काठमाडौं– सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई धम्की आएपछि सुरक्षा जोखिमलाई ध्यानमा राखेर सुरक्षित स्थानमा सारिएको स्पष्ट पारेको छ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई आएको धम्की जेनजी समूहबाट नभई अपरिचित समूहबाट आएको बताए।
उनका अनुसार जबरालाई फोनमा टेक्स्टमार्फत धम्की आएको थियो। त्यसपछि सरकारले उनलाई सुरक्षित स्थानमा लगेको थियो।
‘सरकारबाट वा प्रहरीबाट जेनजीबाट सुरक्षा थ्रेट भएको भनिएको छैन। त्यो मिडियामा आएको कुरा हो,’ पोखरेलले भने, ‘जेनजी समूहबाट त्यो थ्रेट आएको होइन, अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत धम्की आएपछि उहाँलाई सुरक्षित स्थानमा लगिएको हो।’
पोखरेलका अनुसार जबरालाई सुरक्षित स्थानमा सारिसकेपछि पनि थप सुरक्षा जोखिम रहेको जानकारी परिवारबाट आएको थियो।
‘सुरुमा नै थ्रेटहरू आइसकेको थियो। थ्रेट आएपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझै सुरक्षा थ्रेट भएको कुरा परिवारबाट आएको हो,’ उनले भने।
सरकारले जबराको सुरक्षा व्यवस्थाबारे सार्वजनिक रूपमा जेनजी समूहलाई जोडेर विवरण नदिएको पनि प्रवक्ता पोखरेलले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।