काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
हाल देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ।
राति कोशी प्रदेशका सबै भू–भाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। तराई क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
राति हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
तराई भू–भागका एक–दुई स्थानमा पनि राति मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।