न्यूयोर्क – नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तर्राष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सो कार्यक्रममा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले आरोग्यताले गरिबी निवारण दिगो विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।
राजदूत थापाले आरोग्यताको अन्तरसम्बन्ध मानसिक स्वास्थ्य र सार्वजनिक स्वास्थ्यसँग समेत हुने भएकाले यसलाई विश्वव्यापी रूपमा लैजान बल पुर्याएको बताए। राष्ट्र संघीय सामाजिक तथा आर्थिक मामिलासम्बन्धी उपमहासचिव ली जुन हुवाले मानव जीवनमा आरोग्यताले सामाजिक आर्थिकलगायतका विषयमा प्रभाव पार्ने भएकाले यो महत्त्वपूर्ण भएको बताए।
कार्यक्रममा गुरु एलपी भानु शर्माले आरोग्यताले बहुआयामिक आयामिक पाटोहरूलाई सम्बोधन गर्ने भएकाले यसलाई निरन्तर रूपमा अपनाउन अपिल गरे। कार्यक्रममा हार्डवर्ड युनिभर्सिटीका प्रोफेसर टेलरले योग्यता र मानव जीवनको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञहरूले नेपालले संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरेको अन्तर्राष्ट्रिय आरोग्य दिवसको प्रशंसा गरेका थिए । यसरी प्रशंसा गर्नेहरूमा पोर्चुगल, डोमिनिकन रिपब्लिक, अर्मेनिया, भारत, भुटान, श्रीलंका, बंगलादेशलगायतका कूटनीतिज्ञहरू उपस्थित थियो ।
राष्ट्रसंघले नेपालको प्रस्तावमा हालै पारित गरेको प्रस्तावअनुसार हरेक वर्षको अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।