धनुषा– धनुषा जिल्ला अदालतको मूल गेटअगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
बुधबार दिउँसो मिटरब्याज पीडितहरूले अदालतअगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका बेला ती महिलाले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
महिलाले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। धनुषा प्रहरीले समयमै सतर्कता अपनाएका कारण उनले शरीरमा आगो लगाउनुअघि नै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
अदालतमा आज पक्राउ परेका साहुविरुद्ध थुनछेक बहस भैरहेको छ। गोपाल साह, रेखा साह र हरेराम साह पक्राउ परेपछि उनीहरूविरुद्ध अदालतमा थुनछेक बहस चलिरहेको हो।
अदालत पुग्नुअघि मिटरब्याज पीडितहरूले जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि समेत प्रदर्शन गरेका थिए। पीडितहरूले आफूहरूमाथि भएको अन्यायको न्यायिक समाधान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।