मुगु– कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल। रारा तालको सौन्दर्य बेहिसाबको छ। ताल वरपर चारैतिर हरियाली छ। रारा राष्ट्रिय निकुञ्जबीचको घना जंगलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ।
_x000D_
_x000D_
समुद्री सतहबाट २ हजार ९ सय ९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाइ करिब ५ दशमलव १ किमी तथा चौडाइ करिब २ दशमलव ७ किमी रहेको छ। रारा क्षेत्र प्राकृतिक रुपमा आफैंमा सौन्दर्यको खानी भए पनि यहाँ पूर्वाधारको निकै कमी छ। रारा पुग्ने आन्तिरक तथा बाह्य पर्यटकले पूर्वाधारको कमी रहेको गुनासो गर्ने गरेका छन्।
_x000D_
_x000D_
ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत्, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ। घुम्न आउने याममा पर्यटकले बास बस्नसमेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपरेको बुटवलबाट रारा घुम्न आउनुभएका दीपेश श्रेष्ठ बताउँछन्।
_x000D_
_x000D_
कर्णाली प्रदेश सरकारले २०७५ साललाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेको छ। यहाँ त्यस अनुसारको पूर्वाधार निर्माण भने गर्न सकिएको छैन। कर्णाली प्रदेश सरकारले एक वर्षभित्र रारा र आसपासको क्षेत्रमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। पर्याप्त पूर्वाधार तयार नगरी कर्णाली रारा पर्यटन वर्ष घोषणा गरिएको यहाँ पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुनासो गरेका छन्।
_x000D_
_x000D_
रारा तालको परिधिभित्र डाँफे र भिलेज गरी दुई होटल सञ्चालनमा छन्। २ होटलमा जम्मा २८ कोठा रहेको छ। दिनहुँ आउने हजाराैं पर्यटकलाई भने बस्न असहज हुने गरेको छ।
_x000D_
_x000D_
सिन्धुपाल्चोकबाट रारा घुम्न आएका पर्यटक राजु बुढामगर राराको वर्णन गरेरै नथाक्ने बताउँछन्। 'पूर्वाधार अभावले राराको सौन्दर्य ओझेलमा परेको छ,' उनले भने।
_x000D_
_x000D_
रारा राष्ट्रिय निकुञ्जभित्र तथा तालको वरपर होटल सञ्चालन गर्न नपाउनुपर्ने भए पनि राष्ट्रिय निकुञ्जको क्यान्टिनको रूपमा रहेको डाँफे र भिलेज होटल एकलौटी रूपमा सञ्चालनमा छ।
_x000D_
_x000D_
उद्योग वाणिज्य संघ मुगुका सदस्य गङ्गाबहादुर शाही भन्छन्, 'पर्यटकलाई मध्यनजगर राख्दै खान बस्नको सुविधाको लागि होटल सञ्चालनको पहल गर्दा सञ्चालन गर्न दिँदैनन्।' केहीले एकलौटी रुपमा व्यवसाय गर्ने गरे पनि अन्यलाई होटल व्यवसाय गर्न नदिएको उनको आरोप छ।
_x000D_
_x000D_
रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले अन्य होटल सञ्चालनका लागि स्वीकृति दिइएको छैन। यहाँ दुई होटल निर्वाध रूपमा सञ्चालन भइरहेको शाही बताउँछन्। यस विषयमा रारा राष्ट्रिय निकुञ्ज मौन रहँदै आएको छ।
_x000D_
_x000D_
राराताल घुम्न आउने पर्यटकलाई टेलिफोन र इन्टरनेटको असुविधा छ। नेपाल टेलिकम र एनसेलले काम नगर्ने झापाबाट आएका पर्यटक प्रवीण काफ्ले बताउँछन्।
_x000D_
_x000D_
काफ्ले यहाँको पर्यटनलाई व्यवस्थित बनाउन पहिला खाने, बस्ने, नेटवर्क तथा इन्टरनेटजस्ता अतिआवश्यक कुराको सुविधा दिनुपर्ने बताउँछन्।
_x000D_
_x000D_
कठिन अनि लामो बाटोको प्रवाह नगरी सडक मार्ग भएर रारा घुम्न निस्कने पर्यटकले रारालाई पूर्ण बनाउन यहाँको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
_x000D_
_x000D_
रारालाई नेपालको स्वर्ग मानिए पनि कठिन यात्राबाट पुग्ने पर्यटक यहाँ पूर्वाधारको कमीले यात्रा खल्लो हुने गरेको गुनासो गर्दै आएका छन्।
_x000D_
_x000D_
वैशाखमा ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा पुगेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ भित्रै कर्णालीमा आवश्यक पूर्वाधार बनिसक्ने बताएका थिए।
_x000D_
_x000D_
७ महिना बित्नैलाग्दा समेत पर्यटकले अतिआवश्यक सुविधा पाउन सकेका छैनन्। रारा घुम्न आउने पर्यटक कोही टेन्टमा त कोही नजिकका गाउँमा बास माग्न बाध्य छन्।
_x000D_
_x000D_
टेन्टमा बस्ने पर्यटक चिसोले रातभर कठ्याङ्ग्रीन बाध्य छन्। कतिपयले त बस्नको लागि टेन्ट पनि पाउँदैनन् । रारामा बास नपाउने तथा भोकभोकै बस्नु पर्ने बाध्यता छ।
_x000D_
_x000D_
नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल पर्यटन विकास, पर्यटनसँगै भित्रिने प्रदूषण, व्यापारीकरण रोक्नुपर्ने बताउँछन्।
_x000D_
_x000D_
यसका साथसाथै निकुञ्जभित्र पहिलेको तुलनामा वन्यजन्तु लोप हुँदै गएको, तालमा माछाको संख्या घट्टै भएको र वन्यजन्तुको चरनक्षेत्र मासिदै गएकाले निकुञ्जको अस्तित्व मेटिन सक्ने मल्ल बताउँछन्। यसतर्फ निकुञ्ज र सरकारले ध्यान जानुपर्ने उनको भनाइ छ।
_x000D_
_x000D_
छायाँनाथ रारा नगरपालिकाले गत वर्षको नगरसभाबाट ताल क्षेत्रभित्र सञ्चालित होटल बाहिर ल्याउने निर्णय गरेको भएता पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन।
_x000D_
_x000D_
ताल क्षेत्रभित्रको होटलले राराको सफा तथा कञ्चन सुन्दरतामा ह्रास पुग्ने भएकाले तालभन्दा बाहिर होटल बनाउनुपर्ने तथा ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने नगरबासीको माग छ।
_x000D_
_x000D_
अहिलेको बदलिँदो समयसँगै पर्यटकको रूचिलाई ध्यानमा राखी परम्परागत सुविधा, वन्यजन्तु सिकार तथा प्राकृतिक स्थानमा बसेर इन्टरनेटमार्फत स्वतन्त्र रूपमा सेवा दिन सके राराको सौन्र्दयमा सुनमा सुगन्ध पुग्ने देखिन्छ।
_x000D_
_x000D_
कालीकोट, जुम्ला, मुगु हुँदै रारासम्म जाने पर्यटकलाई सुविधाको हिसाबमा होमस्टे सञ्चालन गर्ने हो भने यहाँको व्यवसाय फस्टाउने तथा पर्यटकलाई समेत सुविधा पुग्नेछ।
_x000D_
_x000D_
विसं २०६९ पुसमा नाग्मा (कालीकोट र जुम्लाको सिमाना) हुँदै मुगु सदरमुकाम गमगढीसम्मको बाटो सञ्चालन भएसँगै रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ।
_x000D_
_x000D_
काठमाडौं, बुटवल, नेपालगञ्ज तथा देशका विभिन्न स्थानबाट रारा घुम्न जिप, बस तथा मोटरसाइकल लिएर आउने प्रशस्त छन्।
_x000D_
_x000D_
यस क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रहेको रारा पुग्न काठमाडौंबाट जिप, बस तथा मोटरसाइकलमा तीन दिन लाग्छ।
_x000D_
_x000D_
रारा पुग्न हवाईमार्गको पनि सुविधा छ। नेपालगञ्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करिब दुई घण्टा हिँडेर रारा पुग्न सकिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।