काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टीका दल नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित संघीय संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको थियो। बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीले निर्वाह गरेको भूमिका तथा कानून निर्माणमा संसदीय समितिहरूले खेल्दै आएको भूमिकाका विषयमा समीक्षा गरिएको थियो।
त्यसैगरी, आगामी दिनमा संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो। समसामयिक राजनीतिक परिस्थिति तथा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइएका र आगामी दिनमा उठाउनुपर्ने विषयलाई थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा गहन छलफल गरिएको थियो।
साथै, संसद्को अधिवेशन अन्त्य भएपछि सांसदहरू निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट तथा जनसम्पर्कमा सहभागी हुने निर्णयसमेत बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।