काठमाडौं- सरकारले होङ्सी शिवम् सिमेन्ट उद्योगसँग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पूरा गर्न सकेको छैन।
_x000D_
_x000D_
वैदेशिक लगानी भित्र्याउने ठूलो महत्वाकांक्षा सरकारले बोकेको भए पनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेन्ट उद्योगसँगको भौतिक संरचना निर्माण सम्बन्धी सम्झौता अझै पूरा नगरेको हो।
_x000D_
_x000D_
नेपालमा सञ्चालन भएका सिमेन्ट उद्योगमध्ये यो उद्योग सबैभन्दा ठूलो लगानीको र स्वचालित रुपमा सिमेन्ट उत्पादन गर्ने उद्योग हो। यहाँ सिमेन्ट उत्पादनका सम्पूर्ण प्रक्रिया पूर्ण प्रविधि (फुल अटोमेटिक) प्रणालीबाट गरिन्छ। वैदेशिक लगानी स्वीकृत गर्दाको समयमा सरकारले यो उद्योगसँगको विद्युत प्रसारण लाइन २४ महिनाभित्र बनाइदिने र मुख्य राजमार्गदेखि उद्योग र उद्योगदेखि खानीसम्मको बाटो पीच गर्ने सहमति गरेको थियो। तर यी दुवै काम अहिलेसम्म हुन सकेका छैनन्। विद्युत् प्रसारण लाइन नबन्दा उत्पादन लागत बढेको कम्पनीका सहायक प्रबन्ध निर्देशक गौरव गोयलले बताए।
_x000D_
_x000D_
सरकारले मुख्य राजमार्गदेखि कम्पनी सम्मको १२ किलोमिटर र खानीसम्म पुग्ने २८ किलोमिटर सडक पीच गरिदिने सहमति गरेको थियो। पूर्वपश्चिम राजमार्गको नवलपरासीको दुम्कीबासदेखि उद्योगसम्म १२ किलोमिटर र उद्योग देखि २८ किलोमिटरको दुरीमा पाल्पाको भुकेटमा चुनखानी रहेको छ। खानी भएको स्थानको मगर बस्तीलाई उद्योगले सर्दीबगैचा नजिक वेनी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा सारेको छ।
_x000D_
_x000D_
उद्योगले त्यहाँस्थित २६ परिवारलाई सो स्थानमा घर घडेरीसहित समान क्षेत्रफलको जग्गा उपलब्ध गराएको हो। उद्योगले सबै परिवारलाई प्रतिपरिवार ४ कोठे पक्की ढलान घर पनि उपलब्ध गराएको छ।
_x000D_
_x000D_
३६ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगले धुँवाधुलो कम गर्दै हरियाली वातावरण निर्माणका लागि मात्रै ठूलो बजेट खर्च गरेको छ। ७६ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्योगले प्रविधिबाट नै प्रदूषण कम गरिरहेको छ। कम्पनीका अनुसार वातावरण बिग्रन नदिन ग्रिन बजेट शीर्षकमा ३ अर्ब रुपैयाँ प्रविधिका लागि मात्रै खर्च गरिएको छ।
_x000D_
_x000D_
उद्योगले सिमेन्ट उत्पादन हुँदा उत्पन्न हुने धुलोबाट बिजुली उत्पादन गरेको छ।
_x000D_
_x000D_
उद्योगमा चिनियाँ कम्पनी होङ्सी होल्डिङले ७० र नेपालको शिवम् सिमेन्टले ३० प्रतिशत लगानी रहेको छ। उद्योगले हाल दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।