काठमाडौँ– नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ ।
कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो ।
महासंघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको महासंघको भनाइ छ ।
पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले उल्लेख गरेको छ ।
हाल नेपालमा ६ सय २० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गरेर राष्ट्रिय अर्थतन्त्र र राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यो क्षेत्र हाल लागत वृद्धिले गर्दा धाराशायी हुने अवस्थामा पुगेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो । उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि लागतको अनुपातमा मूल्य समायोजन गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।’
महासंघले सरकारसँग उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेको छ ।
महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा आम उपभोक्ता, वितरक र सरोकारवालाहरूलाई उद्योगको संरक्षण, रोजगारीको रक्षा र सेवाको निरन्तरताका लागि गरिएको यो ‘बाध्यात्मक’ मूल्य समायोजनमा सहयोग गरिदिन अनुरोध समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।