काठमाडौं- रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिए।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मङ्सिर ७ गतेदेखि सञ्चालित ४५ कार्य दिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार तीन जना र प्रहरी जवान ४४ जना गरी ४७ जना प्रशिक्षार्थीले तालिम लिएका बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।