नवलपुर (नवलपरासी)- नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–स्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।
आइतबार साँझ क्रुजको विधिवतरुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।
क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजले यहाँको पर्यटन प्रवर्द्धनमा निकै टेवा दिने भन्दै नगरप्रमुख अधिकारीले क्रुजलाई देवघाट धामसम्म मात्रै नभई देवघाट धाम र त्रिवेणी धामसम्म जोड्नुपर्नेमा जोड दिए ।
क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा बाधा अड्चन भएको भन्दै उनले बाधा अड्चन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजको उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवम् होटेल रिभर क्राउनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले जल क्रियाकलापसँगै होटेल सञ्जाल गर्न राइनो क्रुज र होटलबीच सहकार्य भएको बताए । क्रुज सञ्चालनमा आएसँगै गैँडाकोट र नवलपुरको मात्रै नभई यस क्षेत्रका समग्र आर्थिक विकासलाई सञ्चालन र वृद्धि गर्न टेवा पुग्ने उनको भनाइ छ । क्रुजलाई स्थायीरुपमा सञ्चालन गर्दै यहाँको धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्नका लागि पनि आफूहरुले भूमिका खेल्ने डा.भट्टराईको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।