काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ माग गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकको शून्य समयमा बोल्दै संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सुकुमवासी बस्तीमा डोजर लगाउने, संवैधानिक परिषदमार्फत प्रधानन्यायाधीश सिफारिस लगायतमा सरकारी कार्यशैली लोकतन्त्रविपरित भएको भन्दै सरकारको जवाफ माग गरेका हुन् ।
‘सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको छ । डोजर आतङ्क देखाइएको छ । इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?’, दुलालको प्रश्न छ । उनले रुल अफ ल को नारा दिएर बनेको सरकारले रुल बाहिर गएर सत्ता चलाइरहेको भन्दै यो लोकतन्त्रको उन्नततर्फको पाइला हो वा निरंकुशतातर्फ गएको हो भन्दै प्रश्न गरे ।
उनले प्रधानन्यायाधीश सिफारिसतर्फ सङ्केत गर्दै संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य वा सहमतिको औचित्य लोकतन्त्रमा हुँदैन भन्दै संवैधानिक अदालतलाई चुनौती दिनेगरी निर्णय भएको भन्दै आफ्नो दलले जवाफ मागेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।