काठमाडौँ– परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ बारे प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रशिक्षण दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
दाहालका अनुसार राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिएका हुन् ।
त्यसक्रममा सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएका छन् ।
नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई विशेष जोड दिँदै राईले विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत प्रस्तुति दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।