काठमाडौं– नेकपा एमालेले वालेन्द्र शाह नेतृत्वको सरकार तानाशाहतर्फ अघि बढेको भन्दै तत्काल अध्यादेश खारेज गर्न माग गरेको छ ।
जारी प्रतिनिधिसभा बैठकमा एमाले सचिवसमेत रहेकी सांसद पद्मा अर्यालले यस्तो प्रश्न गरेकी हुन् ।
उनको प्रश्न छ, ‘यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधा अनुसार बदलिएको नैतिकता ? जनताले रुपान्तरण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठा भनेर चिन्ने ?’
देश अहिले बहुमतको निरंकूशताको खतराको संघारमा रहेको उल्लेख गर्दै अर्यालले नयाँ सोच, नयाँ सरकार, नयाँ गति र नयाँ संकल्पको आकर्षक नाराले जनताको मत त जिते पनि व्यवहारमा त्यो नदेखिएको बताइन् ।
‘के नयाँ सोच भनेको संसदलाई पन्छाएर कार्यपालिकाको स्वेच्छाचारिता शासन लाद्ने हो ? आव्हान भइसकेको संसद स्थगित गरेर अध्यादेश ल्याउन सरकार आफ्ना निर्णयमाथि उठ्ने प्रश्नबाट भाग्न खोजेको कायरताको श्रृंखला हो’, उनको टिप्पणी छ ।
प्रधानन्यायाधीशको सिफारिसले स्थापित मान्यता खण्डित गरेको र शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको उनले आरोप लगाइन् । न्यायपालिकाको प्रमुख विधि नभई प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य सिर्जना गरिँदै गरेको उनको भनाइ थियो । यसले स्वतन्त्र न्यायपालिकाको घाँटी निमोठ्ने काम गरेको उनले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।