झड्कारेर उनी निबन्ध बोल्न थाले। मुटुको घन्टी कसरी बज्छ, अन्तचेतनाले कसरी गणित गर्छ र ठिक समयमा हामीलाई सम्झाउँछ, प्रकृतिका सहज भाषामा धाराप्रवाहले बोल्दै आएका थिए। यही थियो देवकोटाको पहिलो दर्शन। कुनै कविको कविता मधुर लाग्छ, स्वयं कवि कर्कश भेटिन्छ, तर कवि देवकोटालाई भेट्दा ज्युँदो कविता जस्तो लाग्यो।

 

१९९९ सालतिर देवकोटा भाषानुवाद परिषद्‌मा आए। त्यसका अध्यक्ष पुष्कर शमशेरसामु अन्तर्वार्ताको रुपमा 'वन' निबन्ध बोलेर लेखाए। उनी जेमा पनि निबन्ध लेख्न सक्थे। एकदिन पानी परेको बेला समितिको कार्यालयभित्र भिजेको छाता देखाएर श्री बालकृष्ण शमशेर (समितिका अध्यक्ष) ले त्यसको निबन्ध गर्न भने। छाता गोबर्द्धन बन्यो, छाता आकाश बन्यो- देवकोटा झरीको स्वरमा धेरै धेर बोलिरहे। उनी आएपछि त्यहाँको साहित्यिक वातावरणमा वसन्त फैलियो। सम प्रायश: परिषद्मा आउँथे, गोपालप्रसाद रिमाल, बदरीनाथ भट्टराई, पूर्णप्रसाद र म सबै परिषद्का मौलिक ग्रन्थ लेख्तै थियौं, हामी सबै देवकोटाका निबन्ध, कविता सुन्थ्यौं, उनी केन्द्र जस्तै थिए। 

 

देवकोटा र सम- यी दुई महारथी बहस गर्न थालेपछि हार्न जान्दैनथे। नास्तिकताको पक्ष समले लिए भने देवकोटा आस्तिकताको पक्ष लिन्थे। एकदिन चर्चैचर्चामा देवकोटाले भने, 'म हजुरहरुकै (सत्र भाइ खलककै अर्थात् राणातन्त्रकै) विरोधमा पनि लेखिदिन सक्छु, हजुरहरुलाई नै थाहा हुनेछैन।' भन्दै देवकोटाले एक निबन्ध 'लुते कुकुर' लेखेर ल्याए। त्यसमा आफ्नो सहज शक्ति हराएको लुते कुकुरलाई सहज शक्तिसम्पन्न बनेर हुँडारसँग लड्ने आह्वान थियो र त्यसभित्र प्रजालाई दास र आफूलाई स्वामी सम्झने राणालाई ललकार थियो। यही संकेतको गन्ध पाएर होला, पुष्कर शमशेरले त्यो निबन्धलाई आपत्तिजनक भने। 

 

लामो बहसपछि 'म कतै हिन्दुस्तान जाँदा यस्तो देखेँ' भनेर प्रारम्भमा लेख्ने हो भने निबन्ध स्वीकृत हुन सक्छ भनेर पुष्कर शमशेरले भने। भाषानुवादमा तीन वर्ष देवकोटाका साहित्यिक उपलब्धिका वर्ष हुन्- यहीँ उनले 'लक्ष्मी निबन्धसंग्रह' लेखे, जसलाई म 'मुनामदन'पछिको देवकोटाको सर्वश्रेष्ठ कृति मान्छु, यहीँ उनले 'शाकुन्तल' महाकाव्य लेखे, जो कवितात्मक महाकाव्यमा सर्वश्रेष्ठ छ। हिउँ परेको वर्ष, माघको ११ बजे उनी त्रिचन्द्र कलेजको कौसीमा हिउँ डल्लो पारेर खेलिरहेका थिए। उनले भने, 'आउनुहोस् हिउँ खेलौं, हामी कवि प्रकृतिका शिशु हौं।'

 

देवकोटाजीको हातको चुरोटलाई म के भनूँ! कृष्णजीको हातको बाँसुरी भनूँ ? नाइँ, यो वा त्यो ठीक भएन, अथवा ठीकै छ- कृष्णले बालककालदेखि समातेको बाँसुरी व्याधाको वाण गोडामा लागिसकेपछि पनि बजाइरहे।

 

देवकोटाजी भाषानुवाद परिषद्‌मा आउँदा म महाकाव्य गोविन्द लेखिरहेको थिएँ। त्यो देख्नासाथ देवकोटाले भने, 'ए नेपालीमा पनि महाकाव्य लेखिँदै छ!' केही महिनामा 'लक्ष्मी निबन्धसंग्रह' लेखिसकेर त्यसपछि 'शाकुन्तल' महाकाव्य थाले। जति ढिलो म लेख्तथेँ, त्यति नै छिटो उनी लेख्थे। अनि समितिको अध्यक्ष बालकृष्ण शमशेर भन्थे, 'एउटा चरो भुइँ मात्र खोस्रन्छ, अर्को चरो उडेर वेग हान्छ र बेपत्ता हुनेछ।' परिषद्‌मा आउनुभन्दा अघिदेखि नै देवकोटाको समस्त शैलीको एक श्लोक चर्चित थियो- 'सुतट मट्टिमान्द्रिलो स्निग्धगोवरी, उफर सानु शावके सानु स्वर्ग छ।' त्यही शैलीलाई अलि सरल बनाएर, त्यही द्रुतविलम्बित छन्दमा देवकोटाजीले शाकुन्तलको प्रथम सर्ग लेखे। 

 

उनको उन्मुक्त कल्पना र अखण्ड प्रवाहको निम्ति साना छन्दहरु सुहाइरहेका थिएनन् र साना छन्दका चार पाउभन्दा बढी पाउ राखेर नयाँ प्रयोग गरिरहेका थिए। एकदिन मैले यो कुराको चर्चा गरेर के सुझाएँ भने, 'कवि जति परिपक्व हुँदै जान्छ, उति लामा छन्दको प्रयोग गर्छ। लेखनाथजीले पनि सत्यसन्देशमा यसै गरे, कालिदासले पनि मेघदूतमा त्यसै गरे, तपाईं पनि त्यसै गर्नुहोस् न।' त्यसबेला त उनले त्यो कुरा स्वीकार गरे, तर भोलिपल्टै आठ अक्षरको दीर्घ र ह्रस्व मात्र भएको सानो छन्दमा कविता लेखेर सुनाए। त्यो मृगयामा जान लागेका दुष्यन्तको रथवर्णन थियो। कविता अत्यन्त सजीव थियो। म चुप लागेँ। केही महिनापछि उनले शिखरिणी-छन्दमा शकुन्तलाविरह लेखे- 'कसोरी बिर्सेको?…' 

 

त्यो सुनेर पुष्कर शमशेरजीका आँखाबाट आँसु झरे। अनि मैले देवकोटाजीलाई भनेँ, 'तपाईंले प्रथम सर्ग पनि लामो छन्दमा लेख्नुभएको भए यस्तै सफल हुने थियो। त्यो अस्पष्ट छ, रोटो छ।' त्यसको दुवै दिनमा उनले प्रथम सर्गलाई शार्दूलविक्रीडितमा लेखेर सुनाए। अनि मैले भनेँ, 'हो, बल्ल मैले भने जस्तो भयो।'

 

देवकोटाजीको हातको चुरोटलाई म के भनूँ! कृष्णजीको हातको बाँसुरी भनूँ? नाइँ, यो वा त्यो ठिक भएन, अथवा ठिकै छ- कृष्णले बालककालदेखि समातेको बाँसुरी व्याधाको वाण गोडामा लागिसकेपछि पनि बजाइरहे। रवीन्द्रनाथ बाँसुरीलाई सम्बोधन गरेर भन्दछन्, 'बाँसुरी, तँ अमृत पनि र गरल पनि, हृदय विदारण पनि गर्छस् र हृदय हरण पनि गर्छस्।' देवकोटाको चुरोटले नेपाली साहित्यलाई अमृत समान कविता पनि दियो र आखिर त्यही विषयले क्यान्सर गरायो र हाम्रो बीचबाट उनलाई असमयमै हरेर लग्यो। 

 

देवकोटाजीको लगातार चुरोट खाने बानी ममा पनि सर्‍यो र चुरोट नभई म पनि कविता लेख्न नसक्ने भएँ। चुरोट मैले धेरै बाजि छोडेँ- एक न एक निहुँ पारेर फेरि त्यो खाएँ। २०१५ सालतिर देवकोटाजीको स्वास्थ्य बिग्रिरहेको बेला मैले भनेँ, 'कविजी, तपाईं चुरोट छोड्नुहोस्, म पनि तपाईंको निम्ति छोड्छु।' 

 

खानेकुरो खानासाथ आधा घन्टाजति मुख बन्द गरेर बस्ता नवौं दिनमा चुरोटको तलतल नलाग्ने स्थितिमा म पुगेँ। केही दिनसम्म देवकोटाजीले पनि चुरोट खाएको देखेँ। तर, एकदिन उनको घरमा जाँदा उनी बैठके हुक्कामा रबडको नली लगाएर तमाखु तानिरहेका रहेछन्। उनी हाँसे र भने, 'यो नभई म लेख्नै सक्तिनँ, नलेखी बाँच्नै सक्तिनँ। हुक्काको पानीले निकोटिन छान्छ।' त्यसपछि दुवै जनाले नखाएको बेलाको ब्याजै समेत उपर गर्नेगरी फेरि चुरोट खान थाल्यौं।

 

भाषानुवाद परिषद्‌मै छँदाको कुरो हो। एकदिन श्री पूर्णप्रसाद दवाडी (ब्राह्मण) ले भने, 'तपाईंको कल्पनाशक्ति अद्भूत छ, संस्कृतका महाकवि श्रीहर्षको पनि यस्तै कल्पनाशक्ति थियो।' देवकोटाले श्रीहर्षको महाकाव्य पढ्न खोजे, मैले 'नैषध' लगेर दिएँ। त्यसको केही दिनपछि समितिको अगाडि नउस्मा फागुनको आरुको बोटमनि बसेर देवकोटा केही लेखिरहेका थिए। उनले संस्कृतमा वसन्त वर्णन लेखेका रहेछन्। उनले ब्राह्मणजी र मलाई त्यो सुनाएर हाम्रो प्रतिक्रिया मागे। हामीले भन्यौं, 'व्याकरण मिलेको छैन, कविता सुन्दर छ।' उनले भने, 'तपाईंहरुको संस्कृत भाषामा पनि लेखिहेरुँ, कस्तो हुँदो रहेछ भनेर प्रयास मात्र गरेको हुँ। कविता बुझियो भने व्याकरणको केही कुरा छैन।'

 

'शाकुन्तल' महाकाव्य लेखिसकेपछिको कुरा हो। देवकोटाजी र म टुँडिखेलमा डुल्दै थियौं। उनले भने, 'आजभोलि म अंग्रेजीमा शकुन्तला लेख्तै छु। आज त लेख्तालेख्तै रात पनि बितेछ, बिहान धोबिनी बासेपछि मात्रै थाहा पाएँ। करिब-करिब सिद्धिन लाग्यो। नोबेल प्राइजमा दिऊँ जस्तो लागेको छ, कसो हुन्छ। टाइप गर्नु छ, जाऔं असनतिर डुल्दै सुगत दासको पसलमा, टाइप गर्ने कागत पाइन्छ कि।' त्यो रचनाको टाइए भएको केही अंश मैले पनि देखेको थिएँ। उनी स्वर्गे भएपछिका रिक्ताका दिनमा मेरो मनमा लागिरह्यो- नोबेल प्राइजको उमेद गर्न सक्ने नेपाली साहित्यको एक महत्वाकांक्षा बीचैमा भाँच्चियो।

 

डाक्टरले ४८ घन्टाको अवधि दिएको थियो। आठ बजेतिर म पुग्दा देवकोटाको स्थिति अर्कै थियो- जीवनमा पहिलो बाजि उनलाई मैले आत्तिएको देखेँ। उनले भने, 'रगत दिने अफर मकहाँ आइरहेछन्। भैगो, अब अर्काको रगतमा कति बाँचूँ, जति बाँचे पनि जानै छ।'

 

२०१२/१३ सालतिर एक विदेशी विद्वान्‌ले आएर काठमाडौंमा 'स्पेरान्तो' विषयमा विद्वतापूर्ण गरे। त्यो सभामा देवकोटाजी पनि थिए। त्यसको केही दिनपछि म देवकोटाकहाँ जाँदा उनी ठूलो कापी पल्टाएर लेखिरहेका थिए। उनी एउटा नयाँ भाषा बनाउन लागेका रहेछन्- स्पेरान्तो जस्तै। त्यो कापी त्यसैको कोश रहेछ। त्यो बेला त्यकास दुई पृष्ठ मात्र लेखिएका थिए। उनले भने, 'यो एउटा सानुतिनु महाभारतै हुन्छ।' त्यस विश्वभाषाको नाउँ राखेका रहेछन्- 'भोरल भाक्का।' सायद त्यो नाम संस्कृतको भुवर्लोक-भाषा र अंग्रेजीको वर्ल्ड भ्वाइसको ध्वनिसाम्य र अर्थसाम्यमा राखिएको होला। त्यो विश्वभाषाकोशको तेस्रो पृष्ठ लेखिएको मैले देखिनँ। देवकोटाजीलाई प्रकृतिले बोलाउँथ्यो। उनी तपस्या गर्न जाऔं भन्थे। 

 

एकदिन फागुनको महिनामा स्वयंभूवन डुल्दै सरस्वतीस्थान पुग्यौं। त्यहाँ स्तुति गायौं- 'कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति।' त्यसपछि स्वयम्भूशिखरमा पुग्यौं। देवकोटाजी बौद्ध स्तूपका माने घुमाउँदै हिँडे र बुद्धका ज्ञान र करुणामा अर्ध-उन्मिलित आँखा अगाडि उनले पनि त्यसरी आँखा चिम्लेर ध्यान गरे। अनि त्यहीँ सरस्वतीस्थानमा गाएको शिखरिणी छन्दमा स्वत:स्फूर्त कविता गाउन लागे। २४/२५ श्लोक रचिसकेपछि उनका आँखा खुले- उनको अश्रुपूरित प्रसन्न अनुहारमा अपार शान्ति र अनौठोको तृप्ति थियो। मलाई लाग्यो- 'देवकोटाजी धर्म र सम्प्रदायभन्दा पनि माथि ऋतम्भरा तत्र प्रज्ञाको भूमिका पुगेका कवि हुन्।'

 

एकदिन भाषानुवाद परिषद् छँदा देवकोटाजीले आफ्नो बायाँ कोखतिर देखाएर मलाई भनेका थिए, 'मैले आफ्नो संस्कार छोडेँ, भास्सिएँ। मेरो यहाँ एक खाडल छ, अन्धार छ।' प्रकृतिका उज्ज्वलतामा सत्यलाई देख्ने, हृदयको निर्मलतामा ईश्वरको अनुभूति गर्ने देवकोटाको यो विरक्ति ! उनलाई मैले उनका कवितामा यिनै उदार उपलब्धिको उल्लेख गरेर सान्तवना दिन खोजेँ। तर, उनले भने, 'यो अन्धकारले मेरा बालबच्चालाई निल्यो भने के गर्ने ?' १५ वर्षपछि आखिर देवकोटालाई त्यही क्यान्सर भयो। यो संयोग मात्र थियो कि कुनै अज्ञात घाउको परिणाम थियो ? म केही भन्न सक्तिनँ। तैपनि उनका घाउ पाइँदैनन्। बाटो भुलेर धरतीतिर आएको त्यो देवदूतले ज्वालामा उभिएर फूलका गीत गायो। जीवनमा केही सुख-सुबिस्ता हुने बेलामा ऊ हाम्रो माझबाट उठेर गयो।

 

शान्त भवनको एक साँझ ! देवकोटाजी क्यान्सरसँग जुधिरहेका थिए। मृत्यु निश्चित जस्तै थियो, उनी हारेका थिएनन्। उनले डाक्टर मिलरको सामु बिहानदेखि बेलुकासम्मको हाम्रो दिनचर्चा बताए, असह्य पीडासँग जुधिरहेको प्रमेथिसका कविता बोलेर मेरो टेपमा भरे। त्यो साँझ श्री रामहरि शर्माले भने, 'साहिँला दाइ ! यो बेला कस्तो लाग्छ- परलोक र ईश्वरको विषयमा कस्तो अनुभव गर्नुहुन्छ ?' देवकोटाले भने, 'खै, अन्धकार मात्र देख्छु, कतै उज्यालो छ कि भनेर हेर्छु, तारा कहीँ देख्तिनँ।'

 

शान्त भवन अस्पतालको एक बिहान ! अब देवकोटालाई रगत दिन थालिएको थियो। डाक्टरले ४८ घन्टाको अवधि दिएको थियो। आठ बजेतिर म पुग्दा देवकोटाको स्थिति अर्कै थियो- जीवनमा पहिलो बाजि उनलाई मैले आत्तिएको देखेँ। मैले भनेँ, 'विद्यार्थीहरु चाहिँदो रगत दिन तयार छन्, बाँचे उपाय लाग्छ।' उनले भने, 'रगत दिने अफर मकहाँ आइरहेछन्। भैगो, अब अर्काको रगतमा कति बाँचूँ, जति बाँचे पनि जानै छ।'

 

एकान्तमा उनी कुनै छायाले छोपे जस्तै टोलाएर बस्थे र श्रीमतीलाई आफ्नै आन्तरिक पीरले पिरल्थे। ती गृहिणी उपर कति ठूलो भार थियो- यो कसैलाई थाहा छैन।

 

तासकन्दमा हुने द्वितीय अफ्रो-एसियाली लेखक सम्मेलनमा भाग लिन नेपाली लेखकको तर्फबाट लक्ष्मीप्रसादज्यू र म जाने निधो भयो। लक्ष्मीप्रसादज्यूकी श्रीमती पनि साथैमा जाने केही दिनपछि बन्दोबस्त भयो। हामी आफ्नो नेपाल राष्ट्रको तर्फबाट नेपाली साहित्यकारको प्रतिनिधित्व गरेर जान लागेका थियौं। त्यसैले उहाँ पढ्नको निम्ति आफ्नो उत्तरदायित्वको अनुरुप एक रिपोर्ट तयार पार्नतिर सर्वप्रथम हाम्रो ध्यान गयो। प्रज्ञा-प्रतिष्ठानका तत्कालीन उपकुलपति श्री बालचन्द्र शर्माज्यूले पनि यसमा विशेष दिलचस्पी राखेर एक रिपोर्टको मस्यौदा तयार पार्नुभएको थियो, तर लक्ष्मीप्रसादज्यूले त्यो रिपोर्ट कुन्नि किन आफ्नो साथमा लिनुभएन। जाने तीन दिन बाँकीमा म लक्ष्मीप्रसादज्यूकहाँ गएँ। कविजी रुसमा सुनाउने कविता लेख्न व्यस्त थिए- कापीको दायाँतिर पत्रमा नेपाली कविता लेख्तै त्यो पत्र नपल्टाईकन नै बायाँतिर अंग्रेजीमा त्यसको अनुवाद पनि गर्दै थिए। आफ्नो प्रतिभाको प्रभावलाई आफैंले त्यसरी नियन्त्रित गरेको देखेर म छक्क परेँ। मलाई चाहिँ विशेष चिन्ता रिपोर्टकै थियो, तर कविजीले भने 'रिपोर्ट तपाईं नै तयार पार्नुहोस्, पछि दुवै जनाले छलफल गरौंला।' 

 

दिल्लीसम्म हामीले आफ्नै बन्दोबस्तमा जानु थियो, त्यसको तयारी पनि गर्नु थियो। प्रज्ञा-प्रतिष्ठानबाट बिदा लिनु र श्री ५ को सरकारबाट पारपत्र प्राप्त गर्नु पनि थियो, तर कविजी कवितैमा व्यस्त थिए। जाने दिन बिहान कविजीले आएर भने, 'सर्दार साहेब (श्रीहंसमान) सँग भेट भयो, उहाँले भन्नुभयो- बिदा स्वीकृत भयो, गए हुन्छ।' अघिल्लो दिन पारपत्र बिनसकेको थिएन, आज सिंहदरबार नखुल्दै हवाईजहाज उड्ने थियो। गौचर (त्रिभुवन विमानघाट) बाट कविजीले तत्कालीन परराष्ट्र मन्त्री सुवर्ण शमशेरलाई फोन गर्नुभयो। परराष्ट्र मन्त्रीकै सल्लाह अनुसार दिल्लीमा हाम्रो दूतावासमै पारपत्र बनाउने निधो गरेर हामी पटनातिर उड्यौं। गौचरनदेखि तासकन्दसम्मको पूरा यात्रामा मलाई एक कुराको अनुभव भयो- कविजी हाम्रो साथमा रहेर पनि हामीदेखि अलग्गै छन्। कुनै मानसिक पीरमा उनी आत्मलीन थिए। 

 

चुरोट उनको अभिन्न साथी थियो, हवाईजहाज चढ्नुभन्दा पहिले उनी चुरोटको ठुटा गोडाले निभाउँथे र अनि हवाईजहाजभित्र धूमपान निषेध गर्ने बत्ती निभ्नासाथ चुरोट खान सुर गर्थे। कुनै काम गर्नको निम्ति अब हामी सम्झाउँथ्यौं अनि उनी झस्कन्थे। तैपनि नयाँ मानिससँग भेट हुँदा उनी विनयी र अदम्य जस्तै बनेर कुरा गर्थे। अनि एकान्तमा उनी कुनै छायाले छोपे जस्तै टोलाएर बस्थे र श्रीमतीलाई आफ्नै आन्तरिक पीरले पिरल्थे। ती गृहिणी उपर कति ठूलो भार थियो- यो कसैलाई थाहा छैन। कविजीलाई पेटको क्यान्सर भएको थियो र केही दिनअघि कलकत्तामा त्यसको अपरेशन भइसकेको थियो, तर घरका मानिसहरुले क्यान्सरको रिपोर्ट लुकाएर अल्सर भएको हो भनेका थिए। यसै भन्नको निम्ति यात्राको आरम्भमा मलाई पनि उनीहरुले सतर्क गरेका थिए।

 

सबै प्रसन्नताको भित्र पनि मेरो मनमा एक दुःख थियो। मैले उनको क्यान्सरको व्यथाको कुरा लुकाएको थिएँ र एक अचिन्तनीय पीरका कारणमा पनि आफ्नो देशको इज्जतको निम्ति मैले उनलाई उचालिराखेको थिएँ।

 

तासकन्दमा पुग्नासाथ हामी सम्मेलनमा भाग लिन र देशान्तरका साहित्यकारसँग भेटघाट गर्न व्यस्त रह्यौं। सम्मेलन भवनको अगाडि अफ्रिका र एसियाका विभिन्न राष्ट्रध्वजसँग हाम्रो सूर्यचन्द्रांकित राष्ट्रध्वज फर्फराइरहेको थियो। सभाभवनमा सबै देशका प्रतिनिधिको साथमा हामी नेपाली समान स्तरमा बसेका छौं। त्यो झन्डामा नेपाल अरु जत्रै थियो, त्यो सभामा नेपाली अरु जस्तै थिए- नेपाल कहाँ सानो थियो, नेपाली केमा कम्ता थियो ! आफ्नो प्रतिनिधित्वको भारलाई मैले गुरुत्तर सम्झेँ र कविजीलाई भनेँ- 'हाम्रो रिपोर्ट तपाईंले हेर्नुपर्ने। त्यसको अनुवाद गर्न बाँकी नै छ। तपाईंले नहेरी मलाई आत्मविश्वास पनि हुन्न।' तर कविजी भन्थे- 'पर्खनुहोस्, हाम्रो पालो तेस्रो दिनमा छ।' साहित्यको रिपोर्टको चिन्ताभन्दा पनि ठूलो आफ्नै व्यथाको रिपोर्टको चिन्ता उनलाई थियो।

 

दोस्रो दिन बेलुका अस्पतालबाट फर्क्रिँदा उनी प्रसन्न मुद्रामा थिए। उनले भने- 'आज डाक्टरलाई मेरो अल्सर देखाएँ, औषधि खान दियो, पेटै माझे जस्तो भयो। अब मलाई बिसेक हुन्छ।'

 

उनी प्रसन्न थिए, तर कविपत्नी र म चिन्तित थियौं। रात्रिभोजपछि उनले बल्ल मेरो रिपोर्ट सुने र सज्जनतावश भने, 'चाहिने बुँदा परेकै छन्, तैपनि म एकबाजि विचार गर्छु।' बिहान उज्यालो हुन धेरै नै बाँकीमा उनले मलाई रिपोर्ट पढेर सुनाए। रिपोर्ट अत्यन्त सुन्र भाषामा लेखिएको थियो। मैले भनेँ, 'त्यसै हुनाले मैले तपाईंलाई लेख्नुहोस् भनेको कविजी ! यसले हाम्रो इज्जत राख्छ।'

 

त्यस रिपोर्टमा उनले हाम्रो साहित्यिक परम्परालाई बाल्मीकि र व्याससम्म पुर्‍याउँदै भनेका थिए, 'उनीहरु आकाशमा ज्यादा उड्छन् र धर्तीलाई कम मात्र छुन्छन्।' उनले भानुभक्तकहाँ आइपुगेर भनेका थिए, 'लोकको गरुँ हित भनी प्रारम्भ गरिने हाम्रो साहित्य सधैं जनताको पक्षमा लेखिएको छ।' उनले वर्तमान साहित्य बढी उत्साहवर्द्धक र अन्तर्राष्ट्रियतिर सचेत भएको उल्लेख गरेका थिए। हाम्रो रिपोर्ट पढ्ने अवसर आएपछि कवि लक्ष्मीप्रसाद आफ्नो प्रभावकारी व्यक्तित्वसाथ मञ्चमा उभिए। उनको अंग्रेजीमा पढ्ने ओजस्वी तरिका र कवितामय शैलीले सभा मन्त्रमुग्ध भयो। रिपोर्ट पढिसक्नासाथ तालीको गडगडाहटले सभाभवन धेरै बेरसम्म गुञ्जिरह्यो। अनि नेपाली प्रतिनिधितिर विस्मय विस्फारित आँखा र क्यामराका झल्याकझुलुक उज्यालो बर्सन थाले। 

 

मध्याह्नमा हामी बाहिर निस्कनासाथ देशदेशावरका साहित्यिक र प्रेस प्रतिनिधिहरुले हामीलाई घेर्न थाले। अनि देवकोटाका विनयशील व्यवहार, कवितामय भाषा आकर्षक व्यक्तित्वले सबैलाई मुग्ध पार्‍यो। ती क्षण र ती दिन हाम्रो निम्ति गौरवमय थिए। यी सबै प्रसन्नताको भित्र पनि मेरो मनमा एक दुःख थियो। मैले उनको क्यान्सरको व्यथाको कुरा लुकाएको थिएँ र एक अचिन्तनीय पीरका कारणमा पनि आफ्नो देशको इज्जतको निम्ति मैले उनलाई उचालिराखेको थिएँ। आज उनी त्यही व्यथाले गर्दा हाम्रो माझमा छैनन्। उनी भइदिएको भए हाम्रो नेपाली साहित्य छिटै अन्तराष्ट्रमा पुग्ने थियो।

 

('महाकवि देवकोटाका आनीबानी' (२०५५) बाट)

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्