काठमाडौं– तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार, मंगलबार नेपाल प्रहरीले कुकुरको पूजा गरेर मनाउँदै छ। अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गर्दै आएका कुकुरलाई पूजा गर्न नेपाल प्रहरीले प्रहरी महानिरीक्षाक सर्वेन्द्र खनालकाे उपस्थितिमा केन्द्रीय डग स्कूल महाराजगञ्जमा एक कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाउन लागेकाे हो। कार्यक्रम दिउँसाे १:४५ बजेका लागि ताेकिएकाे छ।
_x000D_
_x000D_
विसं २०२६ सालदेखि कुकुर पाल्न थालेको नेपाल प्रहरीले कुकुर तिहारको दिन विशेष कार्यक्रम गर्दै कुकुर तिहार मनाउँदै आएको छ।
_x000D_
_x000D_
नेपाल प्रहरीले विसं २०२६ सालबाट कुकुर सेवाको सुरुवात गरेको थियो। त्यसबेला मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो। उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू देखाइएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेको विवरण जानकारी पाएपछि उक्त टे«निङ पश्चात् नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनी २०२६ सालबाट कुकुर सेवा सुरु गरेको हो।
_x000D_
_x000D_
पछि नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना नै गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको थियो। उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै बनाएको छ। त्यस्तै प्रहरीले तत्कालीन पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको समेत स्थापना गरेको थियो।
_x000D_
_x000D_
प्रहरीसँग अहिले काठमाडौं, पोखरा, कोहलपुर, हेटौंडा र धरानमा गरी ७८ वटा तालिमप्राप्त कुकुर छन्।
_x000D_
_x000D_
नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। सुरक्षामा कुकुरको सहयोग लिनु विश्वव्यापी परम्परा नै बनेको छ।
_x000D_
_x000D_
अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम, लागूऔषधको परीक्षण गर्ने हाइपर्फरमेन्स थिन लेअर क्रोम्याटोग्राफी (एचपीटीएलसी) जस्ता प्रविधि छन्। यी बोहक अनुसन्धानमा प्रहरीको अर्को भरपर्दो विधि हो, कुकुर।
_x000D_
_x000D_

_x000D_
_x000D_
आइतबार मध्यराति बर्दियाको बढैयाताल गाउँपालिका–३ गोबरियापुरका भैंसी व्यापारी ३५ वर्षीय मोहन खटिकको गोली हानी हत्या भएको थियो। बर्दिया प्रहरीले खटिकको हत्या अनुसन्धानमा नेपालगञ्जबाट कुकुर मगाएर स्नाफिङ गराएको थियो। कुकुरकै सहायताले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीले बताएका छन्। कुकुरको सहायताले अपराधी पत्ता लगाएको यो त एउटा उदाहरण मात्रै हो। प्रहरीले धेरैवटा जटिल केस समेत कुकुरकै सहायताले पत्ता लगाएको छ।
_x000D_
_x000D_
कुकुरले पत्ता लगाएका ठूला अपराधका घटना
_x000D_
–२०४० सालमा दोलखाको चरिकोटमा एकै परिवारका चारजनाको बिभत्स हत्या भयो। हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन। प्रहरीले डग स्कुल काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई।
_x000D_
_x000D_
हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाँङमा फालेको ‘नानी’ले पत्ता लगायो। त्यही खुकुरीको बिँड सुँघेर ‘नानी’ले हत्यारा पत्ता लगाएको थियो। हत्या गर्ने व्यक्ति थिइन्, शोभा श्रेष्ठ। उनले घरायसी विवादमा आफ्नै काका, काकीसहित चार जनाको हत्या गरेकी थिइन्। हत्यापछि नुहाएर कोठमा सुतिरहेका बेला ‘नानी’कै सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
_x000D_
_x000D_
–बाराका पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परे। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उनको खोजी गरे। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लागेन। एक महिनापछि साहको खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो।
_x000D_
_x000D_
ब्ल्याकीले दुई दिनपछि कात्तिक २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगायो।
_x000D_
_x000D_

_x000D_
_x000D_
–२०७४ जेठ ९ गते ललितपुरको गोदावरी नगरपालिका–११, बस्ने ४० वर्षका दीपक दमाईको हत्या भयो। उनको शव छम्पी र चापागाउँबीचको खोल्सामा फालिएको थियो। अनुसन्धान गर्न जर्मन सेफर्ड जातको ‘लिजा’ कुकुर परिचालन गरियो। घटनास्थलमा प्राप्त भएको निलो रंगको सर्ट लिजालाई सुँघाइयो। लिजाकै इसाराअनुसार प्रहरीले सिन्धुपाल्चोक घर भई चापागाउँ खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको थियो। पक्राउ परेका पाख्रिन आफैले हत्या गरेको स्वीकार गरे।
_x000D_
_x000D_
–२०५३ साल फागुन १८ गते बुढानीलकण्ठमा ६० वर्षीया वृद्धाको हत्यारा पनि कुकुरले नै पत्ता लगाएको थियो। देवरका छोरा र ज्वाइँले वृद्धाको घाँटी थिचेर हत्या गरेको कुरा कुकुरकै सहयोगमा प्रहरीले पत्ता लगाई पक्राउ गरेको थियो।
_x000D_
_x000D_
–३५ वर्षका देवराज न्यौपानेको २०६२ वैशाख २६ गते सुनसरीको धरान नगरपालिकास्थित पञ्चकन्या मन्दिरमा रहस्यमय तरिकाले हत्या भएको थियो। उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको थियो। अनुसन्धानमा खटिएको ‘आकाश’ नामको कुकुरले शर्मिला लिम्बूलाई संकेत गरेपछि डग ह्याण्डलरले उनलाई हत्कडी लगाए। पछि हत्यारा शर्मिला नै भएको पुष्टि भयो।
_x000D_
_x000D_
काठमाडौं मातातीर्थका विशाल तामाङ घरमा सुतिरहेका थिए। प्रहरीको ‘रोनी’ नामको कुकुरले सुतिरहेका विशालको देबे्र हातमा टोक्यो। हत्यामा संलग्न भन्दै प्रहरीले तामाङलाई पक्राउ गर्यो। सानुकाजीको हत्या भएको ठाउँमा प्रमाणको रूपमा हँसिया फेला परेको थियो। प्रहरीले हँसियाको बिँड रोनीलाई सुँघाए। बिँडमा विशालको गन्ध पाएपछि कुकुरले उनलाई टोकेको थियो। अनुसन्धानबाट मातातीर्थकै ६० वर्षे सानुकाजी तामाङको हत्यारा विशाल नै भएको पुष्टि भयो। यो २०७० पुस २३ गतेको घटना थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
–२०७१ साल असोज १४ गते राति लमजुङको पिप्ले–४, भोटे ओडारमा अर्जुनप्रसाद रेग्मीसहित तीन जनाको हत्या भयो। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराबाट घटनाको अनुसन्धान गर्न ‘ज्वाला’ नामको कुकुर पठाइयो। घटनास्थलमा प्राप्त भएको हँसिया ज्वालाले सुँघेर हत्यारा अर्जुनका छोरा राममणि भएको पत्ता लगाएको थियो।
_x000D_
_x000D_
–बर्दियाको साविकको ठाकुरद्वारा गाविस–४ सुस्ताका ६८ वर्षीय जोरा सिंह थापाको ५ फागुन २०७२ मा हत्या भयो। घटनाको अनुसन्धान गर्न बाँकेबाट जर्मन सेफर्ड जातको ‘भुन्टी’ कुुकुर परिचालन गरियो। घटनास्थलमा भेटिएका कपडाको गन्ध भुन्टीले सुँघ्यो। भुन्टीले घटनास्थलबाट १५ सय मिटर अगाडि खोलाको बाटो हुँदै अपराधी भागेको संकेत गर्यो। भुन्टीकै संकेतअनुसार खोजी गर्दा ठाकुरद्वारा–४ का २३ वर्षे अजित बुढा पक्राउ परे। पछि उनी दोषी ठहर भए। बुढाले पनि भुन्टीले संकेत गरे अनुसार नै आफू भागेको स्वीकार गरेका थिए।
_x000D_
_x000D_
नेपाल प्रहरीले कुकुरको सहायताले अन्य धेरै कामहरू गरेको छ। ठमेल र बसपार्क क्षेत्रबाट कुकुरकै सहायताले प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागू औषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो।
_x000D_
_x000D_
रसुवाको ब्राप्चेको पहिरोमा २०७० माघ १० गते सिभिल इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भएका थिए। ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारेको थियो। भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरिएको थियो।
_x000D_
_x000D_

_x000D_
यी बाहेक भिभिआइपी, भिआइपी सुरक्षाका लागि नेपालमा प्रहरीका कुकुर खटिँदै आएका छन्। भिआइपीहरूको आवतजावत हुने ठाउँमा कुकरले विस्फोटक पदार्थ छ कि छैन भनेर पहिचान गर्ने गरेको डग स्कुलले जनाएको छ। २०७० सालमा पूर्व–अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउँदा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका बेला ‘लियो’, ‘मारियो’ र ‘एक्सी’ कुकुरलाई विस्फोटक पदार्थको खोजी गर्न लगाइएको थियो।
_x000D_
_x000D_
२०७१ साल मंसिर १८ गते ‘जुलेट’ नामक कुकुरले चितवनको भरतपुर–५ स्थित सिमलको रूखमुनि लुकाएको अवस्थामा एउटा कटुवा पेस्तोल, एसएलआरको गोली एक थान र गन पाउडर फेला पारेको थियो।
_x000D_
_x000D_
प्रहरीसँग चार विधाका ७८ तालिमप्राप्त कुकुर
_x000D_
संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये केही प्रजातिलाई मात्रै अपराध अनुसन्धानमा प्रयोग गरिँदै आएको छ। ती मध्ये नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका ७८ वटा कुकुर रहेको डग स्कूलकी एसएसपी देउती गुरुङले बताइन्।
_x000D_
_x000D_
यी कुकुरलाई प्रहरीले ट्रयाकर डग, एक्सप्लोसिभ डग, सर्च एण्ड रेस्क्यू डग, ड्रक्स सर्च डग गरी चार विधामा वर्गीकरण गरी अनुसन्धानमा लगाउने गरेको छ।
_x000D_
_x000D_
तीन महिनाको आधारभूत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरेको एसएसपी गुरुङले बताइन्।
_x000D_
_x000D_
ट्रयाकर डगलाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ। भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन एक्सप्लोसिभ डगको प्रयोग गरिन्छ।
_x000D_
_x000D_
बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपदमा परेर हराएकाको खोजी गर्न सर्च एण्ड रेस्क्यू डगको प्रयोग गरिन्छ भने ड्रक्स सर्च डग विधाका कुकुर लागू औषध सम्बन्धी अनुसन्धान गर्न प्रयोग गरिन्छ।
_x000D_
_x000D_
‘घटनास्थल सुरक्षित राखौं, प्रहरीलाई चाँडै खबर गरौं’
_x000D_
कुनै पनि घटना भएको स्थानमा २४ घण्टाभित्र प्रहरीका तालिमप्राप्त कुकुर पुग्न सके अपराधीलाई पहिचान र पक्राउ गर्न सकिने डग स्कूलका प्रमख एसएसपी देउती गुरूङको भनाइ छ। घटना भएको ठाउँमा कोही पनि व्यक्तिलाई प्रवेश गर्न नदिई सुरक्षित राख्न सकियो भने अपराधी पहिचान गर्न सकिन्छ।
_x000D_
_x000D_
घटनास्थलमा अन्य व्यक्ति प्रवेश गरिसकेको, घटनास्थल पानीमा भएको, ज्यादै घाम लागेको अवस्थामा घटनास्थलमा छोडिएको गन्ध उडेर जाने भएकाले अपराधी पत्ता लाग्न नसक्ने उनको भनाइ छ।
_x000D_
_x000D_
प्रहरीका कुकुरले घटनास्थलमा छाडिएको सबुत प्रमाणलाई सुँघेर अपराधी पत्ता लगाउँछन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘कुनै पनि घटना भएको ठाउँमा केही न केही सबुत छोडिन्छ नै’ एसएसपी गुरुङले भनिन्, ‘हातको औँठा छाप कसैसँग नमिलेजस्तै प्रत्येक मान्छेमा हुने गन्ध फरक हुन्छ। अपराध भएको ठाउँको सबुत प्रमाणमा भएको गन्ध सुँघेर कुकुरले अपराधमा को व्यक्ति संलग्न छ भन्ने कुरा पत्ता लगाउँछ। घटनास्थलमा कुनै सबुत प्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सँुघेर कुकुरले अपराधी पत्ता लगाउँछ।’
_x000D_
_x000D_
अपराध तथा लागू औषध पत्ता लगाउने प्रहरीका तालिमप्राप्त कुकुरको घ्राण शक्ति अन्य कुकुरको बढी हुने भएकाले सुँघेर पत्ता लगाउन सक्ने क्षमता बढी हुन्छ। नेपालमा पाइने स्थानीय भोट जातको कुकुरको सुघ्ने क्षमता (अल फ्याक्ट्री सेल्स) १ सय ५० मिलियन हुन्छ भने जर्मन सेफर्ड, ल्याब्रोडर लगायत प्रहरीसँग भएका तालिमप्राप्त कुकुरमा २ सय २५ देखि ३ सय मिलियनसम्म अल फ्याक्ट्री सेल्स हुन्छ। जसका कारण सुँघेर कुकुरले अपराधी पत्ता लगाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।