काठमाडौँ– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातला प्लाष्टिकका झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाउन पुनः निर्देशन दिएको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यस्तो कदम चालिएको जनाएको छ ।
विभागका अनुसार, मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत ‘प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८’ अहिले कार्यान्वयनमा छ । यसैगरी, आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा समेत प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा रोक लगाउने उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘२०८२ मंसिर १ गतेदेखि लागू हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ । त्यसैले दैनिक कामकाजका क्रममा यस्ता झोला प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई पुनः अनुरोध गरिन्छ ।’
सरकारले वातावरण जोगाउने उद्देश्यले ल्याएको यो नियम उल्लङ्घन गर्नेलाई पनि कानुनी कारबाही गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।