काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ गतेको घटनामा राज्यबाट भएको बल प्रयोग र दमनको जिम्मेवारी लिन सरकारसँग माग गरेका छन्। उनले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गरिरहेका युवामाथि भएको दमन र त्यस क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा धारणा सार्वजनिक गर्दै थापाले राज्यबाट भएको अत्यधिक बल प्रयोगप्रति गम्भीर प्रश्न उठाएका हुन्। उनले भदौ २३ गते सडकमा आएका युवाहरूको आवाज दबाउने नाममा भएको घटनाको जिम्मेवारीबाट सरकार उम्किन नमिल्ने स्पष्ट पारे।
‘भदौ २३ गते अबोध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए। तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो। त्यत्रा नौजवानहरू मारिए। किन मारिए? के कारणले गर्दा मारिए?’ थापाले प्रश्न गरे।
उनले घटनामा भएको क्षतिको जिम्मेवारी कसैले लिन नपर्ने हो कि भन्ने प्रश्नसमेत उठाउँदै सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए।
‘के यसको जिम्मेवारी कसैले लिनुपर्दैन? के सत्यतथ्य बाहिर आउनुपर्दैन? के सत्य स्थापित हुनुपर्दैन?’ उनले भने, ‘के केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छ?’
थापाले अहिले सरकारमा रहेका व्यक्तिहरूले समेत उक्त घटनाको जिम्मेवारी लिनुपर्ने बताए। उनले घटनाको वास्तविकता सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरे।
‘के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन? जिम्मेवारी हो,’ थापाले भने, ‘त्यसैले हाम्रो माग छ, सत्यतथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ, उसले दण्ड पाओस्।’
थापाले भदौ २३ को घटनालाई केवल तत्कालीन सरकारविरुद्धको आन्दोलनका रूपमा बुझ्न नहुने पनि बताए। उनका अनुसार सडकमा आएका युवाहरूले भ्रष्टाचारमुक्त राज्य, जवाफदेही शासन, सुशासन र समान अवसरको माग गरेका थिए।
उनले ती मागहरू जायज रहेको स्वीकार गर्दै आन्दोलनका क्रममा व्यक्त भएको आक्रोशलाई समयमै बुझ्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी भएको बताए।
‘ती मागहरू जायज थिए। ती जायज मागहरू पूरा नभएको कारणले गर्दा व्यक्त भएको आक्रोश पनि जायज थियो। आक्रोशलाई हामीले समयमा बुझेनौँ, त्यसको जिम्मेवार हामी हौँ,’ थापाले भने।
उनले भदौ २३ को घटनाबाट उठेका माग पूरा गर्ने जिम्मेवारी कुनै एक दल वा व्यक्तिको मात्र नभई सबै राजनीतिक शक्तिको भएको बताए। भ्रष्टाचारमुक्त, जवाफदेही र सुशासनयुक्त राज्य निर्माणका लागि आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदान खेर जान नदिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
थापाले बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्ने दाबी गर्दै भने, ‘भ्रष्टाचारमुक्त राज्य, जवाफदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन शहादत दिएको छ, त्यो शहादतलाई हामी खेर जान दिन्नौँ, यो हाम्रो सङ्कल्प हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।