काठमाडौं– लामो समय युरोपमा रहेर नेपाली कांग्रेसको संगठन निर्माणमा जुटेका युवा नेता शालिक गौतमले पार्टीको १५औँ महाधिवेशनमा युरोप क्लस्टरअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
‘मेरो अनुभव र सीपलाई कांग्रेसको नीति निर्माणमा समावेश गर्ने गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु,’ गौतमले नेपाल लाइभसँग कुरा गर्दै सोमबार भने।
पार्टीको १३औँ महाधिवेशनका केन्द्रीय प्रतिनिधि र १४औँ महाधिवेशनमा महासमिति सदस्य रहेका गौतम जारी १५औँ महाधिवेशनमा पनि महासमिति सदस्य छन्।
नेपाली जनसम्पर्क समिति बेल्जियमको सहमहामन्त्री र जनसम्पर्क समिति नेदरल्यान्ड्सको महामन्त्री हुँदै सभापति बनेर काम गरेको अनुभव उनीसँग छ।
गौतमले युरोपमा रहँदा ट्राफिक, पानी व्यवस्थापनलगायतका क्षेत्रमा सिकेका ज्ञान र अनुभवलाई पार्टीको नीतिमा समेटेर प्रतिपक्षी दलले उठाउने बलियो एजेन्डा निर्माण तथा कांग्रेसको सरकार निर्माण भएपछि त्यसलाई कार्यान्वयन गर्ने गरी आफू पार्टीमा सक्रिय हुन लागेको जानकारी दिए।
गैरआवासीय नेपाली र नयाँ पुस्ता तथा नेपालीपन जोडेर काम गर्न, गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरताको मुद्दा सरकारसम्म पुर्याउन, लोकतन्त्रको संस्थागत विकास तथा युरोपका राम्रा पक्षको अनुसरण गर्न र नेपाललाई माया गर्ने युरोपेलीहरूबाट पर्यटन प्रवर्द्धनमा योगदान दिने चाहना राखेर पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।