काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममा ‘म हिन्दू हुँ’ भनेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसप्रति कडा रोष पोखेका छन् ।
मंगलबार नेकपा बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्ति र कांग्रेसभित्रबाट आएका हिन्दू धर्मसँग सम्बन्धित प्रस्तावप्रति असन्तुष्टि जनाएका हुन्।
देउवाले आइतबार कांग्रेसको इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै आफू हिन्दू भएको बताएका थिए।
उक्त भेलाबाट संविधानको धर्मनिरपेक्ष व्यवस्थाको मर्मविपरीत हिन्दू धर्मको पक्षमा धारणा अघि सार्ने निर्णयसमेत भएको थियो।
देउवाको अभिव्यक्तिपछि प्रचण्डले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेताले नै संविधानको सीमाबाहिर जाने अभिव्यक्ति दिन नहुने बताएका छन्।
बैठकमा प्रचण्डले भनेका छन्, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’
देउवाको अभिव्यक्ति व्यक्तिगत धार्मिक आस्थासँग मात्र सम्बन्धित नभई कांग्रेसको इतर समूहको भेलाबाट हिन्दू धर्मसम्बन्धी निर्णयसमेत आएको अवस्थामा प्रचण्डले यसलाई संविधानसँग जोडेर प्रतिक्रिया दिएका हुन्।
यसअघि पनि प्रचण्ड स्वयंले संविधान निर्माणका क्रममा धर्मनिरपेक्षताको विषयमा फरक शब्द राख्ने सम्भावनाबारे छलफल भएको बताएका थिए।
तर पछिल्लो समय कांग्रेसभित्रै हिन्दू धर्मसँग जोडिएका धारणा सार्वजनिक हुन थालेपछि त्यसले राजनीतिक बहसलाई पुनः धर्मनिरपेक्षता र संविधानको व्यवस्थातर्फ धकेलेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।