काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै नयाँ जिम्मेवारी तोकेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई राजपत्रांकित विशिष्ट श्रेणी अर्थात् सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रशासन सेवातर्फ सचिवमा बढुवा भएकी कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। उनी यसअघि महिला मन्त्रालयमा कार्यरत थिइन्।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ सचिवमा बढुवा भएका डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। उनी यसअघि पनि ऊर्जा मन्त्रालयमै कार्यरत थिए।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार दुवै जनालाई सम्बन्धित सेवा समूहको बढुवा सिफारिसका आधारमा सचिवमा नियुक्त गरिएको हो।
यसअघि सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्य तथा प्राविधिकतर्फ डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम सिफारिस गरेको थियो।
सिफारिस भएकामध्ये वरिष्ठताको आधारमा कर्ण र कर्माचार्य सचिवमा बढुवा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।