काठमाडौं– बिहीबार बिहान भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा मृत भेटिएका हिरालाल पासवानको शव अझै उठ्न सकेको छैन ।
कोठाको फ्यानमा झुन्डिएर आत्महत्या गरेका पासवानको शव परिवारका सदस्यले उठाउन दिएका छैनन् ।
पासवानकी बुहारीका अनुसार मृत्युको खबर पाएपछि प्रहरी आएका थिए । तर मुचुल्का उठाएर शव लैजाने मात्र भनेपछि आफूहरुले उठाउन नदिइएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय पासवानमा आफ्नो जायजेथा गुमेकोबाहेक अन्य कुनै तनाव थिएन ।
थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका हिरालालका परिवार सरकारले त्यहाँबाट डोजरले भत्काएपछि कीर्तिपुरमा सरेका थिए । त्यहाँ पनि बाढी परेपछि सरकारले उनीहरुलाई बोडेमा सारेको थियो । भएको सर सामानहरु त्यहिँ गएपछि बोडेमा आफूहरु रित्तै आएको उनको भनाइ छ ।
हिरालालकी बुहारीले श्रीमान नसासम्बन्धी रोगका कारण तीन वर्षदेखि थलिएको र कमाउने एक मात्र ससुरा हिरालाल नै नभएको बताइन् । सरकारले अब आफूहरुको व्यवस्थापनको ठोस कुरा नगर्दासम्म शव उठाउन नदिने परिवारका सदस्यले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।