काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।
दुई मन्त्रीहरूले नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए । भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे ।
भेटमा दुवै मन्त्रीले नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गरेका थिए ।
उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।