काठमाडौं– नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिएका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारका क्रियाकलाप अलोकतान्त्रिक र संविधानको मर्मविपरित रहेको दाबी गरेका हुन् ।
उनले सरकारको सञ्चालनमा राष्ट्रपति संस्थाको गरिमालाई नजरअन्दाज गरिएको आरोपसमेत लगाए । पोखरेलले सरकारको तुलना महाभारतकालीन पात्र जरासन्धसँग गर्दै यसको जन्म र चरित्रमाथि प्रश्न उठाए ।
सांसद पोखरेलले सरकारको संरचना र सञ्चालन पद्धतिमाथि कटाक्ष गर्दै भने, ‘बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुँदा पनि यो सरकार संवैधानिक जस्तो देखिँदैन । आफ्नै दलको बैठकमा सहभागी नहुने निर्दलीय शैली, सर्वदलीय बैठकबाट भाग्ने एकदलीय चरित्र र भूमिगत गिरोहको प्रभावमा चल्ने पञ्चायती व्यवस्थाको झल्को दिने यो सरकारको स्वरूप कस्तो हो । महाभारत कालमा जरा नामकी राक्षसीले दुई आधा शरीर जोडेर जरासन्ध जन्माए झैँ, यो सरकारको बनोट र शैली पनि त्यस्तै छ ।’
उनले प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सदनमा निरन्तर प्रश्न उठाउँदै सरकारको नीति, नियम र संवैधानिक मर्यादाप्रति जबाफदेहिता माग गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।