रुकुम– रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए । अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको उनले बताए ।
‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’
अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरेर जेसेबी पठाइएकाे बताए ।
’हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने तयारी गरेका छौं, ‘ प्रजिअ परियारले भने, ‘निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउन केही समय लाग्न सक्छ । तर, हामी यात्रुको सुरक्षित उद्धारमा जुटेका छौं ।’ अहिले रुकुमपूर्वका उच्च हिमाली भेगहरूमा जनजीवन प्रभावित भएको छ ।
फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताए ।
रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् । आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।