काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ मा विजयी बनेका छन् ।
अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । झापामा १ लाख ६ हजार ३७२ मत खसेकोमा बालेन्द्र साहलाई ६८ हजार ३४८ र ओलीलाई १८ हजार ७३४ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ४९६१४ छ ।
ओलीको विरासत भत्काउने क्रममा उनले अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरे ।
ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहरको शिकार बनेर उनले झापा ७ बाट पराजय व्यहोर्नु परेको थियो ।
२०७९ सालको चुनावमा ओलीले देशभरमै सर्वाधिक मत पाएर जितेका थिए । यसपटक भने ठीक उल्टो भएको छ । प्रतिस्पर्धी रास्वपाका उम्मेदवार बालेनले देशभरमै सर्वाधिक मत ल्याएर ओलीलाई हराएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।