इटहरी– प्रदेश नं १ को नमुना गाउँपालिका हो झापाको कमल गाउँपालिका। किनकि प्रदेश १ भरि एक मात्र महिला प्रमुख रहेको गाउँपालिका हो यो। गाउँपालिका जस्तै छन्, यहाँका जनप्रतिनिधि पनि। मेनुका काफ्ले अध्यक्ष रहेको गाउँपालिकामा अन्तर्जातीय प्रेम विवाह गरेकै कारण जनप्रतिनिधि भएकी तारादेवी बोगटी पनि सक्रिय छिन् यहीँ। भट्टराई बाहुनकी छोरी तारादेवीले बोगटी (सार्की) थरका अजितकुमारसँग ३४ वर्ष अगाडि अन्तर्जातीय विवाह गरेकी हुन्।
_x000D_
_x000D_
उच्च मध्यम वर्गीय परिवारमा हुर्किएकी तारादेवीको परिवारमा छोरीले पनि पढ्नुपर्छ भन्ने वातावरण बनिसकेको थियो। ३ कक्षा सम्म भारतको कालेबुङमा पढेकी उनी नेपाल फर्किएर एकै पटक ५ कक्षामा भर्ना भएकी थिइन्। त्यसले पनि उनलाई पढाइमा केही समस्या परिरहेको थियो। त्यही बेला अजितकुमार पनि भारतको आसामबाट नेपाल फर्किएका थिए। उनी सोही गाउँमा ट्युसन पढाउने काम गर्थे। करिब ६ महिना लामो ट्युसन कक्षापछि अजितकुमारले तारादेवीलाई एक पत्र थमाए। जसमा 'तिमीलाई म मन पराउँछु। तिमीले मलाई साथ दिनुपर्छ' भन्ने व्यहोरा उल्लेख गरिएको थियो। यो सुनाउँदा अहिले पनि तारादेवी अनुहारमा लाजको रेखा झल्किन्छ।
_x000D_
_x000D_
१६ वर्षको किशोर अवस्थामा उनी आफ्नै शिक्षकको प्रेममा परेकी थिइन्।
_x000D_
_x000D_
विस्तारै उनलाई पनि आकर्षण बढ्न थाल्यो। नभन्दै केही दिनमै उनले पनि ‘म तपाईंलाई साथ दिन्छु, तर गाउँमा हल्ला नगर्नुहोला’ भन्ने आशयको पत्र पठाइन्। त्यसपछि उनीहरूबीच पत्रमार्फत प्रेमका बात हुन थाले।
_x000D_
_x000D_
यो समाजले हामीलाई स्वीकार गर्न सक्दैन भन्ने उनीहरू दुवैलाई लागेको थियो। दलितको छोराले बाहुनकी छोरी विवाह गर्नु कल्पनाबाहिरको कुरा थियो।
_x000D_
_x000D_
पञ्चायती शासन व्यवस्था त्यसमाथि पनि जातीयताको चरम विभेदले उनीहरूको प्रेम सम्बन्धलाई जति बेला पनि सिध्याइदिन सक्थ्यो। एक अर्काप्रतिको विश्वास र अथाह प्रेमको अगाडि समाजको नियम र पञ्चायती शासन फिक्का भइदियो।
_x000D_
_x000D_
नभन्दै ५ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने उनीहरूले साहस गरे। २०४१ सालमा तारादेवी १९ वर्षकी थिइन्। २० वर्षमा विवाह गर्न हुँदैन भन्ने विश्वासको कारण अगाडि नै भागेको उनी सुनाउँछिन्। 'कसैले चाल नपाउने गरी झापाको सीतापुरस्थित छिमेकीको आफन्तकहाँ तीन महिना बस्यौं,' तारादेवी सम्झिन्छिन्।
_x000D_
_x000D_
जातीयताको चरम विभेद भएको बेला अन्तर्जातीय विवाह गर्नु चानचुने कुरा थिएन। ‘त्यो बेला कसैले पोल लागाइदिएको भए वा प्रहरीले चाल पाएको भए हामीलाई जेल हाल्न सक्ने सम्मको अवस्था थियो,’ उनी भन्छिन्, ‘समाजमा सबैले हेयको दृष्टिले हेर्ने गर्थे। बाहुनकी छोरी भएर सार्कीसँग विवाह गरेकी भन्नेदेखि भट्टराई बाहुनको नाक काटी भन्नेसम्म थिए।’
_x000D_
_x000D_
त्यसबेलादेखि अहिलेसम्म आफ्नो समान धारणा रहेको उनी बताउँछिन्। ‘मान्छे एउटै हो, तर यो समाजले बीचमा विभाजन ल्याउने काम गरिरहेको छ। कसैमाथि विभेद गर्नु पाप हो,’ उनी भन्छिन्, ‘दलित भनेको समाजबाट हेपिएको र दमित भएको वर्ग हो बरु यस वर्गको उत्थान गर्नुपर्नेमा झन् विभेद बढिरहेकोमा चिन्ता लाग्छ।’
_x000D_
_x000D_
उनको परिवार अहिले सुखी छ खुसी देखिन्छ। सुरुदेखि नै परिवारमा कुनै समस्या नआएको उनले बताइन्।
_x000D_
_x000D_
समाजले बहिष्कार गर्नेदेखि जन्मदिने बाबुआमाको माया नपाउने अवस्थासम्म पुग्दासमेत उनलाई हीनताबोध भने भएन। बरु यो समाजको नियमै गलत भएकाले यस्तो भएको उनको बुझाइ छ। उनी अझैसम्म पनि पछुतो मान्दिनन्। ‘विवाह गर्नुभन्दा अगाडि सबै मानिस उस्तै हुन् भन्ने लाग्थ्यो। मैले अन्तर्जातीय विवाह नगरेको भए जनप्रतिनिधि हुन पाउने थिइनँ,’ उनी भन्छिन्, ‘आफ्ना बुबाआमाको किरिया गर्न नपाउनु जस्तो ठूलो सजाय केही होइन तर बिनाअपराध लगाइने त्यस्ता सजायको विरुद्धमा नलागी हुँदैन।’
_x000D_
_x000D_
सानो उमेरदेखि नै क्रान्तिकारी देखिने उनी ५ कक्षामा पढ्दादेखि नै राजनीति बुझ्न थालिसकेकी थिइन्। तत्कालीन नेकपा एमालेका नेताहरूले सामाजिक विभेदको अन्त्य गरी वर्गीय समानता कायम गर्ने भाषण सुनेर त्यसैबाट प्रभावित भएको उनी सुनाउँछिन्। विवाहपछि विभिन्न समस्याले गर्दा राजनीतिक निरन्तरतामा अवरोध आएको उनको भनाइ छ। तथापि उनी ‘नेपाल उत्पीडित जातीय मुक्ति समाज’को मेची अञ्चल कमिटीको सदस्य समेत भइन्।
_x000D_
_x000D_
अहिले उनी लड्ने स्थानमै पुगेकी छिन्।
_x000D_
_x000D_
कमल गाउँपालिकामा दलित महिला कोटाका गाउँकार्यपालिका सदस्य भएकी छिन् तारादेवी। उनी आफै न्यायिक समितिकी सदस्य पनि हुन्। पहिला उनले भोगे जस्तै समस्या लिएर महिलाहरू उजुरी गर्न आउने गरेको उनी सुनाउँछिन्। पहिला प्रेम विवाह गर्ने र पछि परिवारले मानेन भन्दै डिभोर्स गर्न खोज्ने मुद्दाहरू बढ्दै गएको उनी बताउँछिन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
विवाहको ११ वर्षपछि मात्र उनी माइत गइन्। अहिले पनि बुबाआमा राम्ररी बोल्न नखोज्ने र अरू बहिनीलाई भन्दा कम वास्ता गर्ने गरेको उनको भनाइ छ। तर उनका श्रीमान् अझैसम्म ससुराली गएका छैनन्। घरभित्र छिर्दा आनाकानी गर्ने र खाना दिनेदेखि बोल्ने कुराहरूमा समेत धेरै भिन्नता पाएको उनी सुनाउँछिन्।
_x000D_
_x000D_
अन्तर्जातीयताको कहानी उनको जोडीमा मात्र होइन। उनको छोरा बुहारीमा पनि लागू भयो। छोरा अशोक बोगटीले सम्झना चौधरीसँग विवाह गरेका छन्। अशोक विद्युत् प्राधिकरण बिर्तामोडमा सुब्बा छन् भने सम्झना खाद्यसंथान बिर्तामोडमा सुब्बा पदमै छिन्।
_x000D_
_x000D_
एक ब्राह्मण परिवारमा हुर्किएकी तारादेवीको अन्तर्जातीय प्रेम विवाह सामाजिक विभेद विरुद्धको गतिलो झापड भएको छ। जसको कारण उनी जनप्रतिनिधि हुने अवसर पाउन सफल भएकी छिन्। त्यति मात्र होइन उनी जस्तै अन्तर्जातीय विवाह गरेर अन्यायमा परेकाहरूको उद्धार गर्ने निकायमा उनको सहभागिता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।