काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन्।
बिहीबार मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताए।
सरकारको राजस्व संकलन गर्ने जिम्मा पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका काबिल कर्मचारीहरू अकल्पनीय विपत्तिले गुमाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे।
उनले भने, ‘पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ। तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ। हामीले पनि हाम्रा काबिल भन्सार प्रशासनका परिवारका सदस्यहरू गुमाउनुपर्दा दुःखी छौँ। तपाईंहरूलाई परेको पीडालाई म व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न। हामी तपाईंहरूको साथमा छौँ।’
अर्थमन्त्री डा.वाग्लेले परिवारका सदस्यहरूलाई आफ्ना समस्या खुलस्त रूपमा मन्त्रालय र विभागमा राख्न आग्रह पनि गरे। परिवारका सदस्यहरूको आवश्यकतालाई कानुनी आधार टेकेर प्राथमिकताका साथ मन्त्रालय र विभागले कार्यान्वयन गर्ने पनि बताए। भेटका क्रममा परिवारका सदस्यहरूले तयार गरेको प्राथमिक तहको मागपत्र बुझ्दै उनले यसलाई कार्यान्वयन गर्दै लगिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।